मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०७७ भदौ ११ बिहीबार १९:४२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश २ का सबै जिल्लामा १५ दिनभित्र पिसिआर मेसिन जडान गर्ने मुख्यमन्त्रीको घोषणा

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ भदौ ११ बिहीबार १९:४२:००

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १५ दिनभित्र प्रदेशका सबै जिल्लामा पिसिआर मेसिन जडान गरिसक्ने घोषणा गरेका छन् । कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न प्रदेश सरकार गम्भीर रहेको र प्रदेशका आठवटै जिल्लामा पिसिआर मेसिन जडानको तयारी भइरहेको उनले बताए । 

बिहीबार सर्लाहीको हरिवन आएका मुख्यमन्त्री राउतले जनताको जीवनको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताए । उनले भने, ‘जनचाहनालाई कदर गर्दै प्रदेश सरकारले आठवटै जिल्लामा पिसिआर मेसिन व्यवस्थापन गर्ने तयारी थालिसकेको छ ।’  पिसिआर मेसिनका साथै आवश्यक दक्ष जनशक्तिको पनि अभाव हुन नदिने उनले प्रतिबद्धता जनाए  । ‘जनता नै नरहे कसको लागि विकास गर्ने ?’ उनले भने, ‘हामी जनताको स्वास्थ्यप्रति चिन्तित छौँ, सबै पालिकाका जनप्रतिनिधिसमेत गम्भीर हुनुपऱ्याे ।’ 

मुख्यमन्त्री राउतले महामारी सुरु भएलगत्तै प्रदेशका प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत ५०–५० लाखको दरले रकम पठाए पनि खर्च हुन नसकेकोमा दुःख व्यक्त गरे । ‘हामीलाई दुःख लागेको छ,’ उनले भने, ‘स्वास्थ्य सामग्री खरिदलगायतको लागि रकम पठायौँ, तर खर्च गरेनन् ।’

सामाजिक विकासमन्त्री नवलकिशोर साहले पनि १५ दिनभित्र प्रदेशका आठवटै जिल्लामा पिसिआर मेसिन जडान गरेर प्रयोगमा ल्याइने प्रतिबद्धता जनाए ।