मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १२ शुक्रबार ११:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नगरपालिका स्थापना भएको २४ वर्षमा १२ किलोमिटर सडक कालोपत्रे 

कालोपत्रे भत्केर आहाल बन्यो सडक

Read Time : > 1 मिनेट
२०७७ भदौ १२ शुक्रबार ११:००:००

दैलेखको नारायण नगरपालिका स्थापना भएको २४ वर्ष पुगिसकेको छ । २४ वर्षमा नारायण नगरपालिकाले सदरमुकाम दैलेख बजारको १२ किलोमिटर मुख्य सडक मात्रै कालोपत्रे गरेको छ । 

सदरमुकामको मुटु मानिने नारायण नगरपालिका बजार क्षेत्रमा हरेक वर्ष सडक कालोपत्रे हुन्छ । हरेक वर्ष कालोपत्रे उप्कन्छ, सडकमा खाल्डा पर्छ अनि खाडलमा जमेको पानीको आहालमा नागरवासीहरू हिँड्नुपर्ने अवस्था छ । 

यो वर्ष सदरमुकामभित्रको सडक खाल्डा परेर हिँड्नै नसक्ने अवस्था भएपछि नगरपालिकाले रातो माटो हालेर खाल्डा पुर्ने काम गरेको छ । सडक हिलो भएकाले सवारी र मानिस आउजाउ गर्न पनि कतिपय स्थानमा मिल्दैन । २४ वर्षअघि अर्थात् ०५३ सालमा भौतिक पूर्वाधार नै तयार नगरी यो क्षेत्रलाई नगरपालिका घोषणा गरिएको हो ।

संघीयता आएपछि पनि विकासले फड्को मार्ला भनेर आशा गरेका नगरवासीले बर्सेनि अनावश्यक कर मात्रै तिर्नुपरेको, तर विकास हुन नसकेको प्रमाण सडककै हालतले देखाएको स्थानीय सुनील थापामगरले गुनासो गरे । 

नगरपालिकाका ११ वटै वडामा कच्ची सडक पुगेको पनि वर्षौं भइसक्यो । कतिपय सडकमा त दशौँपटकसम्म बजेट खर्च गरिएको छ । सवारीसाधन अहिले पनि राम्रोसँग चल्दैनन् । नगरभित्र कच्ची सडकको कुल लम्बाइ एक सय ४२ किलोमिटर छ ।

विगत २४ वर्षमा सकडकै नाममा निकै रकम खर्च भइसकेको छ । बनेका सडकमा पनि प्रभावकारी रूपमा नालीको व्यवस्थापन नगरेका कारण सडकमै भल हिँड्छ । उब्जनीयोग्य जमिन हरेक वर्ष क्षति गरेको छ । बाढी र पहिरोले समस्या पार्दै आएको छ । 

विगत १५ वर्षअघिदेखि निर्माण गरिएका नालीहरूको समेत मर्मतसम्भार हुन सकेको छैन । चार वर्षअघि करोडौँ खर्च गरेर निर्माण गरिएका सार्वजनिक शौचालयहरू पनि प्रयोगमा आउन सकेका छैनन् । नगरपालिकाभित्र चक्रपथ निर्माणका लागि आठ मिटर फराकिलो सडक बनाउने भन्दै प्रदेश सरकारले थालेको ३५ किलोमिटरको नगर चक्रपथ बनाउने काम पनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन । 

धार्मिक पर्यटनका हिसाबले दैलेखको पंचकोसी क्षेत्र निकै प्रख्यात छ । सदरमुकामभित्रको कोतगढीलगायतका ऐतिहासिक महत्वका वस्तुहरूको अवलोकन गर्नका लागि आन्तरिक पर्यटकहरूको संख्या बढ्दै गएको दैलेख सदरमुकामको मुख्य सडक नै बेहाल अवस्थामा भएपछि पर्यटकहरूले समेत सास्ती भोग्नुपरेको छ ।