१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
आन्दोलनमा सहभागी नर्सहरु । 
२०७७ भदौ ९ मंगलबार १८:१४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पञ्जा, मास्कसमेत नपाएको भन्दै बिपी प्रतिष्ठानका नर्स आन्दोलित 

Read Time : > 2 मिनेट
२०७७ भदौ ९ मंगलबार १८:१४:००

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सरकारले तेस्रो लेभलको उत्कृष्ट कोभिड अस्पतालको रूपमा घोषणा गरेको छ । तर, कमजोर व्यवस्थापनका कारण यहाँ काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीले असुरक्षित महसुस गरेको बताइरहेका छन् । 

कोरोना संक्रमणबाट बच्न आवश्यक प्राथमिक सुरक्षा सामग्री पञ्जा, मास्कसमेत अभाव रहेको भन्दै स्टाफ नर्सहरूले आन्दोलन नै थालेका छन् । यसअघि जुनियर रेसिडेन्टहरूले पनि सेवासुविधा र सुरक्षाको माग गर्दै आएका छन् । सोमबार आइसियूमा कार्यरत नर्सहरूले आसियूमा असुरक्षा भएको भन्दै आन्दोलन गरेका हुन् ।

मंगलबार आइसियू, प्रसूति विभागलगायतमा काम गर्ने नर्सहरूले विभिन्न १६बुँदे माग अघि सार्दै प्रतिष्ठानको ओपिडी काउन्टरअगाडि नाराबाजी गरेका छन् । दुई दिनभित्र प्रशासनले माग पूरा नगरे कार्यस्थल छाड्नेसमेत उनीहरूले चेतावनी दिएका छन् । उनीहरूको आन्दोलनमा हेल्पर र हेल्थ सहायकहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

माग पूरा नभए बुधबार कालोपट्टी बाँधेर काम गर्ने र बिहीबार पनि सुनुवाइ नगरे काम ठप्प पार्ने चेतावनी दिएका छन् । आन्दोलित नर्सहरूका प्रतिनिधि र प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, मेट्रोन उपेन्द्र यादवसँग मागहरूको विषयमा छलफल भए पनि कुनै निष्कर्ष नआएको एक नर्सले जानकारी दिइन् । 

यस्ता छन् नर्सका समस्या 
कोभिड उपचार अस्पतालमा काम गर्ने स्टाफ नर्सहरू, कर्मचारी, चिकित्सकहरूका लागि निम्नतम सुरक्षा मापदण्ड अपनाइएको छ । तर, इमेर्जेन्सीबाट विभिन्न विभागमा आउने बिमारी उपचारको क्रममा कुनै सुरक्षा मापदण्ड नअपनाइएको उनीहरूको गुनासो छ ।

उनीहरूका अनुसार संक्रमित बिरामीसँग सम्पर्कमा रहेका नर्सहरूलाई क्वारेन्टिनको व्यवस्था छैन । घर जाँदा परिवारका सदस्यहरू पनि संक्रमणको उच्च जोखिममा छन् । केही दिनअघि प्रतिष्ठानको एमआइसियू विभागमा एक महिला संक्रमित हुँदा नौजना नर्समा संक्रमण फैलिएको थियो । तीमध्ये प्रतिष्ठानको आवासबाहिर बस्नेहरूबाट समुदायमै संक्रमण फैलिएको थियो । धरान १६ र १५ का दुई नर्सबाट परिवारमा संक्रमण फैलिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । प्रतिष्ठानको लापरबाहीले समुदायमा समेत असर परेको उनको भनाइ छ । 

ज्यान जोखिममा पारेर काम गरिरहेका छौँ । तर, हामीलाई बिमारीको उपचारमा खटेर क्यारेन्टिनमा समेत बस्ने व्यवस्था छैन । मास्क, पञ्जालगायत सामान्य सुरक्षा सामग्री पनि पर्याप्त छैन । कसरी काम गर्ने ?’ एक नर्सले भनिन्र, ‘कोभिड अस्पतालजस्तै सबै स्थानमा सुरक्षा मापदण्ड अपनाएर काम लगाउनुपर्छ ।’ उपचार गर्दै जाँदा संक्रमित फेला परे डाक्टरलाई क्यारेन्टिनमा पठाए पनि नर्सहरुरूलाई भने दैनिक ड्युटीमा आउनुपर्ने, क्यारेन्टिनमा बस्ने व्यवस्था पनि नगरेको उनीहरूको गुनासो छ । 

यी हुन् नर्सहरूका माग
सरकारले बढाएको २० प्रतिशत तलब  वितरण गर्न, पिपिई दिएर मात्र काममा खटाउनुपर्ने, कोरोना बिमाको व्यवस्था गर्नुपर्ने, कोरोना शंकास्पद बिरामीहरूको पिसिआर रिपोर्ट तत्काल डिस्प्याच गर्ने व्यवस्था मिलाउन उनीहरूको माग छ । 

अस्पतालका निर्देशक प्राडा गौरीशंकर साहले उनीहरूको मागको विषयमा माथिल्लो निकायलाई जानकारी गराएको बताए । क्वारेन्टिनको विषयमा सोमबार १५ जनाका लागि व्यवस्था गरिएको पनि जानकारी दिए । जोखिम भत्ता सबैले पाउने पनि जानकारी गराइसकेको उनको भनाइ छ । पञ्जा, मास्कजस्ता साना विषयमा तत्काल पूरा गर्न निर्देशन दिएको प्राडा साहले जानकारी दिए । 

बिपीका पदाधिकारीहरूलाई मुख्यमन्त्री राईको निर्देशन 
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंगलबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बोलाएर छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट आएका गुनासो सम्बोधन गर्न मुख्यमन्त्री राईले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई निर्देशनसमेत दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलाई भने छलफलमा बोलाइएको थिएन । 

यस्तै मुख्यमन्त्री राईले बिपीका पदाधिकारीलाई कोभिड र अन्य बिरामीलाई छुट्टाछुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन पनि दिए । उनले बिरामीको राम्रो उपचार गराउन र आएका बिरामीलाई नफर्काउनसमेत निर्देशन दिए ।