मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ १६ मंगलबार १७:२५:००
Read Time : > 1 मिनेट
समाचार

डाक्टरको कामना– त्यस्तो मृत्यु अब देख्न नपरोस्

Read Time : > 1 मिनेट
२०७७ भदौ १६ मंगलबार १७:२५:००

सोमबार (१५ भदौ) दिउँसो भरतपुर अस्पतालको आकस्मिक कक्षमा जे घटना भयो यस्तो घटना देख्नेहरू अब कहिल्यै पनि यस्तो देख्न नपरे हुन्थ्यो भन्ने कामना गरिरहेका छन् । कतिपय प्रत्यक्षदर्शीले त आफूलाई २४ घन्टापछिसम्म पनि सम्हाल्न नसकिरहेको जनाएका छन् । 

यो घटना हो अस्पताल आइसकेर पनि उपचार नपाएपछि दुई घन्टाको बीचमा तीनजनाले ज्यान गुमाएको । उनीहरू ६५ वर्षीय पुरुष, ५५ वर्षीया महिला र १८ वर्षीया युवती थिए । उपचारमा संलग्न डा. सुजन अधिकारी पनि यस्तो घटना कहिल्यै देख्न नपरे हुन्थ्यो भन्ने कामना गरिरहेका छन् । उनी भन्छन्, ‘उपचार अभावमा बिरामीको छटपटाहटपनको दृश्यले अहिलेसम्म पनि मलाई डिस्टर्ब गरिरहेको छ ।’ उनका अनुसार अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुन्छ  । तर, मूर्छित अवस्थामा बिरामी छटपटाइरहे पनि आफूले केही गर्न नसक्दाको दृश्यले पीडाबोध हुने उनको भनाइ छ । डा. अधिकारीले भने, ‘त्यस्तो मृत्यु देख्न नपरोस् । मलगायत सबै स्वास्थ्यकर्मी निरन्तर खटियौँ, बिरामीमा कोरोना पुष्टि भएको थिएन, कम सावधानी अपनाएर बचाउने प्रयास गरियो, तर सकिएन ।’ 

सरकारी अस्पतालमा आइसियू र भेन्टिलेटर खाली नभएर बाध्य भई इमर्जेन्सीमा उपचार गराउनुपरेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका निमित्त मेसु डा. जगन्नाथ तिवारीले तीनैजना बिरामी तत्काल आइसियू भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने खालको भएको बताए । निजी अस्पतालहरूले उपचार नगरी अन्तिम अवस्थामा सरकारी अस्पतालमा पठाउँदा तीनजनाले ज्यान गुमाउनुपरेको उनले बताए । तर, निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले भने निजी अस्पतालमा आइसियू वा भेन्टिलेटरमा बिरामी भरिएको अवस्थामा मात्र अन्यत्र पठाउने गरिएको दाबी गरे ।

बिरामीको बेवास्ता नगर्न निजी अस्पताललाई प्रशासनको निर्देशन 
निजी अस्पतालले उपचारमा बेवास्ता गर्न थालेपछि चितवन प्रशासन कार्यालय चितवनले त्यसो नगर्न निर्देशन दिएको छ । प्रशासनद्वारा सोमबार जारी विज्ञप्तिमा बिरामी रिफर गर्दा रिफर गरिने अस्पतालमा बेड भए–नभएको पक्का गर्नुपर्ने, आइसियू खाली नभएको अवस्थामा इमर्जेन्सीमा उपचार गर्नुपर्ने, अस्पतालहरूले आइसियू, भेन्टिलेटरको अवस्थाबारे हरेक दिन पाँच बजे जानकारी गराउनुपर्ने, एम्बुलेन्सले व्यक्तिगत स्वार्थमा नलागी बिरामीलाई निश्चित अस्पताल लैजानुपर्ने उल्लेख छ । 

दुई घन्टाको फरकमा तीनजनाको ज्यान गयो
खैरहनी– १३ निवासी ५५ वर्षीया महिलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि सोमबार अन्तिम समयमा भरतपुर अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा १ बजेर ३० मिनेटमा ज्यान गयो ।

भरतपुर महानगरपालिका– १ का ६५ वर्षीय पुरुषको निजी अस्पतालले उपचार नगरेपछि भरतपुरकाे सरकारी अस्पताल ल्याएको केही समयपछि १ बजेर ४५ मिनेटमा ज्यान गयो । भरतपुर– ११ की १८ वर्षीया युवतीको दिउँसो ३ बजेर ३० मिनेट जाँदा निधन भयो । दुई घन्टाको फरकमा भरतपुर अस्पतालमा भएको मृत्यु घटना सामान्य प्रकृतिको थिएन ।