मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
२०७७ भदौ १५ सोमबार १९:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरोकारवालासँग प्रधानमन्त्रीले भने– प्रतिपक्ष मनोविज्ञान कोरोना विस्तारको प्रमुख कारक 

Read Time : > 1 मिनेट
२०७७ भदौ १५ सोमबार १९:११:००

प्रधानमन्त्री केपी ओलीले समाजमा ‘प्रतिपक्ष मनोविज्ञान’ हाबी हुँदै गएकाले सरकारले हरसम्भव प्रयास गर्दा पनि कोभिड–१९ को संक्रमण समुदायमा फैलिँदै गएको बताएका छन् । सरकारले स्रोतसाधनले भ्याएसम्म रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने, परीक्षण बढाउने, उपचारको व्यवस्था मिलाउनेलगायतका काम गर्दै आए पनि ती सबै कामलाई चुनौती दिने प्रवृत्ति र मनोविज्ञान समाजमा हाबी हुँदै गएको ओलीको भनाइ छ ।

सरकारीनिवास बालुवाटारमा सोमबार विज्ञ, सरोकारवाला तथा मन्त्रीहरूसँग परामर्श गर्दै ओलीले आमनागरिकहरूले नै सबैतिर सावधानी अपनाएर सरकारको कदमलाई पूर्ण रूपमा साथ नदिएसम्म जस्तोसुकै योजना बनाए पनि कोभिड– १९ को संक्रमण विस्तारलाई रोक्न नसकिने बताए ।

‘सुरुसुरुमा विदेशबाट आएकाहरू मात्रै संक्रमित भेटिए, उनीहरू समुदायमा छिर्न थालेपछि समुदायमा विस्तार हुँदै गयो । त्यसैले आपसी सम्पर्कमै सावधानी नअपनाएपछि सरकारले जतिसुकै योजना बनाए पनि रोकथाम र नियन्त्रण गर्न सकिँदैन । बल प्रयोग गरेर मात्र नियन्त्रण हुँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका एक सल्लाहकारले नयाँ पत्रिकासँग भने, ‘बल प्रयोग नगर्दा पनि धर छैन, निषेधाज्ञा जारी गऱ्याे, त्यसरी मात्र नियन्त्रण हुन्छ ? अब देखाइदिनुपर्छ भन्ने मनोविज्ञान देखिँदै गएको छ । त्यसैले सकारात्मक काममा सबैले सहयोग गर्ने सोचको विकास र त्यस्तै व्यवहार नदेखिएसम्म नियन्त्रण गर्न कठिनाइ छ ।’

मिडियाले पनि भाइरस रोकथाममा सहयोग नगरेको आरोप
प्रधानमन्त्री ओलीले मिडियाको भूमिका प्रतिपक्ष हुने कुरा स्वाभाविक भए पनि हरेक कुरामा नकारात्मकता मात्रै खोज्नुपर्छ र प्रतिपक्षमै रहनुपर्छ भन्ने मनोविज्ञान रहेकाले पनि कोभिड– १९ जस्तो भाइरसविरुद्धको लडाइँमा समस्या उत्पन्न भएको भनाइ पनि राखेका थिए । ‘अन्त (विदेश)मा त्यस्तो छैन, कोभिड– १९ को रोकथाम नियन्त्रणमा मिडिया सरकारको साथमा छ । तर, हामीकहाँ विरोध मात्रै गर्ने कतिपयको जुन मनोविज्ञान छ, मिडियाको पनि त्यस्तैत्यस्तै मनोविज्ञान छ, कतिपय मिडियाले प्रतिपक्षीय भूमिकाका नाममा सरकारले गरेका राम्रा काम ढाकछोप गरेर नकारात्मकता मात्र फैलाउने प्रतिपक्षीय मनोविज्ञानको काम गरेका छन् । यसले आममान्छेमा त्रास र नकारात्मक मनोविज्ञानको विकास र रोगको फैलावटलाई पनि भयावह बनाउला कि भन्ने अवस्था छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।

छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराई तथा डा. अर्जुन कार्कीलगायत करिब एक दर्जन विज्ञ सरोकारवालाहरू सहभागी थिए ।

विज्ञहरूले निषेधाज्ञासँगै भिडभाड र सम्पर्कबाट रोक्ने गरी स्वअनुशासनका लागि जागरण चलाउनुपर्नेमा जोड दिएका थिए । परीक्षणको दायरा बढाउँदा पनि रोगको निदान नहुने भएकाले सावधानीका लागि राष्ट्रिय जागरणका लागि जोड दिनुपर्ने उनीहरुको भनाइ थियो ।