मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ १० बुधबार १६:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना संक्रमणको उच्च जोखिममा एचआइभी संक्रमित

Read Time : > 1 मिनेट
२०७७ भदौ १० बुधबार १६:०९:००

सामाजिक अवहेलनाको डरले आफू एचआइभी संक्रमित रहेको कुरा श्रीमतीलाई समेत नबताइरहेका एचआइभी संक्रमितहरू कोरोना भाइरस संक्रमणको समेत उच्च जोखिममा रहेका छन् । 

यौनिक अल्पसंख्यकको अधिकार तथा एचआइभीविरुद्ध काम गरिरहेको लहानस्थित जीवनज्योति समाजले एचआइभी संक्रमितहरू बहिष्कार हुने डरले गोप्य रूपले एआरटी सेन्टरको सम्पर्कमा रहेर औषधि सेवन गर्ने, तर अन्य स्वास्थ्यसम्बन्धी समस्या हुँदा जाँच गर्न नै हिच्किचाउने भएकाले कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनाएको छ । ‘हामो सम्पर्कमा रहेका यौनिक अल्पसंख्यकहरूलाई गोप्य रूपमा भेटेर कोरोना महामारीको वेलामा त्यसको जाँच गर्न सुझाउँदा मान्दैनन्,’ समाजका लक्ष्मेश्वर यादवले भने, ‘एचआइभी संक्रमित हुँदाहुँदै कुनै कारणले कोरोना संक्रमण भएको रहेछ भने पनि थाहा नपाउँदा समस्या हुने भयो ।’

नर्तकहरू बढी संक्रमित
सामान्य अवस्थाको वेलामा भारतका विभिन्न ठाउँमा पुगेर नर्तकको काम गर्ने समलिंगी तथा तेस्रोलिंगीहरूमध्ये अधिकांश एचआइभी संक्रमित रहेको यादव बताउँछन् । ‘कतिपयले श्रीमतीलाई समेत ढाँटेर बसेका छन्,’ यादवले भने, ‘श्रीमतीसमेत संक्रमित भएर मरेपछि अर्की युवती झुक्याएर विवाह गर्ने, उनलाई पनि संक्रमण भएपछि सामान्य ज्वरो आउँदासमेत स्वास्थ्य संस्थामा जान नमान्ने भएकाले कोरोना भइहालेमा समस्या हुँदैन त ?’ 

नर्तकको काम गर्ने सिराहाको ग्रामीण भेगका ५६ वर्षीय पुरुषले आफू संक्रमित भएको श्रीमतीलाई पनि ढाँट्दा नौ वर्षअघि श्रीमती पनि एचआइभी संक्रमित भएर मरेको उनले बताए । श्रीमती मरेपछि नौ वर्षअघि विवाह गरेकी कान्छी श्रीमती पनि संक्रमित छन्, तर सात वर्षकी छोरीमा एचआइभी छैन । दुवैजनाले नियमित रूपमा एआरटी सेवन गरिरहेको भए पनि सामान्य स्वास्थ्यसम्बन्धी समस्या हुँदा सामाजिक अवहेलनाको डरले जाँच्न जानै नचाहेर काउन्सिलिङ गर्न पनि समस्या हुने गरेको उनले बताए । 

ठाउँ फेरेर एआरटी सेवन गर्दा जोखिम
संक्रमित व्यक्तिसँगको असुरक्षित यौनसम्पर्क, रगत तथा रगतजन्य पदार्थको सम्पर्क तथा संक्रमित गर्भवती आमाबाट संक्रमित भएकाहरू सकेसम्म खुल्नै नचाहने समस्याले ठाउँ फेरेर एआरटी सेवन गर्दा पनि कोरोना संक्रमणको जोखिम रहेको उनले बताए ।

‘एचआइभी संक्रमितप्रति गरिने व्यवहारको कारणले सिराहाका एचआइभी संक्रमित प्रायः जनकपुर र सप्तरी, उदयपुरका संक्रमितहरू लहानबाट एआरटी सेवन गरिरहेका छन्,’ उनले भने, ‘सिराहा जिल्लाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मात्र रहेको एआरटी सेन्टरमा आउने बहुसंख्यक संक्रमित सप्तरी र उदयपुरका एचआइभी संक्रमितहरू छन् ।’   

लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल, एआरटी सेन्टरका फोकल पर्सन हरेराम महतोका अनुसार लहानमा दुई सय ६२ जनाको नाम दर्ता रहेको भए पनि दुई सय ३१ जना मात्र नियमित सम्पर्कमा रहेको बताए । फोकल पर्सन महतोका अनुसार गत आ.व. ०७६/७७ को असार मसान्तसम्म एक सय १८ पुरुष, ९४ महिला, १४ वर्षमुनिका १० बालबालिका, एकजना तेस्रोलिंगी सेन्टरको नियमित सम्पर्कमा छन् । त्यसबाहेक आठजना सम्पर्कबाहिर रहेको उनले बताए ।