मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १६ मंगलबार १५:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काेराेना प्रभाव : सडकमा ‘डमी ट्राफिक’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १६ मंगलबार १५:५५:००

कोरोना संक्रमणका कारण सडकमा ट्राफिक प्रहरी आफैँ बसेर जनचेतना फैलाउन असहज भएपछि काठमाडौं उपत्यकामा ‘डमी ट्राफिक प्रहरी’ राखिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गरी सडक दुर्घटना न्यूनीकरण गर्न काठमाडौंका २२ स्थानमा सचेतनामूलक जानकारीसहितका डमी ट्राफिक प्रहरी राखेको हो । 

डमी ट्राफिक प्रहरीको हातमा ट्राफिक नियम उल्लंघन गरेमा पाँच सयदेखि दश हजार रुपैयाँसम्म जरिवाना हुने लेखिएको छ । 

टाढाबाट हेर्दा ट्राफिक प्रहरीजस्तै देखिने भएकाले सवारीचालकले आफ्नो सवारीसाधनको गति नियन्त्रण गर्ने र ट्राफिक नियमको पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । 

नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने उनको भनाइ छ । 

उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने वेला लापरबाही गर्नुहुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने ढकाल बताउँछन् । 

महाशाखाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा डमी प्रहरी राखेर सूचना बोर्ड रोखेको जनाएको छ ।

ती डमीहरू सिंहदरबार, सिंहदोबाटो, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्वीप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडीबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुंगा र जगातीमा राखिएका छन् ।

यस्तै, महाशाखाले काठमाडौं उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ । 

उक्त बोर्डमा सकेसम्म सामाजिक दूरी कायम राखौँ, कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड सधैँ पालना गरौँ, जोर–बिजोर नियमको पालना गरौँ, सधैँ मास्क लगाएर हिँडौँ, अनावश्यक हिँडडुल नगरौँ, ट्राफिक नियमको पालना गरौँ जस्ता सन्देशहरू लेखिएका छन् ।