मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ भदौ १२ शुक्रबार ०४:०८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोना संक्रमणले प्रहरीका शान्ति मिसन अन्योलमा, छनोट भएका प्रहरी पनि चार महिनादेखि जान सकेनन्

विदेशमा पनि जनताको सुरक्षामा खटिँदै छ नेपालका प्रहरी 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ भदौ १२ शुक्रबार ०४:०८:००

देशको शान्ति–सुरक्षामा मात्र होइन, द्वन्द्वग्रस्त विदेशी मुलुकमा समेत नेपाली सुरक्षाकर्मीले शान्ति स्थापनार्थमा सहयोग गर्दै आएका छन् । तर, कोरोना संक्रमणको असर राष्ट्रसंघीय शान्ति मिसनमा पनि देखिएको छ । मिसन जानका लागि छनोट भएका प्रहरी चार महिनादेखि रोकिएका छन् । गत चैतमा नेपाल प्रहरीका अधिकृतहरू पर्यवेक्षकका रूपमा शान्ति मिसनमा विभिन्न देश जाने तयारीमा थिए । ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रोकिएका उनीहरू अहिलेसम्म जान सकेका छैनन् ।

प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन सामान्यतया एक वर्षको हुन्छ । नेपाल प्रहरीको सुडानमा एफपियू मिसन छ । जसको अवधि गत चैतमा नै सकिएको थियो । तर, बदली हुन सकेको छैन । कोरोना संक्रमणका कारण सुडानमा नयाँ टोली जान नसकेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । ‘अन्योलका कारण मिसनका लागि छनोट प्रक्रिया अहिले रोकिएको छ,’ उनले भने, ‘अनपोल (पर्यवेक्षक) मिसनमा जाने प्रहरी पनि जान पाएका छैनन् ।’ संक्रमणको जोखिमले राष्ट्रसंघले पनि बदली केही समयका लागि निरुत्साहित गरेको छ । 

नेपाल प्रहरी सुडान, दक्षिण सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक तथा मालीलगायत देशमा शान्ति मिसनमा खटिएका छन् । एक अधिकृत सोमालियाका लागि छनोट भएकोमा जान पाएनन् । 

केही दिनअघिको भारी वर्षात्का कारण बढेको नदी पार गर्न नसकेका स्थानीयलाई सहयोग गर्दै सुडानको डार्फरमा खटिएका नेपाल प्रहरी । तस्बिर : नेपाल प्रहरी

सुडानको एफपियू मिसन भने बन्द हुने तयारीमा छ । यही टोली अन्तिम हुन सक्ने जानकारी राष्ट्रसंघका अधिकारीहरूले गराएको स्रोतले जनाएको छ । 

त्यस्तै सशस्त्र प्रहरीको एफपियू मिसन पनि बदलीमा ढिलाइ भएको छ । गत वर्ष साउनमा दक्षिण सुडानमा गएको टोलीको एकवर्षे अवधि पूरा भइसकेको छ । केही ढिला भए पनि बदलीको तयारी भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले बताए । दक्षिण सुडानमा सशस्त्रका दुईवटा एफपियू मिसन छन् । दक्षिण सुडानमा कार्यरत १८ जना सशस्त्र प्रहरीमा संक्रमणसमेत देखिएको थियो । उनीहरू सबै निको भइसकेका छन् । 

नेपाली सेनाले भने नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी शान्ति मिसनमा खटिने सैनिकलाई लैजाने र अवधि पुगेकालाई ल्याउने गरिरहेको छ । सेनाबाट पनि पर्यवेक्षकका रूपमा जानेहरू नियमित रूपमा जान पाएका छैनन् । 

सुरक्षाकर्मीले शान्ति मिसनलाई महत्वपूर्ण अवसरका रूपमा लिने गरेका छन् । तर, पछिल्ला वर्ष यस्तो अवसर कम हुँदै गएको छ । केही वर्षयता राष्ट्रसंघलाई अमेरिकाले दिने बजेट कटौती भएपछि शान्ति मिसनमा समेत त्यसको असर देखिएको थियो । कोरोनाको संकटपछि राष्ट्रसंघ थप आर्थिक समस्यामा पर्ने र त्यसको असर शान्ति मिसनमा समेत पर्ने आकलन गरिएको प्रहरीको युएन शाखाका एक अधिकारीले बताए ।