Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ भदौ १५ सोमबार ०४:०९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरीमा जुनियरमाथि कारबाही, सिनियरलाई उन्मुक्ति

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ भदौ १५ सोमबार ०४:०९:००

जवानद्वय थुनामा,डिएसपीको सरुवा मात्रै 

‘बा.६च ५५१९ नम्बरको स्कार्पियोबाट सुनको जलप लगाइएका साढे १४ किलो चाँदी, आधा किलो सुन र लोड गरिएका दुईवटा पेस्तोल कमलादीबाट पछ्याउँदै आएका प्रहरीतर्फ फ्याँकेर तस्कर फरार’ । १३ साउन एकाबिहानै पत्रकार सम्मेलनमार्फत सार्वजनिक प्रहरीको बहादुरीपूर्ण गाथा क्षणभर टिकेन, जब घटनामा प्रहरीकै मिलेमतोकोे तथ्य बाहिरियो । लगत्तै प्रहरी जवानद्वय बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठ पक्राउ परे । अनुसन्धानपछि खुल्यो– उनीहरू घटनामा ‘डबल इन्फरमर’को भूमिकामा थिए । घटनामा संलग्न अभियुक्त महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत थिए । सुन्धाराबाट बरामद नक्कली सुन प्रकरणमा दुई प्रहरी जवान निलम्बनमा परे र अनुसन्धानपछि उनीहरू थुनामा छन् । तर, उनीहरूलाई प्रत्यक्ष कमान्ड गर्ने प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी रञ्जन दाहालविरुद्ध विभागीय सरुवाबाहेक केही भएन । उनलाई महाराजगन्ज तालिम केन्द्र पठाइयो । पछि घटनाका मुख्य योजनाकार बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन पक्राउ परे । पक्राउ परेका हुसेन तिनै व्यक्ति थिए, जसमाथि नक्कली भारतीय रुपैयाँ कारोबारमा कैदजीवन बिताइरहेका युनुश अन्सारीदेखि अन्तर्राष्ट्रिय डन दाउद इब्राहिमसम्मको सम्पर्कमा रहेर तस्कर धन्दा चलाउँदै आएको आरोप छ । 

हवल्दारद्वय कारागारमा,एसएसपीलाई कारबाही भएन

गत ७ असारमा हुन्डी कारोबारमा संलग्न भनिएका विकास अग्रवालले न्युरोडस्थित समृद्धि ऋण तथा सहकारीबाट १० लाख रुपैयाँ झिके । सहकारीमा कार्यरत रेणू श्रेष्ठ र सौरभ अधिकारीमार्फत रकम झिकेको सूचना प्रहरी जवान विक्रम चन्द र हवल्दार धिरेन विष्टले पाए । उनीहरु न्यूरोडमा पुगेर अग्रवालको प्रतिक्षामा बसे । प्रहरी जवान विक्रम चन्द र हवल्दार धिरेन विष्टले पाए । उनीहरुन्युरोडमा पुगेर अग्रवालको प्रतीक्षामा बसे । अग्रवाल सडक पार गर्दै थिए । रकम लिएर हवल्दारद्वय फरार भए । १० असारमा पक्राउ परेका विक्रम र धीरेन्द्र अहिले पुर्पक्षका लागि कारागार छन् । तर, विनाअनुसन्धान छाडिएका हुन्डी कारोबारी अग्रवाल भने अहिले फरार छन् । फरार अग्रवाल त्यही व्यक्ति हुन्, जसको सीधा उठबस इल्ताफसँग हुने गर्छ । अग्रवालकै सहयोगमा इल्ताफका एजेन्टले सुन्धाराबाट बरामद १४ किलो चाँदीमा सुनको जलप लगाएका थिए । अग्रवाल लुट घटनामा संलग्नमध्ये हवल्दार विष्ट महानगरीय प्रहरी परिसर काठमाडौंका घुमुवा हुन् । प्रहरी गण महाराजगन्जमा कार्यरत जवान चन्द पनि यस अघि परिसरमै कार्यरत थिए । विष्ट र घुमुवा चन्दका कमान्डर एसएसपी ज्ञवालीविरुद्ध कुनै कारबाही भएन । 

असइ र प्रहरी जवानद्वयमाथि कारबाही, डिएसपीलाई उन्मुक्ति

९ चैतमा मकवानपुर कैलाखस गाउँपालिका– ५ चौकीटार गोगनेकी ५० वर्षीया धनलक्ष्मी गुरुङको १२.२६ ग्राम हिरा लुटियो । घटना सम्बन्धमा प्रहरीले तुरुन्तै अनुसन्धान थाल्यो । नभन्दै लुटमा संलग्न चार भाइ थाहा नगरपालिकाबाट पक्राउ परे । अनुसन्धानपछि खुल्यो, पक्राउ पर्ने अरू नभएर महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत असइ सरेन्द्र बसेल, प्रहरी जवानद्वय वीरबहादुर बस्नेत र हिमकान्त पुनमगर थिए । पक्राउ पर्ने अर्का भने पत्रकार सुजन आचार्य थिए । उनीहरू हिरा लुट्नै भनेर काठमाडौंबाट प्रदेश–३–०१–०१–००२२ नम्बरको गाडी चढेर मकवानपुर पुगेका थिए । हिरा लुट घटनामा पनि डिएसपी रञ्जन दाहालमातहतकै प्रहरी संलग्न थिए । त्यसवेला पनि दाहालविरुद्ध कुनै कारबाही भएन । जब कि असइ बसेल, प्रहरी जवानद्वय बस्नेत र पुनमगर विभागीय कारबाहीस्वरूप निलम्बनमा परे । 

...............................

तीन जघन्य अपराधका घटनास्थल फरक छन् र अभियुक्त पनि फरक नै । तर, तीनै घटनामा संलग्न अभियुक्त प्रहरी छन् । जो महानगरीय प्रहरी परिसर काठमाडौंमातहत कार्यरत थिए । यसमा अर्को एउटा समानता छ– जुनियर कारबाहीमा परेका छन् र सिनियर उम्किएका छन् । त्यसो त नेपाल प्रहरीको तथ्यांकमा देशभरमै माथिल्लो दर्जाका प्रहरीविरुद्ध कारबाहीका उदाहरण कम छन् ।

तर, नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायत अपराधमा संलग्न जो–कोहीविरुद्ध पनि संगठनले कारबाही गरेको बताउँछन् । उनी भन्छन्, ‘अपराधमा संलग्न व्यक्ति कुन दर्जाका हुन् भनेर हेरिन्न । अपराधको भोल्युम कस्तो भन्ने कुरा संगठनले हेर्छ र सोहीअनुसार कारबाही गर्छ । नेपाल प्रहरीमा आइजिपीसमेत कारबाहीमा परेका छन् । त्यस आधारमा अन्य दर्जाका प्रहरी कर्मचारी उम्कने भन्ने त सवालै हुँदैन ।’

तर, तथ्यांकले अर्कै भन्छ । तीन वर्षको तथ्यांक हेर्दा प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका जम्मा एक सय १२ जना मात्रै कारबाहीमा परेका छन् । जसमध्ये प्रहरी निरीक्षक ८१, डिएसपी १७, एसपी आठ र एसएसपी ६ छन् । यस अवधिमा डिआइजी र एआइजीविरुद्ध भने कारबाही भएको छैन । 

केन्द्रीय तथ्यांकअनुसार तीन वर्षको अवधिमा अधिकृतभन्दा तल्लो तहका ६ हजार ७१ प्रहरी कर्मचारीविरुद्ध कारबाही भएको छ । कारबाही पर्नेमा सबैभन्दा बढी जवान छन् । यस अवधिमा चार हजार एक सय ३५ जवानविरुद्ध कारबाही भएको छ । कारबाहीमा पर्नेमा त्यसपछि हवल्दारको संख्या धेरै छ । यस अवधिमा एक हजार एक सय ९९ हवल्दार कारबाहीमा परेका छन् । त्यस्तै, चार सय ६५ असइ र दुई सय ७२ सइ कारबाहीमा परेका छन् । 

तर, प्रहरी प्रवक्ता एसएसपी कडायत संगठनमा रहेको कुल संख्यामध्ये ८० प्रतिशत जवान र हवल्दारको संख्या भएका कारण कारबाहीको संख्या धेरै देखिएको बताउँछन् । ‘नेपाल प्रहरीमा सबैभन्दा धेरै जवान र हवल्दारको संख्या छ । त्यसपछि जुनियर अधिकृतहरूको हो । यस आधारमा कारबाहीको दर सोही दर्जाका कर्मचारीमा धेरै देखिनु स्वाभाविक हो । अधिकृतको संख्या कम छ । सोही कारण कारबाहीको दर सिपाही, हवल्दारको तुलनामा कम देखिन्छ,’ उनले भने । 

सीमित स्रोत–साधनले महत्वाकांक्षा धान्नै सक्दैन, अनि प्रहरी अपराधमा लाग्छन् : हेमन्त मल्ल ठकुरी, पूर्वडिआइजी

प्रहरी कर्मचारी आफैँ जघन्य अपराधमा संलग्न हुुनु गम्भीर हो । यसो हुनुमा दुई–तीनवटा कारण छन् । पहिलो कमान्डर यसको जिम्मेवार हो, जसले सही कर्मचारी पहिचान गर्न सक्दैन । अर्को मातहतका कर्मचारीलाई कमान्ड गर्न नसक्नु हो । यसबाहेक अर्को कारण राजनीतिक सोर्सका आधारमा सरुवा भएका प्रहरी कर्मचारी हुन् ।

विशेषगरी यस्ता समस्या नाका तथा सुविधायुक्त ठाउँमा धेरै देखिन्छन् । काठमाडौं प्रहरीमा देखिएको समस्या यस्तै मनोदशाबाट प्रेरित भएको हुन सक्छ । भौतिक सुविधालाई मात्रै प्रगतिको मानक ठान्ने सामाजिक मनोविज्ञानका कारण पनि तल्लो तहका प्रहरी कर्मचारी अपराधमा संलग्न हुने गर्छन् । तल्लो तहका प्रहरी कर्मचारीको सेवा–सुविधा सीमित छ । तर, उनीहरूमा महत्वाकांक्षा ठूलो छ ।

सामाजिक चेतकै कारण मानिसमा यस्तो मनोविज्ञान बन्ने हो । ती महत्वाकांक्षा सीमित स्रोत–साधनले धान्नै सक्दैन । त्यसो हुँदा उनीहरू अपराध कर्ममा लाग्छन् । यसको अर्थ माथिल्लो दर्जाकाबाट अपराध नै नहुने भन्ने होइन । ठूला–ठूला भ्रष्टाचारका घटना त पढे–लेखेकाबाटै भएका उदाहरण हामीमाझ छ । कारबाहीमा जुनियर धेरै देखिनुको कारण संगठनमा रहेको संख्याको अनुपात हो । तर, दोषी पाइए सानो–ठूलो भन्न पाइँदैन, कारबाहीको दायरामा ल्याउनुपर्छ ।