Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ १० बुधबार १०:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१० दिनदेखि रसुवागढी नाका ठप्प, शुक्रबारबाट सञ्चालनको तयारी

Read Time : > 1 मिनेट
२०७७ भदौ १० बुधबार १०:१३:००

चीनतर्फ गएको पहिरोका कारण अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी १० दिनदेखि ठप्प भएको छ । चीनको केरुङभन्दा वर ठोङ्सामुनिको घुम्ती र रसुवागढी नाकानजिकै चीनतर्फको भूभागमा पहिरो गएपछि ३२ साउनदेखि नाका ठप्प भएको हो । शुक्रबारसम्ममा नाका सञ्चालनमा आउने गरी काम भइरहेको चिनियाँ पक्षले जानकारी दिएको रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए ।  

सोमबार रसुवागढी नाकास्थित मितेरीपुलमा भएको सीमा सुरक्षासम्बन्धी बैठकमा चिनियाँ पक्षले नेपालको स्वास्थ्य सुरक्षामाथि प्रश्न उठाएको भन्सार प्रमुख खड्काले बताए । ‘नेपालतर्फ कोरोना लागेका व्यक्तिहरू रहेको र आवतजावत सबैतिर भइरहेको गलत सूचना पुगेको रहेछ,’ उनले भने, ‘हामीले बैठकमा गलत सूचना रहेको र आत्तिनुपर्ने कुनै पनि समस्या नरहेको प्रस्ट पारेका छौँ ।’ त्यस्तै बैठकमा चिनियाँ पक्षले नाकामा काम गर्ने कन्टेनरचालक र कामदारको पिसिआर रिपोर्ट माग गरेका छन् । 

त्यस्तै, चिनियाँ पक्षले नेपाल पठाउने सामानको परिमाण बढाउने बताएको छ । एकतर्फी नाका सञ्चालनमा आएदेखि चिनियाँ पक्षले मितेरीपुलमा नै ल्याएर सामान छोडिदिने गरेको थियो । तर, अब नेपालतर्फको भूभागमा सुरक्षित ल्याइदिने बताएका छन् । उनले भने, ‘ठाउँ खुला गर, पुलमा मात्र होइन, पारिपट्टि सामान ल्याएर १६ घन्टा काम गर्छौँ । ८–८ घन्टाको सिफ्टमा कर्मचारी राखिदिन्छौँ । त्यता पनि त्यही व्यवस्था गर्नु भनेको छ ।’ 

 सामानको आयात दोब्बरले बढाउने भएपछि चीनको ल्हासाबाट एक टोलीले रसुवागढीस्थित नेपालतर्फको भूभागको अनुगमन गर्नेसमेत बताइएको छ । लामो समयदेखि बन्द रहेको नाका करिब एक महिनाअघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । एकतर्फी रूपमा नाका सञ्चालन गरेको चीनले दैनिक आफ्ना ४ वटा गाडीमा रसुवागढी नाकाको मितेरीपुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको थियो ।  

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कनेछन् । मितेरीपुलमा सामग्री लोड–अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट लगाएका कामदार खटिएका छन् । चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ । नेपाली पक्षले सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटाएका छन् । मितेरीपुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पुऱ्याउने काम गर्छन् । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजाने गरेका थिए ।