१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १२ शुक्रबार २०:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रानीपोखरी पुनर्निर्माणको ८५ प्रतिशत काम सकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १२ शुक्रबार २०:४३:००

रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उपभोक्ता समितिका अनुसार अहिलेसम्म ८५ प्रतिशत काम पूरा भएको छ । शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरी पुनर्निर्माणको अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा उपभोक्ता समितिले पुनर्निर्माणको काम ८५ प्रतिशत पूरा भएको जानकारी दिएको मेयर शाक्यले बताए । ‘हामीले लकडाउनमा पनि काम रोकेनौँ, अब १५ प्रतिशत काम मात्रै बाँकी छ, यसलाई पनि छिटो सम्पन्न गर्न लागेका छौँ,’ उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले भने । 

निरीक्षणका क्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड– १९ को महामारीबीच समेत अन्तिम चरणमा पुग्नु गौरवको कुरा भएको बताए । ‘यो ऐतिहासिक मात्रै होइन, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेमकहानीसँग पनि जोडिएको पोखरी हो,’ उनले भने, ‘यो विश्वका लागि पनि उदाहरणीय पोखरी हो । पोखरीको पुनर्निर्माण सम्पन्न हुन लागेको देख्दा आनन्दित भएको छु ।’ 

काठमाडौंका मेयर शाक्यले महानगरकै योजना, निर्णय र समन्वयमा तीन सय ६० वर्ष पुरानो पोखरीलाई पहिलेकै शैलीमा तयार गर्ने काम भएको बताए । उनले भूकम्पबाट क्षति पुगेको बालगोपालेश्वर मन्दिरसमेत मल्लकालीन गुम्बज शैलीमै तयार गरिएको बताए । २० फागुन, ०७५ बाट उपभोक्ता समितिले पोखरी पुनर्निर्माण थालेको थियो । उपभोक्ता समितिले अब आठ महिनामा पोखरीको सबै काम पूरा गर्ने उद्देश्य रहेको जनाएको छ । 

पोखरीमा प्राकृतिक स्राेतबाटै पानी भर्ने तयारी छ । त्यसले नपुगे बाहिरी स्राेतबाट राख्ने योजना रहेको अध्यक्ष स्थापितले बताए । ‘त्यसका लागि रानीपोखरीवरिपरि वर्षामा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने र मेलम्चीको पानी राख्ने वा डिपबोरिङ गरेर पानी भर्ने विकल्पबारे पनि छलफल भइरहेको छ,’ उनले भने । पोखरी पुनर्निर्माणका लागि मात्रै नाै करोड ५४ लाख र मन्दिर र सौन्दर्यीकरणका लागि करिब १५ करोड गरी करिब २५ करोडको लागत रहेको छ ।