विद्यार्थीलाई अनलाइन कक्षामा अध्ययन गर्नका लागि अझ सहज होस् भन्ने उद्देश्यले नेपाल टेलिकमले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)सँग सम्झौता गरेको छ । कम्पनीले न्यूनतम मूल्यमा उपलब्ध गराइरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा सम्झौता गरेको हो ।
सम्झौताअनुसार देशभरका विद्यालयस्तरका विद्यार्थीले कम्पनीले उपलब्ध गराइरहेको न्यूनतम मूल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रूपले प्रयोग गर्न सक्ने जनाइएको छ । सम्झौतामा टेलिकमका प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनका उपाध्यक्ष एवं इ–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका थिए ।
कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच मिति २०७७ भदौ ८ मा सम्झौता भई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरूका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ विद्यालय तहका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको टेलिकमले जनाएको छ ।
प्याकेजका प्रयोगकर्ताले ३ सय १५ रुपैयाँमा २४ जिबी र ५ सय रुपैयाँमा ३५ जिबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जिबी डाटा प्याकेजमा २० जिबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा इ–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जिबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, ३५ जिबी डाटा प्याकेजमा ३० जिबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा इ–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जिबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने जनाइएको छ ।
ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जिएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी)को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने र दुवै प्याकेजको समयावधि २८ दिनको हुने कम्पनीले जनाएको छ ।