१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ११ बिहीबार १६:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय समितिले भन्यो– उद्धार गरिएका गर्भवती महिलाको मर्यादित र सुरक्षित व्यवस्थापन गर्नू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ११ बिहीबार १६:४२:००

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले विभिन्न देशबाट उद्धार गरिएका श्रमिकको सामाजिक पुनर्स्थापनामा समस्या आउन नदिने गरी व्यवस्थापन गर्न–गराउन, उद्धार गरिएका महिला गर्भवती भएको देखिएकाले उनीहरूको मर्यादित र सुरक्षित व्यवस्थापन गर्न शीघ्र कार्यविधि बनाई कार्यसम्पादन गर्न–गराउन ध्यानाकर्षण गराएको छ । 

समितिले गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको हो । 

समितिले खाडी मुलुकहरू इजरायल, मलेसिया र दक्षिण कोरियामा रहेका नेपाली श्रमिक महिलाले भोग्नुपरेको समस्या तथा कोभिड– १९ बाट सिर्जना भएको परिस्थितिबारे विभिन्न सम्बन्धित निकायहरूसँग बिहीबार भर्चुअल छलफल गरेको थियो । 

‘वैदेशिक रोजगारमा गएका महिला खासगरी खाडी मुलुकमा अवैधानिक रूपमा रहेका महिला कामदारको वास्तविक विवरणको अभाव हुनु र दूतावासमा सहज सम्पर्क हुन नसक्नुलगायतका कारण कोभिडको अवस्थामा स्वदेश फर्कन समस्या देखिन्छ । यो विषयलाई शीघ्रताका साथ समाधान गर्न, अलपत्रमा परेका घरेलु महिला कामदारको शीघ्र अद्यावधिक गर्न र गराउन, वैदेशिक श्रमिकको वर्गीकरण गरी आवश्यकताअनुसार उद्धार गर्ने व्यवस्था मिलाउन र कोभिडको कारण ज्यान गुमाउने बिरामीकाे उद्धार गरिकाएले विवरण अद्यावधिक गर्न, उद्धार गरिएकाको विवरण अद्यावधिक गर्न र गराउन, मनोसामाजिक परामर्शको व्यवस्था गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्यन, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सम्बन्धित दूतावास र वैदेशिक रोजगार बोर्डको ध्यानाकर्षण गराउँदछ,’ बैठकमा बोल्दै समिति सभापति निरुदेवी पालले भनिन् । 

समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या तीव्र गतिमा समाधान हुन नसकेको भन्दै यो विषयलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने र सम्बन्धित सरकारी निकायबीच आपसी समन्वय गरी समाधान गर्न पर्ने देखिएकोले तत्काल समाधानका लागि संयन्त्र बनाई कार्यसम्पादन गर्न भनेको छ । 

त्यसैगरी समितिले यस संयन्त्रमा गैरआवासीय नेपाली संघसमेतलाई सम्मिलित गराउन सम्बन्धित निकाय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सम्बन्धित दूतावास, वैदेशिक रोजगार बोर्डको ध्यानाकर्षण गराएको छ । 

सम्बन्धित देशमा रहेका दूतावाससँग छलफल गरी त्यसअनुसार उद्धारको स्पष्ट खाका बनाई उद्धार कार्यलाई व्यवस्थित गर्न गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सम्बन्धित दूतावास, वैदेशिक रोजगार बोर्डको ध्यानाकर्षण गराएको छ । 

समितिले अवैधानिक तवरबाट वैदेशिक श्रमका लागि हुने मानव बेचबिखन तथा तस्करी नियन्त्रणलाई आगामी दिन थप प्रभावकारी बनाउन र यस्ता गैरकानुनी क्रियाकलापलाई शून्यमा झार्न नीति बनाई कार्यान्वयन गर्न ध्यानकर्षणसमेत गराएको छ ।