१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १८ बिहीबार ०९:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थलको ९२ प्रतिशत र पोखराको ६३ प्रतिशत निर्माण सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १८ बिहीबार ०९:४८:००

कोभिड–१९ को असरबीच दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले उल्लेख्य प्रगति हासिल गरेका छन् । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९२ प्रतिशत सम्पन्न भएको छ । कोभिड–१९ को असर देखिनुपहिला ८५ प्रतिशत काम सम्पन्न भएको थियो ।

त्यस्तै, कोभिडअगाडि ५० प्रतिशत मात्रै काम सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण ६३ प्रतिशत सकिएको छ । कोरोनाका कारण चीनमा अड्किएका सामानहरू छुटेका कारण अब कामले अझै तीव्रता पाउने आयोजनाले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३ सय मिटर धावनमार्गको काम पनि लकडाउनमै सुरु भएर सम्पन्न भइसकेको छ । 

भैरहवा विमानस्थल निर्माणको काम गत वर्ष नै सम्पन्न गर्ने सरकारको लक्ष्य थियो । तर, कोभिड–१९ का कारण ढिलाइ भएर आगामी फागुनसम्ममा सञ्चालन गर्ने लक्ष्य सरकारले लिएको छ । कोरोनाकै कारण समयमा निर्माण गर्न नसकेपछि विमानस्थलको पुनः ठेक्का अवधि डिसेम्बरसम्मका लागि थप गरिएको छ । पुसको दोस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कोरोनाका कारण चीनबाट धावनमार्गको बत्ती, ब्यागेज ह्यान्डलिङ सिस्टम आउन नसकेको आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए । ‘अहिले चीनबाट सामान कोलकाता बन्दरगाहमा आइसकेको छ, ३५ जना प्राविधिक ल्याउने स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएका छाैं,’ अधिकारीले भने । सामान आएको डेढ महिनाभित्र काम सम्पन्न हुने अधिकारीले बताए ।

चिनियाँ कम्पनी नर्थवेस्ट एभिएसन एयरपोर्टले सन् २०१४ मा निर्माणको ठेक्का पाएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा २०१८ मा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे थियो । विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइको रहेको छ ।

धावनमार्गको कालोपत्रेको काम सम्पन्न भइसकेको छ । ६ अर्ब ८२ करोडको ठेक्का सम्झौता भएको विमानस्थल निर्माणबापत ठेकेदार कम्पनीले हालसम्म ४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी लगेको छ ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुनसम्म सम्पन्न गर्ने सरकारी लक्ष्य छ । अहिले पनि पोखरामा ३ सय ४४ कामदारले काम गरिरहेका छन् । धावनमार्गको काम सम्पन्न भइसकेको तथा १४ वटा भवन निर्माण सम्पन्न गरेर फिनिसिङ काम सुरु भएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।

‘अहिले बाहिरी पेरिफेरी रोडको काम, एसी जोड्ने तथा भवनको फिनिसिङको काम भइरहेको छ,’ उनले भने । सरकारले विमानस्थल निर्माणमा २१ करोड ७० लाख डलर (२१ अर्ब ४७ करोड रुपैयाँ) खर्च गर्दै छ ।

चिनियाँ एक्जिम बैंकको ऋणमा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनीसँग २५ सय मिटर लम्बाइ र ५० मिटर चौडाइको धावनमार्ग तथा टर्मिनल भवन निर्माण गर्ने गरी सम्झौता भएको छ । ठेकेदार कम्पनीलाई अहिलेसम्म आयोजनाले ११ अर्ब ७० करोड रुपैयाँ भुक्तानी दिइसकेको छ ।