१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी काठमाडौं
२०७७ भदौ १७ बुधबार १७:३८:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

युएस ओपनमा सेरेनाको फरक अनुभव 

Read Time : > 3 मिनेट
एजेन्सी काठमाडौं
२०७७ भदौ १७ बुधबार १७:३८:००

अर्थुर रंगशालामा सेरेना विलियम्सको सानदार जितमा खुसी मनाउने र ताली बजाउने कोही थिएन । वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको पहिलो चरणमा सेरेनाले ९६औँ वरीयताकी क्रिस्टिए अहनलाई ७–५ र ६–४ ले पाखा लगाइन् । 

युएस ओपनमा एउटा कीर्तिमानी जित आत्मसात् गरेकी सेरेनाले आफूलाई बधाई दिँदै मिडिया बक्सतिर लागिन् । अबको दुई साता न्युयोर्कको गर्मी र कडा प्रतिस्पर्धीकाे सामना गर्न उनी तयार छिन् । लगातार दुई दशक पहिलो चरण पार गरेको कीर्तिमान बनाएकी सेरेनाको यो १०२औँ युएस ओपनमा जित थियो । 

दर्शकरहित कोर्टमा प्रतिस्पर्धा गर्दा आत्मविश्वास नहुने र सुनसान लागेको उनले बताइन् । भन्छिन्, ‘मेरो विचारमा गाह्रो पक्ष नै दर्शकरहित कोर्टमा खेल्नु नै हो, दर्शकले हामी खेलाडीको आत्मविश्वास बढाउँछन्, यसपटक यस्तो कुनै हुने छैन ।’ कोरोना भाइरसको महामारीका कारण यस वर्ष अस्ट्रेलियनपछि युएस ओपन सम्भव भएको हो । 

वर्षको अन्तिम ग्रान्डस्लामले चिनिने युएस ओपनको तयारी र सुरक्षा व्यवस्था कडा पारिएको छ । कोभिड– १९ बाट सुरक्षित रहन आयोजकले सबै किसिमको व्यवस्था मिलाएको छ । 

कोभिड– १९ बाट सुरक्षित रहन दर्शकलाई सामाजिक सञ्जाल, टेलिभिजन र इन्टरनेटको माध्यमबाट युएस ओपन हेर्न आयोजकको आग्रह छ । दर्शकले खचाखच भरिने अर्थुर रंगशालामा एकजना पनि दर्शक नहुँदा यहाँ सन्नाटा लागेको अनुभव सबैले गरेका छन् । विशेषतः शीर्ष तथा पूर्वविजेता खेलाडीको प्रतिस्पर्धा भरिभराउ नै हुन्थ्यो । 

योपटक सेरेना विलियम्स, नोभाक जोकोभिक तथा एन्डी मुर्रेका खेलमा कुनै चमक नै छैन । सेरेना कोर्टको अवस्थाअनुसार आफूलाई परिभाषित गर्नुपर्ने मान्छिन् । उनी भन्छिन्, ‘मेरो नजरमा तपाईं कुनस्तरको प्रतियोगितामा खेल्नु भइरहेकोछ, वातावरण कस्तो छ सोहीअनुरूप योजना बनाएर कोर्टमा प्रवेश गर्नुपर्छ, म यही सोचका साथ अगाडि बढने गर्छु, जहाँ भए पनि उत्कृष्ट नतिजा निकाल्ने मेरो प्रयास हो ।’ 

सेरेनाले युएस ओपनको पहिलो चरणमा २०–० को रेकर्ड बनाएकी छिन् । यसको अर्थ उनी यो प्रतियोगितामा कहिले पनि पहिलो चरणबाट बाहिरिएकी छैनन् । यो २० वर्षमा धेरै परिवर्तन भएका छन् । तर, सेरेनाको खेलमा केही परिवर्तन आएको छैन । २००० मा उनी जुन जोसका साथ कोर्टमा उत्रेकी थिइन् मंगलबार बिहान अर्थुर रंगाशालामा उनको शरीरमा त्यही नै जोस थियो । 

यद्यपि उनी अहिले ३९ वर्षकी भइन् । ६ पटककी विजेता सेरेनाको ध्यान करिअरकै २४औँ ग्रान्डस्लाम उचाल्नु हो । यो अबको दुई साताले बताउनेछ । यो दुई साता अमेरिकन खेलाडीको नाममा रह्यो भने सेरेनाले माग्रेट कोर्टको बराबरी गर्ने छिन् । माग्रेटले करिअरमा २४ ग्रान्डस्लाम जितेकी छिन् । सेरेना क्रिस्टिएविरुद्ध दुवै सेटमा केही कमजोर देखिएकी थिइन् । 

जबजब गेममा पछाडि परेको हुन्छिन् सेरेना त्यसवेला आफ्नो अचुक अस्त्र प्रहार गर्दै खेल नियन्त्रणमा लिन्छिन् । त्यो भनेको शक्तिशाली सर्भिस र ब्याक ह्यान्ड हाे । दुवै सेटमा क्रिस्टिएविरुद्ध सेरेनाले यस्तै प्रदर्शन दोहोऱ्याएकी थिइन् । खेलमा उनले १३ ऐस प्रहार गर्न सफल भइन् । सेरेनाले पहिलो ३८ मध्ये ३२ गेम अंक जित्दै खेलमा नियन्त्रण राखेकी थिइन् । कोर्टको भागमा २८ वर्षीया क्रिस्टिए पहिलो एकल उपाधिको खोजीमा थिइन् । यद्यपि उनले पूर्वनम्बर एक खेलाडीलाई दुवै सेटमा आच्छुआच्छु नपरेकी होइनन् । 

वर्तमान समयमा उपलब्ध खेलाडीमध्ये सर्वाधिक ग्रान्डस्लाम टेनिसकी अनुभवी सेरेनाले आफ्नो ‘एक्सपिरेन्स’ प्रयोग गरिन् । यसै कारण सेरेनाले दोस्रो सेटको महत्वपूर्ण समयमा क्रिस्टिएको सर्भिस तोड्न सफल भइन् । 
खेलपछि क्रिस्टिएले सेरेनाको प्रशंसा गर्न बिर्सिइनन् । उनी भन्छिन्, ‘अहिले पनि त्यही जोस र फिट खेलाडी ।’ 

सकारात्मक सोचका साथ अगाडि बढेकी सेरेनाले आउँदो दिनका प्रतिस्पर्धी कठिन हुने बताइन् । भन्छिन्, ‘अझै मिहिनेत गर्न बाँकी छ, अबका चरणमा राम्रा खेलाडी हुनेछन् ।’ खेलको एक समय पहिलो चरणबाटै बाहिरिने भय उनलाई लागेको रहेछ । उनले सुनाइन्, ‘मलाई यस्तो लागेको थियो, कहीँ म यो खेलमा पराजित हुने होइन, किनभने विपक्षी खेलाडीले मलाई खुलेर खेल्न मौका नै दिएकी थिइनन्, म प्रत्येक अंकका लागि संघर्ष गरिरहेकी थिएँ ।’

यसपटकको युएस ओपनमा महिला वरीयताको शीर्ष १० मध्ये ६ खेलाडीले भाग लिएका छैनन् । कोभिड– १९ का कारण शीर्ष चार खेलाडीले मात्र सहभागिता जनाइरहेका छन् । शीर्ष खेलाडीहरूको अनुपस्थितिमा सेरेनालाई सन् २०१७ पछि पहिलो ग्रान्डस्लाम जित्ने अवसर छ । प्रतियोगितामा तेस्रो वरीयताकी सेरेनाले दोस्रो चरणमा ११७औँ स्थानकी माग्रिताविरुद्ध खेल्ने छिन् ।

मुर्रेले सामना गरे पाँच सेट 
बेलायतका पूर्वनम्बर एक खेलाडी एन्डी मुर्रेलाई ग्रान्डस्लाम टेनिसमा एउटा उत्कृष्ट सुरुवात चाहिएको थियो । पछिल्लो केही वर्षमा ग्रान्डस्लाममा उनको प्रदर्शन औसतभन्दा तल रह्यो । यसकारण पनि उनी एउटा राम्रो सुरुवात चाहन्थे । वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनमा मुर्रेले पाँच सेट लगाएर पहिलो चरण पार गर्न सफल भए । यसै नतिजालाई उनी उत्कृष्ट मान्छन् । 

जापानिज खेलाडी योसिहितो निसिकोमाथि ४–६, ४–६, ७–६, ७–६ र ६–४ को म्याराथन सेटमा हराएका मुर्रे थकित भए । ३३ वर्षीय मुर्रेले आफू निकै थाकेको बताएका छन् । भन्छन्, ‘अहिले यो समय म थाकेको छु ।’ सन् २०१९ को जनवरी महिनामा उनको शल्यक्रिया भएको थियो । त्यसपछि ग्रान्डस्लाम कोर्टमा फर्किएको यो नै पहिलोपटक हो । 

डेढ वर्षपछि ग्रान्डस्लाममा फर्किएका मुर्रेले पहिलो सेट नै म्याराथन हुने विश्वास नलागेको बताए । ‘यस्तो खेल हुन्छ भनी कल्पना नै गरिनँ, अहिले मेरो नाडी तथा ढाड दुखेको छ,’ मुर्रेले भने, ‘पहिलो दुई सेट गुमाउँदा फर्कन गाह्रो पर्छ ।’ 

एटिपी वरीयताको पूर्व एकनम्बर खेलाडीसमेत रहेका मुर्रेले पछिल्लो चार वर्षमा दोस्रोपटक युएस ओपनमा भाग लिएका हुन् । तेस्रो सेटमा उनी ३–१ ले पछि थिए । जापानिज खेलाडी मुर्रेसँग दुईपटक ट्राइब्रेकरमा पराजित भए । मुर्रेले जित हात पार्न चार घन्टा ३९ मिनेट लगाएका थिए । 

अकल्पनीय जितपछि मुर्रेको सामाजिक सञ्जालमा थुप्रै सन्देश आए । जसमा अकल्पनीय जितमा बधाई उल्लेख थियो । उनी भन्छन्, ‘जब मैले म्यासेज हेरेँ, धेरैले बधाई दिए, त्यो देख्दा म भावुक भएँ ।’ अब मुर्रेले १५औँ वरीयताका फेलिक्स अगुरको सामना गर्नेछन् । सन् २०१९ को अस्ट्रेलियन ओपनको पहिलो चरणमा मुर्रे पाँच सेटमै पराजित भएका थिए ।