मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडौं
२०७७ भदौ १४ आइतबार ०८:४४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

साउदीको जेद्धामा अलपत्र श्रमिकलाई नेपालबाट पैसा मगाएर फर्कन वाणिज्य दूतावासको दबाब

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ भदौ १४ आइतबार ०८:४४:००

६ महिनादेखि बेरोजगार भएका ११ जना श्रमिक साउदी अरबको जेद्धामा अलपत्र परेका छन् । काठमाडौंस्थित नायल ओभरसिजमार्फत जेद्धाको अल हैदर कम्पनीमा लेबर भिसामा गएकामध्ये ११ जना श्रमिक अलपत्रमा अवस्थामा रहेको उनीहरूले ह्वाट्स एपमार्फत जानकारी गराएका छन् । 

बेखर्ची भएका बेरोजगार श्रमिकहरूलाई जेद्धास्थित नेपाली महावाणिज्य दूतावासले सहयोग नगरेको पीडित श्रमिकहरू बताउँछन् । दूतावासले टिकट काट्नका लागि नेपालबाट पैसा मगाउन दबाब दिएको पीडितहरूले दुखेसो गरेका छन् । सरकारले बेखर्ची श्रमिकलाई वैदेशिक रोजगार बोर्डअन्तर्गत गरेको कल्याणकारी कोषको रकमको प्रयोग गर्न आदेश दिएको छ । तर, दूतावासले भने सो आदेशलाई बेवास्ता गरी बेखर्चीलाई घरबाट पैसा मगाउन दबाब दिने गरेको उनीहरूले बताएका छन् । 

अलपत्र ११ जना श्रमिकमध्ये ३ जनाले घरबाट पैसा मगाएर जहाजको टिकट काटेको उनीहरुले बताएका छन् । त्यस्तै, ३ जनाको भिसा अवधि नसकिएकाले रोजगारदाताले पासपोर्ट नै दिएको छैन । पासपोर्टका लागि कम्पनीले जरिवाना रकम माग गरेपछि उनीहरू अन्योलमा परेका छन् । अन्य श्रमिकहरूको भने घरबाट पैसा मगाएर नेपाल फर्कन सक्ने अवस्था पनि नरहेको पीडित श्रमिक राजु मुर्मीले बताए । कम्पनीले जागिरबाट निकालेपछि श्रमिकहरूले दूतावासमा बारम्बार सम्पर्क गरेका थिए । धेरै ताकेता लगाएपछि दूतावासको पहलमा रोजगारदाता कम्पनीबाट २५ हजार रुपैयाँ पाएको पीडित झापाबाट साउदी गएका श्रमिक राजु मुर्मीले बताए । उनी भन्छन्, ‘त्यति पैसाले के गर्नु ? उधारो खाँदै आएको पसलेलाई तिर्नसमेत पुगेन ।  साँहुसँग ५ प्रतिशत ब्याजमा पैसा ऋण लिए । दूतावासले २० अगस्टमा उडान हुन्छ भनी पिसिआर पनि गरेँ । तर, उडान स्थगित भयो ।’ नेपाल फर्कनका लागि टिकट काट्ने पैसा नभएपछि उनले घरबाट ५० हजार रुपैयाँ मगाएका थिए । 

तर, साउदीको जेद्धास्थित वाणिज्यदूत भुवन पौडेलले अलपत्र परेका ११ जना श्रमिकको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने ‘यो संक्रमणकालिन अवस्थामा समस्यामा परेका प्रत्येक श्रमिकसँग व्यक्तिगत रूपमा सम्पर्क गरेको छु । तर, उहाँहरूसँग हालसम्म सम्पर्क भएको छैन ।’ श्रमिकहरूलाई निःशुल्क उद्धार गर्ने विषयमा वैदेशिक रोजगार बोर्डबाट स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसक्ने उनको भनाइ छ ।

आधा पेट खाएर दिन बिताउँदै श्रमिक
जागिर गुमेको ६ महिना बितिसकेकाले बेखर्ची भएका श्रमिकहरू आधा पेट खाएर दिन बिताउन बाध्य छन् । कोरोना संक्रमणसँगै बेरोजगार भएका श्रमिकलाई कम्पनीले न त खान दिएको छ, न त बस्न दिएको छ । राम्ररी खानसमेत पैसा नभएपछि बिहान आधा पेट मात्रै खाएर बस्नुपरेको पीडित श्रमिक राजु मुर्मीले बताए । ‘बिहान आधा पेट खान्छाैं । बेलुका एक–एकवटा रोटी खुर्सानी र प्याजसँग खान्छाैं,’ उनले भने, ‘सरकारको आस गर्दागर्दै ६ महिना बितिसक्यो । अब पनि हाम्रो उद्धार नभए झुन्डिएर मर्नुको विकल्प छैन ।’ सरकारले वास्ता गरेन भने भोकभोकै बौलाउनुभन्दा मर्नु नै उचित हुने उनले दुखेसो गरे ।  महोत्तरीका नरेन्द्र सरबरिया साढे तीन वर्षअघि लेबर भिसामा साउदी पुगेका थिए । काठमाडौंस्थित नायल ओभरसिजमार्फत उनी साउदीको जेद्धास्थित अल हैदर कम्पनीमा गएका थिए । तर, लकडाउन सुरु भएपछि उनको कम्पनी पनि संकटमा पर्‍यो । कम्पनीले ६ महिनाअगाडि नै जागिरबाट निकालिदिएपछि उनी आर्थिक संकटमा छन् । अहिले उनको भिसाको अवधि सकिएको पनि १० दिन भइसकेको छ । तर, उनीसँग नेपाल फर्कने टिकट काट्ने पैसा पनि छैन । उनले दूतावासमा तीन महिनाअगाडि नेपाल फर्कनका लागि आवेदन दिएका थिए । दूतावासको नेपाल फर्कने सूचीमा समेत उनको नाम निस्किसक्यो । तर, टिकट काट्न सक्ने क्षमता नभएका कारण उनी नेपाल फर्कन सकेका छैनन् । 

मोरङका २६ वर्षीय महेन्द्र हेमरुम पनि साढे तीन वर्षअगाडि साउदीस्थित अल हैदर कम्पनीमा रोजगारीका लागि गएका थिए । उनी पनि ६ महिनादेखि बेरोजगार छन् । यो अवधिमा विभिन्न साथीहरूको सहयोगले पेट भर्दै आएको उनले बताए । आफूसँग नेपाल फर्कन १ रुपैयाँ पनि नभएकाले टिकट काट्न नसक्ने उनले गुनासो गरे । त्यस्तै, नवलपरासीका नरेन्द्रप्रसाद यादव विगत १२ वर्षदेखि साउदीको अल हैदर कम्पनीमा कार्यरत थिए । तर, लकडाउनका कारण उनी पनि ६ महिनादेखि बेरोजगार छन् । बेरोजगार भएका कारण कम्पनीले बहिर्गमनको अनुमति पनि दिइसक्यो । तर, पासपोर्ट दिएको छैन । पासपोर्टका लागि कम्पनीले १ लाख ८९ हजार रुपैयाँ जरिवाना मागेको उनले बताए । भिसा अवधि ५ महिना बाँकी रहेको भन्दै कम्पनीले जरिवाना मागेको उनले दुखेसो गरे । उनीजस्तै अन्य दुईजना श्रमिकसँग कम्पनीले पासपोर्टका लागि जरिवाना मागिरहेको उनले बताए ।