१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ १० बुधबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविद्वारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ १० बुधबार १४:१०:००

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड– १९) का कारणले कक्षाकोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कुल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका छन् । 

उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेका छन् ।

‘त्रिविले कोभिड– १९ को संक्रमण नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आकलन गरी गत चैतको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीको इमेलको ठेगाना बनाई अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘तर, हालसम्म पनि कतिपय विद्यार्थी आफू अध्ययनरत विभाग तथा क्याम्पसको सम्पर्कमा नआएको जानकारी प्राप्त हुन आएको हुँदा पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको छ । त्यसैले चाँडोभन्दा चाँडो विद्यार्थीलाई पठनपाठनमा सहभागी हुन अनुरोध गरिएको हो ।’

त्रिविका सम्पूर्ण विभाग, स्कुल, क्याम्पस प्रशासन, डिन कार्यालयसमेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकता साथ लागिपर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउनसमेत अनुरोध गरिएको छ ।

त्रिविले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड– १९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्यनजर राखी गत चैत ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षा स्थगन गरिएको छ ।