मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ११ बिहीबार २०:१३:००
Read Time : > 1 मिनेट
समाचार

फेवाताल पुरिनबाट जोगाउन बनाएको चेकड्याम दुई महिनामै  भत्कियो

Read Time : > 1 मिनेट
२०७७ भदौ ११ बिहीबार २०:१३:००

पोखराको फेवाताल पुरिनबाट  जोगाउन निर्माण गरिएको चेकड्याम र सिल्ट्रेसन पोखरी निर्माण सकिएको करिब दुई महिनामै भत्किएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवातालमा मिसिने खोलाहरूको चार स्थानमा बनेका चेकड्याम र सिल्ट्रेसन पोखरी भत्किएको हो ।

हर्पन खोला, अँधेरी खोला, लौरुक र बेतयनी खोलाबाट आउने पानी फेवातालमा मिसिन्छ । यी खोलाहरूबाट वर्षायाममा करिब एक लाख ५० हजार घनमिटर गेग्रयान र सिल्ट तालमा आउने अनुमान छ । जसका कारण ताल पुरिँदै गएकाले ताललाई जोगाउन ती खोलालाट आउने गेग्रयान र सिल्ट रोक्न विभिन्न स्थानमा करिब २९ करोड लागतमा चेकड्याम र सिल्ट्रेसन पोखरी निर्माण गरिएको हो ।

पुस ०७६ मा शिलान्यास गरी डेढ वर्षमा सम्पन्न गर्ने गरी चेकड्याम र सिल्ट्रेसन पोखरी निर्माण थालिएको थियो । तर, निर्धारित समयभन्दा धेरैअघि सम्पन्न भएको थियो । छिटो काम सक्ने हतारमा कमसल सामग्री प्रयोग गरेका कारण ड्याम र सिल्ट्रेसन पोखरी भत्किन सुरु भएको स्थानीयको आरोप छ । निर्माण सकिए पनि निर्माण कम्पनीले महानगरलाई हस्तान्तरण भने गरेको छैन । 

चार स्थानमध्ये अँधेरी खोलामा लगाएको चेकड्यामको तारजाली भत्किएको छ । सोही स्थानको सिल्ट्रेसन पोखरीको पर्खाल केही स्थान जगदेखि भत्किएको र पोखरीको वरिपरिको पर्खालको ढुंगा उप्किन सुरु गरेका छन् । हर्पन खोलाको ड्याम पनि केही स्थानमा भत्किएको छ भने सिल्ट्रेसन पोखरीमा भ्वाङ परेको छ । अन्य स्थानका चेकड्यामका तारजालीसमेत भत्किएका छन् । 

चार स्थानमध्ये लौरुक, अँधेरी र हर्पन खोलाको ड्याम र पोखरी खड्का कृष्ण र पिके जेभी दाङले र बेतयनी खोलाको स्याङ्जाको गीता र जयनेपाल ईश्वर जेभीले बनाएका हुन् । 

ड्याम निर्माणसँगै प्रत्येक वर्ष पाँच लाख मेट्रिक टन गेग्रयान र ढुंगा, बालुवा सिल्ट्रेसन पोखरीबाट निकाल्न सकिने अनुमान गरिएको छ । पोखरी र ड्याममा जम्मा भएको बालुवा, गेग्रयान र ढुंगालगायतका नदीजन्य सामग्री बिक्रीबाट बर्सेनी २३ करोडभन्दा बढी रुपैयाँ आम्दानी हुने अनुमान महानगरको थियो ।

चार सय घरधुरी जोखिममा
सिल्ट्रेसन पोखरीको पर्खाल र चेकड्यामको तारजाली भत्किन सुरु भएसँगै तटीय क्षेत्रका बस्ती जोमिखमा परेका छन् । अँधेरी खोलाको सिल्ट्रेसन पोखरीको पर्खाल भत्किन सुरु भएपछि तटीय क्षेत्रका करिब चार सय घर जोखिममा परेको पोखरा महानगरपालिका– २३ का वडा सदस्य भरतराज भण्डारी बताउँछन् ।

समस्याबारे अध्ययन भइरहेको छ : महानगरपालिका
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली ठेकेदार कम्पनीकै कमजोरीका कारण समस्या आएको बताउँछन् । देखिएको समस्या समाधानका लागि महानगरको प्राविधिक टोलीले ड्यामको स्थलगत अध्ययन गरी समस्याबारे अध्ययनसँगै अब के गर्ने भन्ने निर्णय गर्ने उनले बताए ।