मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रा.डा. ढुण्डीराज पौडेल
२०७७ भदौ १९ शुक्रबार ०८:३१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सरकारी अस्पतालमा पूर्णकालीन चिकित्सक

Read Time : > 2 मिनेट
प्रा.डा. ढुण्डीराज पौडेल
२०७७ भदौ १९ शुक्रबार ०८:३१:००

सरकारी एवं सार्वजनिक अस्पतालमा कार्यरत चिकित्सकहरूलाई एउटै संस्थामा पूर्णकालीन काम गराउन, अन्यत्र निजी व्यवसाय गर्न नपाउने गरी स्वास्थ्य मन्त्रालयबाट पेस गरिएको पारिश्रमिकको प्रस्तावउपर अर्थले स्वीकृत गरिदिएन । अर्थले चिकित्सक भनेका बौद्धिक एवं शारीरिक दुवैखाले परिश्रम गर्ने श्रमिक हुन् भन्ने तथ्यलाई आत्मसात् गरेन । यसमा कमजोरी प्रस्तावक स्वास्थ्य मन्त्रालयको रहन गयो । प्रस्ताव तयार पार्दा बिहान र बेलुका तोकिएको समयभित्र हाजिर गर्ने काम नगरी उपरखुट्टी लगाएर दिन कटाउने र मिहिनेतका साथ शल्यक्रियासहित अन्य आकस्मिक, क्लिनिकल एवं पाराक्लिनिकल आदिमा दत्तचित्त भई काम गर्ने चिकित्सक सबैले एउटै पारिश्रमिक पाउने प्रस्ताव गरेको थियो । जुन कुनै पनि दृष्टिले सही थिएन । 

नेपालमा हाजिरी कापी हेरिन्छ, सम्पादित काम हेरिन्न । कामको आधारमा न पारिश्रमिक दिइन्छ, न पुरस्कृत नै गरिन्छ । बिहान समयमा पुगेर हाजिर धस्काउने नै सबैभन्दा इमानदार र कर्तव्यनिष्ठ कहलिन्छन् । प्रशासनमा जति उच्च पदमा आसीन हुन पुगिन्छ, त्यति नै कम शारीरिक मिहिनेत गर्नुपर्ने हुन्छ । निजमा निर्णय र निर्देशन दिने क्षमता भए पुग्छ । तर, चिकित्सकीय पेसामा यो लागू हुन्न । त्यसैले चिकित्सकलाई अवधि, अनुभव, योग्यता, कामको वजन, प्रकृति र जोखिमअनुसार प्वाइन्टका आधारमा पारिश्रमिक दिइन्छ, दिनुपर्छ । यो यथार्थलाई आत्मसात् गरी पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आवश्यक गृहकार्य गर्दै थिए । तर, उनको कार्यकाल केही महिनामै सीमित रहन पुग्यो । 

अहिले तोकिएको संस्थामा मात्रै संलग्न रही अन्य पेसागत व्यवसायमा नलाग्ने चिकित्सकहरूलाई मात्र मासिक पारिश्रमिक बढाउँदा असमान हुने सवाल उठाइएको छ । अन्य स्वास्थ्यकर्मीको हकमा तोकिएको समयमा सिफ्टअनुसार आ–आफ्नो ड्युटी गर्ने स्वास्थ्यकर्मीलाई सोहीअनुसार पारिश्रमिक दिनुपर्ने हुन्छ।

तर, सबैभन्दा ठूलो विडम्बना के छ भने सेवा, अध्यापन, तालिम र अनुसन्धानजस्ता महŒवपूर्ण कार्यहरू सम्पादन गर्नुपर्ने प्राध्यापकसहितका शिक्षक चिकित्सकहरू पनि केही घन्टा मात्रै संस्थागत संलग्नतामा रही बिहान–बेलुका निजी व्यवसायमा संलग्न रहनुपर्ने बाध्यता छ । विशेषगरी, निजी क्षेत्रका मेडिकल कलेजका सञ्चालकहरूले यो अवस्थालाई हृदयंगम गर्नुपर्ने स्थिति छ । काठमाडौं उपत्यकाका मेडिकल कलेजहरूले प्राध्यापकहरूलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर केही घन्टा मात्रै सेवामा संलग्न राख्छन्, त्यसैले निजहरू निजी व्यवसायमा लाग्न बाध्य हुन्छन् ।

जनतामा प्रभावकारी चिकित्सा सेवा प्रवाह गर्न अन्यत्र निजी व्यवसायमा संलग्न नरही दत्तचित्त भई सरकारी एवं सार्वजनिक अस्पतालको स्वास्थ्य सेवामा पूर्णकालीन काममा समर्पित हुने चिकित्सकहरूको अपरिहार्यता छ  

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (शिक्षण अस्पताल)को अवस्था जगजाहेर नै छ । मोफसलका मेडिकल कलेजहरूको स्थिति भने केही फरक छ । हालैमा मोफसलका मेडिकल कलेज सञ्चालक काठमाडौं मेडिकल कलेजको अध्यक्ष बनेका छन् । उनले शिक्षक चिकित्सक व्यवस्थापनको सवालमा मोफसलको अनुभव र अभ्यासलाई यहाँसमेत लागू गर्न प्रयास गर्दा राम्रो हुन्छ । गुणस्तरीय एवं मर्यादित पेसाका लागि फ्याकल्टी चिकित्सकको संस्थागत संलग्नता र पारिश्रमिक सम्बन्धमा सोच्न आवश्यक छ । 

पूर्णकालीन भई मासिक पारिश्रमिक पाउने हुँदा शिक्षक चिकित्सकहरूले तिर्ने कर पनि पारदर्शी हुन्छ । दुई लाख पाउनेले ३६ प्रतिशत कर तिर्छन् । यसो हुँदा दुई लाख पारिश्रमिक पाउने चिकित्सकले कर कटाई सवा लाखजति पाउने हुन् । तर, आफूसम्बद्ध सार्वजनिक एवं सरकारी अस्पताल वा शिक्षण संस्थाबाट उचित स्तरको पारिश्रमिक नपाउँदा उनीहरू निजी व्यवसायमा लाग्न मात्रै बाध्य छैनन्, उच्च आम्दानी गर्न सक्षम चिकित्सकसमेत ठूलो करको भारबाट जोगिन न्यून पारिश्रमिक देखाउन बाध्य छन् । करको दरलाई व्यावहारिक बनाउन सक्दा कर प्रणालीलाई सबैले मान्ने र हुन सक्थ्यो । आम्दानी कम देखाएर कर कम तिर्ने प्रवृत्ति पनि देखिने थिएन । त्यसैले स्वास्थ्यमा मासिक पारिश्रमिकमा लगाइएको करको पुनर्मूल्यांकन या समीक्षा गर्न आवश्यक छ । 

समस्या निजी क्षेत्रमा पनि छन् । तर, तिनको सुधारका लागि पनि सार्वजनिक क्षेत्र उदाहरणीय बन्नुपर्छ । यसैले स्वास्थ्य मन्त्रालयको नेतृत्वले प्रधानमन्त्री र अर्थ मन्त्रालयसमक्ष विश्वासिलो आधारसहितको प्रस्ताव पेस गर्नुपर्छ । 

साथै, व्यावहारिक एवं वैज्ञानिक पद्धति अपनाउन सक्ने हो भने नेपालको चिकित्सा क्षेत्रले मुलुकको राजस्वलाई समेत भरथेग गर्न सक्छ । यो क्षेत्रमा प्रवाहित रकमलाई पारदर्शी र करलाई सहजीकरण गर्ने हो भने राजस्वमा अभिवृद्धि गर्न सकिन्छ । अतिरिक्त शुल्क लिएर सार्वजनिक अस्पतालहरूमा विस्तारित सेवाको माध्यमद्वारा पनि सेवामा अभिवृद्धि एवं आर्थिक अवस्थामा भरथेग पु¥याउन सकिन्छ । बिरामी परीक्षण एवं निदानमा आवश्यक प्रयोगशाला, अल्ट्रासाउन्ड, सिटीस्क्यान, एमआरआईजस्ता रेडियोलोजिकल, प्याथोलोजी सेवाहरूमा अभिवृद्धि ल्याई शल्यक्रिया सेवाहरू वृद्धि गरी आम्दानी बढाउन सकिन्छ । चिकित्सा सेवाको प्रवाहमा तीनवटा अवयवको समुचित व्यवस्थापन हुन आवश्यक छ । ती अवयव हुन् ः उच्च मनोबलयुक्त उत्प्रेरित दक्ष जनशक्ति, उपकरण एवं भवनसहितका आवश्यक भौतिक पूर्वाधार र अर्थ (आर्थिक स्रोत) ।

वर्तमान सरकारले आफूलाई कम्युनिस्ट दाबी गर्न पनि चिकित्सा सेवामा आमूल परिवर्तन ल्याउनुको विकल्प छैन । जनतामा प्रभावकारी चिकित्सा सेवा प्रवाह गर्न अन्यत्र निजी व्यवसायमा संलग्न नरही दत्तचित्त भई सरकारी एवं सार्वजनिक अस्पतालका स्वास्थ्य सेवामा पूर्णकालीन काममा समर्पित हुने चिकित्सकहरूको अपरिहार्यता छ । 

(पौडेल नेपाल मेडिकल काउन्सिलका सदस्य हुन्)