१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ११ बिहीबार ०९:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अखाद्य चिनीलाई खानयोग्य प्रमाणित गर्ने खाद्य विभागकी महानिर्देशक वैद्यको सरुवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ११ बिहीबार ०९:०९:००

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ६० जना सहसचिवको सरुवा गर्दा वैद्यलाई कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार वरिष्ठ सहसचिवहरूको सरुवा गर्नेक्रममा वैद्यलाई सुर्खेतस्थित मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी दिने निर्णय भएको हो । उनीमाथि लकडाउनका वेला ७२ हजार किलो अखाद्य चिनी आयातमा चलखेल गरेको आरोपमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छुट्टाछुट्टै अनुसन्धान भइरहेको छ ।

आयात गर्नै नमिल्ने चिनी खानयोग्य भनी बनाएको प्रतिवेदनमा महानिर्देशक वैद्यको संलग्नता बाहिर आएपछि हेटौँडास्थित अख्तियारको कार्यालयले प्रारम्भिक प्रतिवेदन बनाई आयोगलाई बुझाइसकेको छ । सो प्रतिवेदनका आधारमा आयोगले थप अनुसन्धान गरिरहेको प्रवक्ता तारानाथ अधिकारीले बताए । मिति सकिएको र लेबल नभएको चिनीको गुणस्तर परीक्षण नै गर्नुनपर्ने कानुनी प्रावधानविपरीत विभागले परीक्षण प्रतिवेदन तयार गरी खानयोग्य रिपोर्ट दिएको थियो ।

यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको संयोजकत्व रहेको छानबिन समितिले घटनाको अध्ययन गरेको थियो । सो समितिले अखाद्य चिनी आयात गर्न महानिर्देशक वैद्यसहितका कर्मचारीको संलग्नता पुष्टि गर्दै कारबाही सिफारिस गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा मन्त्रालयमा वैद्यलाई दुईपटक स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरणमा चित्त नबुझेपछि मन्त्रालय झिकाएर थप अनुसन्धान गर्न सचिव राजेन्द्रप्रसाद भारीले मन्त्री घनश्याम भुसाललाई सिफारिस गरेका थिए ।

खाद्य विभागका बहालवाला महानिर्देशकको सरुवा भएको यो पहिलोपटक हो । विभागमा अन्यत्रबाट कर्मचारी लैजान नमिल्ने र विभागका कर्मचारीसमेत कृषि मन्त्रालयबाहेक अन्यत्र जान मिल्दैन । त्यसैले महानिर्देशकको बढुवा भएपछि मात्रै नेतृत्व हेरफेर हुने गरेकोमा यसपटक वैद्यको गतिविधि सन्तोषजनक नहुँदा सरुवा भएको हो । ‘खाद्य विभागका बहालवाला डिजी सरुवा भएको यो पहिलो घटना हो ।

यसअघि सचिवमा बढुवा भएपछि वा कारबाही भोगेर बाहिरिएपछि मात्र नयाँ नेतृत्व आउने गरेको थियो,’ विभागका एक कर्मचारीले भने । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार वैद्यलाई बढुवा गरेर सरुवा गरेको होइन । वैद्यलाई एक किसिमको कारबाही नै भएको ती कर्मचारीको भनाइ छ । वरिष्ठताका आधारमा पाँचौँ नम्बरमा रहेकी वैद्यलाई सरुवा गरेर कारबाहीको संकेत दिएको मन्त्रालयको भनाइ छ । 

याे पनि पढ्नुहाेस् : अखाद्य चिनीलाई खान योग्य प्रमाणित गर्ने महानिर्देशकलाई कारबाहीको तयारी