मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १३ शनिबार ०९:३५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १३ शनिबार ०९:३५:००

कोभिड १९ महामारीको त्रासबीच सुरु भएको क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । जमैका तालावाससँग आबद्ध उनले पाँच खेलबाट सात विकेट लिएका छन् । टोलीका लागि पछिल्लो खेलमा उनको बलिङ ‘इकोनोमी’ उत्कृष्ट छ । सुरुवाती दुई खेलमा उनको प्रदर्शन केही कमजोर रह्यो । गत ३ भदौमा सेन्ट लुसिया जोउक्सविरुद्ध जमैकाले सिजनको पहिलो खेल खेल्दा सन्दीपले एक विकेट त लिए, तर उनको बलिङ केही महँगो साबित भयो । चार ओभर बलिङ गरेका उनले २३ रन खर्चिएका थिए । उनले एक–एक छक्का र चौका पनि व्यहोरेका थिए । 

एक दिनपछि ट्रिन्बागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा पनि उनको बलिङ केही महँगो साबित भयो । यो खेलमा पनि उनले एक विकेट लिए, तर चार ओभरमा ३० रन खर्चिए । यो खेलमा एक छक्का र दुई चौका व्यहोरे । त्यसपछिको दुई खेलमा उनले उनले आफ्नो प्रदर्शनमा निकै सुधार ल्याएका छन् । ६ भदौ र ९ भदौमा गुएना अमेजन वारियर्सविरुद्ध लगातार भएको दुई खेलमा उनको उत्कृष्ट बलिङ प्रदर्शन रह्यो । गुएनाविरुद्धको पहिलो खेलमा सन्दीपले चार ओभरमा मात्रै आठ रन दिएर दुई विकेट लिए । 

त्यसको तीन दिनपछि गुएनाविरुद्ध नै भएको दोस्रो खेलमा उनले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । यी दुवै खेलमा उनले बाउन्ड्री दिएनन् । गुएनाविरुद्धको पहिलो खेलको प्रदर्शन उनको करिअरकै उत्कृष्टमध्येको हो । १० भदौमा भएको बार्बाडोस ट्राइडेन्सविरुद्धको खेलमा भने उनको प्रदर्शन उत्कृष्ट रह्यो । उनले चार ओभरमा १६ रन दिएर दुई विकेट लिए । यो खेलमा उनले मात्रै एक चौका दिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद उनको टोली जमैका तालाबास अंक–तालिकामा भने अघि बढ्न सकेको छैन ।

जमैका ६ टोली सम्मिलित प्रतियोगितामा अंकतालिकाको पाँचौँ स्थानमा छ । जमैकाले पाँच खेल खेल्दा दुईमा जित र तीनमा पराजय व्यहोरेको छ । जमैकाले आइतबार आफ्नो छैटौँ खेलमा सेन्ट किट्स एन्ड नेभिस पाट्रिवट्ससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता सुरु हुनै लाग्दा कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय हवाई सेवा बन्द रहँदा सन्दीपले प्रतियोगिता गुमाउने अवस्था देखिएको थियो । यद्यपि, उनी ‘ननसेड्युल’ उडानमार्फत प्रतियोगिता खेल्न त्यहाँ पुगेका हुन् । सन्दीपलाई जमाइकाले नेपाली एक करोडभन्दा बढी मूल्यमा अनुबन्ध गरेको हो । 

सन्दीप करोडभन्दा बढी मूल्यमा अनुबन्धित भएको अर्काे प्रतियोगिता भने कोभिड–१९ महामारीका कारण स्थगित भएको छ । इंग्ल्यान्डमा आयोजना हुने तय भएको एक सय बलको द हन्ड्रेड प्रतियोगिता कोभिड १९ महामारीकै कारण स्थगित भएको छ । सन्दीपलाई सो प्रतियोगिताका लागि ओभल इन्भिन्सिवल्सले डेढ करोडभन्दा बढी मूल्यमा अनुबन्ध गरेको थियो ।