मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ १२ शुक्रबार १८:०२:००
Read Time : > 1 मिनेट
समाचार

पाथीभरा क्षेत्रका होटेलमा रहेका लाखौँका खाद्य सामान बिग्रिए 

Read Time : > 1 मिनेट
२०७७ भदौ १२ शुक्रबार १८:०२:००

धार्मिक एवं पर्यटकीय स्थल पाथीभरा मन्दिर क्षेत्रका होटेल व्यवसायीहरू  कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण लाखौँको घाटा व्यहोर्न बाध्य भएका छन् । तीर्थालु एवं पर्यटक नआएका कारण होटेल सुनसान त छँदै छ, पर्यटक आउने आसमा होटेलले ल्याएका सामानको मिति गुज्रिँदा थप घाटा व्यहोर्नुपरेको हो ।

पाथीभरा क्षेत्र होटेल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार  पाथीभरा क्षेत्रमा तीर्थयात्रीको चाप हुने समय रामनवमी हो । रामनवमी प्रायजसो चैतमा पर्छ । गत २० चैतमा रामनवमी थियो । तर, यो समयमा देशभर लकडाउन थियो । यो पर्वमा पाथीभरामा दैनिक पाँच हजारदेखि १० हजारसम्म तीर्थयात्रीलाई पुग्ने गरी व्यवसायीले सामान ल्याएर राखेका थिए । उनले भने, ‘होटेल व्यवसाय गर्ने व्यवसायीले प्रतिहोटल आठदेखि १० लाखको सामान स्टक गरेका थिए । लकडाउन भएकाले लाखाैँको सामान नष्ट गर्नुपऱ्याे ।’

रामनवमीको अवसरमा स्टक गरेको पानी, पेयपदार्थहरू, चामल, चाउचाउ, बिस्कुटलगायतको खानयोग्य समय सकिएर नष्ट गर्नुपरेको हो । माथिल्लो फेदीमा होटेल सञ्चालन गर्दै आएका अध्यक्ष भट्टराईले मात्रै चार सय कार्टुन पानी नष्ट गरेको बताए । साथै, अन्य पेयपदार्थ, चाउचाउ, बिस्कुटसमेत गरी साढे चार लाखबराबरको नोक्सानी भएको उनको भनाइ छ । पाथीभाराको माथिल्लो फेदीमा १६ वटा होटेल छन् । सबै होटेलको गरी करिब ३० लाखबराबरको सामान नष्ट गर्नुपरेको उनको भनाइ छ । 

यही क्षेत्रको गुराँसेमा पनि १३ वटा होटेल छन् । यहाँका होटेल व्यवसायी रतन कार्कीले लकडाउनअगाडि नौ लाखको सामग्री ल्याएकोमा साढे तीन लाखजतिको प्रयोग गर्ने मिति गुज्रेको बताए । लकडाउनका कारण सामान फिर्ता गर्नसमेत नपाएको उनको भनाइ छ । गुराँसे क्षेत्रका होटेलबाट करिब २० लाखबराबरको सामग्री नष्ट गर्नुपरेकोे पाथीभरा क्षेत्र होटेल व्यवसायी महासंघका सचिवसमेत रहेका कार्कीले बताए । 

काफ्लेपाटी, भालु गौँडे, देउराली क्षेत्रमा रहेका ३१ वटा होटेलबाट पनि ४० लाखबराबरकाे सामान नष्ट गर्नुपरेको अध्यक्ष भट्टराईले बताए । पाथीभरा क्षेत्रमा रहेका ६० वटा होटेलबाट विभिन्न खाद्यपदार्थको खानयोग्य समय  सकिएर करिब ९० लाखबराबरको क्षति भएको अध्यक्ष भट्टराईको दाबी छ । 

पाथीभरा क्षेत्रमा होटेल–व्यवसाय गरेर परिवार गुजारा गर्ने व्यवसायीहरूको भने अहिले दयनीय अवस्था रहेको छ ।