१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
डा. हितेश कुमार भट्टराई
२०७७ भदौ १० बुधबार ०९:४०:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कस्तो छ कोरोना भाइरस ?

भाइरसले पुनरुत्पादन गर्न चाहिने प्रविधि र सामग्री दुवै अर्काे जीव (संक्रमित)बाट प्रयोग गर्छ

Read Time : > 6 मिनेट
डा. हितेश कुमार भट्टराई
२०७७ भदौ १० बुधबार ०९:४०:००

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै काठमाडौंमा कडा लकडाउन (निषेधाज्ञा) गरेको पनि एक हप्ता हुन लागेको छ । देशव्यापी रूपमा हरेक दिन पाँच सयभन्दा बढी संक्रमितहरू भेटिइरहेका छन् । लकडाउन पूर्ण रूपले खोलिनसकेको अवस्थामै हामी अहिलेको विषम अवस्थामा कसरी आइपुग्यौँ ? यो महाव्याधिलाई गम्भीरतापूर्वक लिन नसकेकाले यो अवस्था आइपरेको हो कि ? कहाँ चुक्यौँ हामी ? यी प्रश्नको जवाफका लागि हामी इतिहासका र हालसालैका अरू देशका अनुभव नियाल्न सक्छौँ । 

अहिलेको कोरोनासँग मिल्दोजुल्दो विश्वव्यापी माहामारी खोज्न सय वर्ष अगाडि जानुपर्ने हुन्छ । त्यसवेला स्प्यानिस फ्लुको महामारीले विश्वभर पाँच करोडभन्दा बढी मान्छे मारेको आकलन छ । त्यस समय, महाव्याधिविरुद्ध कुनै अचुक औषधि थिएन, तर सामाजिक दूरीको अवधारणा त्यति वेला पनि थियो । अध्ययनका अनुसार जुन स्थानहरूमा व्यवस्थित सामाजिक दूरीको नियम लागू गरिए, ती स्थानमा मानवीय क्षति कम भएको थियो ।

माहामारीको तीनवटा लहर (वेभ) चलेको थियो । अहिले काठमाडौं तथा देशव्यापी रूपमा राँकिएको माहामारीलाई दोस्रो वेभको रूपमा हेर्न सकिन्छ । लकडाउन खोल्नुअघि सरकारका प्रवक्ता जागेश्वर गौतमले तथ्यांकहरू उद्धृत गर्दै माहामारी कम भएको उद्घोष गरेका थिए । सोहीअनुसार लकडाउन हटाइयो । तर, माहामारीले भने झन्–झन् उग्र रूप लिँदै गएको छ । अनुमान गर्न सकिन्छ, जबसम्म खोप बन्दैन वा संक्रमण प्रायः सबैलाई लागेर हर्ड इम्युनिटीको अवस्था सिर्जना हुँदैन, माहामारी यसरी नै घट्ने, बढ्ने भइरहने अमेरिका तथा कोरियाजस्ता राष्ट्रहरूको अनुभवले देखाउँछ । 

प्रकोपको मुहान वुहानमा नै यो भाइरसको संक्रमकताको परिणाम देखिसकेको अवस्थामा जुन गम्भीरतासँग हामीसमेत बाँकी विश्वले कोरोना भाइरसलाई लिनुपर्ने थियो, त्यो हुन नसक्दा जनधनको उच्चस्तरको क्षतिले निरन्तरता पाइरहेको छ । यसको संक्रमकता र सुरक्षाका उपायबारे आमजनतालाई जसरी प्रशिक्षित गर्नुपर्ने थियो, त्यसमा केही कमी भयो । या त यसलाई धेरै डरलाग्दो रूपमा लिइयो या ज्यादै हलुका रूपमा लिइयो । फलस्वरूपः यसको असरको दायरा फराकिलो भयो । यसर्थ, यस आलेखमा आममानिसले बुझ्ने भाषामा यो भाइरसबारे जानकारी दिन खोजेको हुँ । 

कोरोना भाइरस क्रमागत विकासको दर कम भएको भाइरस हो । त्यसअनुसार यसविरुद्ध खोप बनाउन सजिलो हुनुपर्ने हो ।

सन् २०१९ को अन्तिमतिर चीनको वुहानस्थित एक अस्पतालमा ज्वरो, खोकी, छातीमा पीडा र कमजोरीका लक्षण भएका ४१ वर्षीय बिरामी भर्ना हुन्छन् । उनको परीक्षणले श्वास–प्रश्वासकै समस्या देखाउँछ । तर, धेरैथरीका परीक्षणका बाबजुद रोगको मूल कारण पत्ता लाग्दैन । अनेक औषधिको प्रयोगले समेत केही उपाय लाग्दैन । आखिर बिरामीलाई कृत्रिम श्वास–प्रश्वास दिनुपर्ने अवस्था आउँछ ।

रोग पत्ता लगाउन फोक्सोबाट पानी निकालेर चीनको सांघाई पठाइन्छ । कुन–कुन विषाणु भेटिन्छन् भनेर खोजी गर्दा पहिले कहिल्यै नभेटिएको, २००३ मा देखिएको सार्स भाइरससँग मिल्दोजुल्दो नयाँ भाइरस भेटिन्छन् । नयाँ भाइरस पत्ता लागेको  प्रतिष्ठित जर्नल ‘नेचर’मा छापिन्छ । पत्ता लागेको केही समयमै यो नयाँ भाइरस विश्व भ्रमणमा निस्किसकेको हुन्छ । जुन भाइरसको नाम सार्स कोरोना भाइरस–२ राखिन्छ र त्यसबाट लाग्ने रोगको नाम कोरोना भाइरस डिजिज–०१९ (छोटकरीमा कोभिड–१९) रहन पुग्छ । हामी धेरैलाई रोगका लक्षणबारे त धेरेथोर थाहा छ, तर रोग लगाउने यस परजीवीबारे थाहा नहुन सक्छ । रोग लगाउने तत्व एक किसिमको भाइरस हो, तर भाइरस भनेकोचाहिँ के हो ? 

भाइरस भनेको के हो ? : कुनै पनि चिजलाई सजीव र निर्जीवमा वर्गीकरण गरिन्छ । बाघ, पक्षी, घाँस, ढुंगाजस्ता चिजको वर्गीकरण सजिलो हुन्छ । विज्ञानका पाठ्यपुस्तक लेखक लेनिन्जरका अनुसार जीवित हुनका लागि कुनै पनि वस्तुमा ६ ओटा गुण हुनुपर्छ । विशेष रासायनिक तथा सूक्ष्म गुण, ऊर्जा निकाल्न र प्रयोग गर्नका लागि आवश्यक प्रक्रिया, पुनरुत्पादनका लागि आवश्यक प्रक्रिया, वातावरण महसुस गरी प्रतिक्रिया दिने क्षमता, आफ्ना प्रणालीबीच अन्तर्क्रिया र क्रमागत विकास गर्ने क्षमता । भाइरसलाई जीव अथवा निर्जीवमा सहज तरिकाले छुट्याउन सकिन्न, यसमा जीव तथा निर्जीव दुवैका गुण हुन्छन्, त्यसैले भाइरस द्वैध अस्तित्व हो । 

रासायनिक तथा सूक्ष्म गुण : जीवित वस्तु हुनका लागि आवश्यक पर्ने रासायनिक गुणमा दुई प्रकारका जैविक तत्व आउँछन् । एक प्रकारको तत्वमा ‘आरएनए’ अथवा ‘डिएनए’ पर्छ, जसले जीव कस्तो बन्छ भन्ने कुरा निर्देशित गर्छ । अर्को प्रकारको तत्वमा प्रोटिन पर्छ, जसले ‘आरएनए’ अथवा ‘डिएनए’बाट निर्देशित भएर जीवको निर्माण गर्छ । सरल भाषामा भन्ने हो भने जीव एउटा घर हो भने ‘डिएनए’ तथा ‘आरएनए’ भनेका घरका नक्सा हुन् । प्रोटिन भनेको घरका इँटा, गिट्टी र सिमेन्ट हुन् । भाइरसमा अन्य जीवमा जस्तै यी दुई प्रकारका रासायनिक तत्व हुन्छन् । तर, कुनै जीव र भाइरसमा यी रसायनको मात्रा भने निकै फरक हुन्छ । मानवमा २० हजार किसिमका प्रोटिन पाइन्छन्, एकथरीको ब्याक्टेरियामा दुई हजार थरीका प्रोटिन पाइन्छन् भने कोरोना भाइरसमा ३० भन्दा कम थरीका प्रोटिन पाइन्छन् । जीवित वस्तु हुनका लागि आवश्यक पर्ने सूक्ष्म गुणका अनुसार सबै जीव कोषबाट बनेका हुन्छन् । भाइरस भने कोषबाट बन्दैन । कोरोना भाइरसको आकार कोषभन्दा सानो हुन्छ । सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा यो गोलो आकारको सतहबाट निक्लेको जस्तो देखिन्छ । 

ऊर्जा निकाल्ने र प्रयोग गर्ने तरिका : जीवित वस्तु हुनका लागि आवश्यक पर्ने एक गुणअनुसार हरेक जीवको ऊर्जा निकाल्ने आफ्नै तरिका हुन्छ । रूख, घाँसजस्ता जीव सूर्यको शक्तिबाट सञ्चालित हुन्छन् । बाघ, मानवजस्ता जीव खानाबाट शक्ति सञ्चय गर्छन् । भाइरस भने ऊर्जाका लागि पूर्ण रूपमा अर्को जीवमा आश्रित हुन्छ । भाइरसले ठूला–साना सबै प्रकारका जीवलाई सक्रमण गर्छ । ब्याक्टेरियाजस्ता सूक्ष्म जीवमा पनि संक्रमण गर्ने भाइरस पाइन्छन् । जीव विज्ञान भाइरसको उत्पत्ति जीवको उत्पत्तिसँगै भएको हो भन्छ । 

पुनरुत्पादनको क्षमता : जीवित हुनका लागि आवश्यक पर्ने गुण पुनरुत्पादनको क्षमता भाइरसमा पनि हुन्छ । पुनरुत्पादन नगरी कुनै पनि जीवले अस्तित्व कायम राख्न सक्दैन, कोही पनि अजर–अमर हुँदैन । प्रजननका लागि मैथुनिक र अमैथुनिक प्रक्रिया हुन्छन् । भाइरसले पुनरुत्पादन गर्न एकदम सजिलो अमैथुनिक प्रक्रिया अपनाउँछ । चाखलाग्दो कुरा के छ भने यो भाइरसले पुनरुत्पादन गर्न चाहिने प्रविधि र सामग्री दुवै अर्काे जीव (संक्रमित)बाट प्रयोग गर्छ । भाइरसले संक्रमित जीवको प्रोटिन बनाउने प्रक्रियामाथि कब्जा गर्छ र आफ्नो प्रोटिन बनाउन प्रयोग गर्छ । कोरोना भाइरसको ‘आरएनए’ बनाउने प्रक्रिया भने भाइरस आफूसँगै हुन्छ । 

वातावरणप्रति प्रतिक्रिया दिने क्षमता : जीवित हुनका लागि आवश्यक पर्ने गुणहरू कुनै भाइरसमा पाइन्छ, कुनैमा नपाउन पनि सकिन्छ । इकोली भन्ने ब्याक्टेरियालाई संक्रमण गर्ने एउटा भाइरस वातावरणको अनुकूलता नियालेर आफ्नो व्यवहार परिवर्तन गर्छ । सबै भाइरसमा वातावरणको प्रतिक्रिया दिने क्षमता नहुन सक्छ । आफ्ना प्रणालीबीच अन्तर्क्रिया गर्न सक्ने क्षमता भने धेरै भाइरसमा पाइन्छ ।

क्रमागत विकास : जीवित वस्तु हुनका लागि आवश्यक पर्ने गुण क्रमागत विकासको क्षमता भने सबैजसो भाइरसमा पाइन्छ । भाइरसले आफ्नो नयाँ ‘डिएनए’ अथवा ‘आरएनए’ बनाउँदा गल्तीहरू हुन्छन्, जुन जम्मा भएपछि नयाँ भाइरस बन्छ । अहिले आएको मानवमा लाग्ने कोरोना भाइरस पनि चमेरो जातिको भाइरसबाट क्रमागत विकास भई बनेको अनुमान छ । कतिपय भाइरसको क्रमागत विकासको दर तीव्र हुन्छ । फ्लु यस किसिमको भाइरस हो ।

तीव्र क्रमागत विकास भएको कारणले नै हरेक वर्ष फ्लुको नयाँ खोप बनाउनुपर्ने हुन्छ । तीव्र क्रमागत विकासका कारण नयाँ कोरोना भाइरस बन्यो भन्ने समाचार नआएका होइनन् । तर, विज्ञहरूका अनुसार ती समाचारमा धेरै सत्यता छैन । कोरोना भाइरस क्रमागत विकासको दर कम भएको भाइरस हो । त्यसअनुसार यसविरुद्ध खोप बनाउन सजिलो हुनुपर्ने हो । यी सबै गुण नियाल्दा भाइरसमा जीव र निर्जीव दुवैका लक्षण पाइन्छ । छोटकरीमा भन्दा संक्रमित जीवविना भाइरसको अस्तित्व रहन्न । कम्प्युटरमा पनि भाइरस पाइन्छ । कम्प्युटरको भाइरस र जीव विज्ञानको भाइरसमा थुप्रै समानता पाइन्छ । कम्प्युटरको भाइरस सानो सफ्टवेयर हो, जसको अपरेटिङ सिस्टमविना अस्तित्व रहन्न । 

कोरोना भाइरस के हो ? : भाइरसलाई विभिन्न तरिकाले विभाजन गर्न सकिन्छ । एउटा तरिका भाइरसको रूपरेखा निर्धारण गर्ने सूचना केमा भण्डारण भएको हुन्छ भन्ने हो । सूचनाको भण्डारण ‘डिएनए’ र ‘आरएनए’का विभिन्न रासायनिक स्वरूपमा हुन्छन् । कोरोना भाइरस ‘आरएनए’ भाइरस हो । आरएनएले भाइरसका २७ जति मुख्य प्रोटिन कस्ता हुने भन्ने निर्धारण गर्छ । कोरोना भाइरसका प्रोटिनहरू तीन प्रकारका छन् : भाइरसका पार्टपुर्जा बनाउने, भाइरसको प्रजननमा सहयोग पुर्‍याउने र बाँकी सहयोगी प्रोटिनहरू । 

भाइरस बनाउने चारवटा प्रोटिन हुन्छन्– एस, एन, ई र एम । चारमध्ये एस र एनको भाइरसमा महत्वपूर्ण भूमिका हुन्छ । एसले भाइरसको ‘रिसेप्टर’ बनाउँछ । साधारणतया भाइरस गोलो आकारको हुन्छ । गोलो भाइरसबाट एस प्रोटिन गदाजस्तो बाहिर निक्लिएको हुन्छ । यसले मानवको एस २ रिसेप्टरलाई साँचोले तालालाई चिनेजस्तै चिन्छ र जोडिन पुग्छ । यो कोरोना भाइरसको एस मानवीय एस २ सँग राम्रोसँग जोडिने भएकाले नै मानवमा यो भाइरस एकदम छिटो सरेको हो भन्ने विज्ञहरूको बुझाइ छ । यही एस प्रोटिनको क्रमागत विकास भएकाले यो भाइरस चमेराबाट मानवमा सरेको हो भन्ने पनि बुझाइ छ । अर्को एन प्रोटिन भने भाइरसको ‘आरएनए’लाई बचाएर राख्न काम लाग्छ । 

भाइरसको वृद्धिमा सहयोग पुर्‍याउने जम्मा १६ वटा प्रोटिन छन् । यी प्रोटिन बन्दा सबै जोडिएको रूपमा बन्छन् । पछि प्रोटिनद्वारा नै काटिएर १६ टुक्रा बन्छन् । यी १६ प्रोटिनले भाइरसका लागि विभिन्न कार्य गर्छन् । दुइटाले प्रोटिन टुक्रा पार्ने काम गर्छन् । एउटाले ‘आरएनए’ का अरू प्रति बनाउँछ । नक्कल प्रतिहरू बनाउन अरू दुईवटा प्रोटिनले सहयोग पुर्‍याउँछन् । यस्ता प्रति बनाउँदा गल्ती भएमा फेरि अर्कोले सच्याउँछ । फेरि अर्कोले ‘आरएनए’लाई टुक्रा–टुक्रा बनाउँछ । अरू दुईवटा प्रोटिनले ‘आरएनए’ को अगाडि चिह्न राख्न सहयोग पुर्‍याउँछन् । यो चिह्न भाइरसको ‘आरएनए’लाई मानवका प्रोटिनबाट बचाउन महत्वपूर्ण हुन्छ । अरू केही प्रोटिनले यी सारा प्रोटिनलाई भाइरसको अरू प्रति बनाउन सहयोग गर्छन् । अन्य सहयोगी प्रोटिनको संख्या ठ्याक्कै आकलन गर्न गाह्रो छ । तथापि कम्तीमा पनि सातवटा प्रोटिन भने भेट्टिएका छन् । यी प्रोटिनले भाइरसमा के काम गर्छन् भनी ठम्याउन सकिएको छैन । यिनीहरू धेरैजसोले मानव शरीरको प्रतिरोधात्मक क्षमतालाई असर गर्छन् तथा भाइरसलाई मानवको प्रतिरोधात्मक क्षमताबाट बचाउन सहयोग गर्छन्।

भाइरस चीनमा पत्ता लागिसकेपछि विश्वभरि यसका प्रोटिनको अनुसन्धानको होडबाजी नै चलेको छ । प्रोटिनको कार्य र रूप पत्ता लगाउन जरुरी हुन्छ । अनुसन्धानले भाइरस कस्तो हो भन्ने मात्र पत्ता लाग्दैन, भाइरसविरुद्ध औषधि र खोप बनाउन पनि सहयोग पुग्छ । यस्ता कति अनुसन्धानका लागि जटिल प्रयोगशालाको पनि आवश्यक पर्दैन । सामान्य किसिमका अनुसन्धानबाट सुरु गरी जटिल किसिमका अनुसन्धान गर्ने क्षमता विकास गर्नका लागि आवश्यक पर्ने सरकारी तथा गैरसरकारीस्तरमा गरिने लगानी तथा साझेदारीको सम्बन्धमा नेपाली वैज्ञानिक, सरकारी तथा गैरसरकारी निकायको ध्यान जाओस् ।

(लेखक काठमाडौं विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उप–प्राध्यापक हुन् )