मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ १४ आइतबार ०४:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

क्वारेन्टिनमा बस्न आग्रह गर्दा श्रीमानले आगो लगाएकी युवतीको अवस्था गम्भीर

Read Time : > 1 मिनेट
२०७७ भदौ १४ आइतबार ०४:००:००

भारतबाट फर्केकाले क्वारेन्टिनमा बस्न आग्रह गर्र्दा श्रीमान्ले मट्टीतेल छर्केर आगो लगाउँदा जलेकी सप्तरीकी युवतीको अवस्था गम्भीर बनेको छ । उनको लहानमा उपचार हुन नसकेपछि शनिबार काठमाडौं लगिएको छ । 

सप्तरी सुरुंगा नगरपालिका–३ लक्ष्मीपुरकी २५ वर्षीया वसन्ती सदालाई उनका पति २९ वर्षीय दीपेन सदाले मट्टीतेल छर्केर आगो लगाएका थिए । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सामान्य उपचार गराएपछि घरमा बस्दै आएकी वसन्तीको अवस्था गम्भीर बनेको हो । लहान र विराटनगरमा उपचार हुन नसकेपछि सुरुंगा नगरपालिकाले उनलाई शनिबार एम्बुलेन्समा काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ट बर्न सेन्टरमा पठाएको छ । उनका आमाबुबा मनभरन र सोनावती सदा पनि सँगै गएका छन् । 

दीपेन ४ साउनमा भारतको पन्जाबबाट घर फर्केका थिए । उनलाई वसन्तीले क्वारेन्टिनमा बस्न आग्रह गरेकी थिइन् । क्वारेन्टिनमा बस्न आग्रह गर्दा अपमान गरेको भन्दै ५ साउन बिहान वसन्तीको शरीरमा मट्टीतेल छर्केर आगो लगाएको उनकी आमा सोनावतीले बनाइन् । ‘शरीरमा मट्टीतेल छर्केपछि ज्यान जोगाउन भागेकी थिइन् । लखेट्दै सलाई कोरेर आगो लगाएछन्,’ सोनावतीले भनिन् । 

आगोले उनको घाँटीमुनि र कम्मरमाथिको भाग जलेको छ । आगो लगाएको दिन उनलाई लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि ६ साउनमा विराटनगर लगिएको थियो । तर, विराटनगरस्थित नोबेल अस्पतालले भर्ना नगरेको सोनावतीले बनाइन् । त्यसपछि घरमा राखिएको थियो ।

उनको अवस्था गम्भीर बनेपछि ८ साउनमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । ‘निको हुँदै थियो । अस्पतालले कोरोनाको जोखिम रहेको भन्दै घर पठायो,’ उनले भनिन् । २५ साउनमा अस्पतालले डिस्चार्ज गरेपछि उनलाई घरमै राखिएको थियो । उनको अवस्था झन्झन् बिग्रिन थालेपछि फेरि १० भदौमा लहानस्थित राजकुमार–उपमाप्रसाद स्मारक अस्पताल भर्ना गरिएको थियो । ‘घरमा राख्दा नाजुक भएपछि फेरि अस्पताल ल्याएका हौँ,’ उनकी आमा सोनावतीले भनिन् ।

लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुसवाहले सक्दो उपचार गरिएको बताए । ‘अहिलेसम्म अस्पतालकै आन्तरिक स्रोतले उपचार गरेका छौँ । सक्दो कोसिस ग-यौँ, तर सुधार आउन नसकेपछि काठमाडौं रिफर गरेका छौँ,’ डा. कुसवाहले भने । वसन्तीको शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेकाले सुविधायुक्त अस्पतालमा पठाएको उनले बताए । 

आर्थिक अभावले उनको उपचार गर्न समस्या परेको सोनावतीले बताइन् । सुरुंगा नगरपालिकाले एम्बुलेन्स र सामाजिक संघसंस्थाले ६५ हजार रुपैयाँ संकलन गरेर काठमाडौं पठाएका हुन् । अहिले सहयोग गरेर पठाए पनि काठमाडौं उपचार गर्न आफूसँग पैसा नभएको उनकी आमाले दुःखेसो गरिन् । 

वसन्तीको शरीरमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्न खोजेको अभियोगमा दीपेनलाई पुर्पक्षका जेल चलान गरिएको छ । जिल्ला अदालतको आदेशमा बिहीबार जेल चलान गरिएको कडरबोना इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रामराजा केशरीले बताए । वसन्तीका बुबाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान गरिएको इन्स्पेक्टर केशरीले बताए । आफन्तजन र स्थानीय बासिन्दाले वसन्ती आफैँले आगो लगाएको भन्दै दबाब दिए पनि प्रहरी अनुसन्धानमा दीपेनले नै आगो लगाएको खुलेको र उनले पनि स्विकारेको इन्स्पेक्टर केशरीले बताए ।