मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ८ सोमबार १८:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङमा थप एक साताका लागि निषेधाज्ञा

Read Time : < 1 मिनेट
२०७७ भदौ ८ सोमबार १८:१२:००

बाग्लुङ नगरपालिकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । ३ भदौदेखि जारी निषेधाज्ञा एक साता लम्ब्याएर १५ भदौसम्म पुऱ्याइएको हो । 

विशेषतः सदरमुकाम बाग्लुङ बजार क्षेत्रमा कोरोना संक्रमण जोखिम झनै बढेको भन्दै थप सजकता तथा कन्ट्याक्ट ट्रेसिङका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सोमबार सम्पन्न बैठकले थप एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । 

लक्षण नदेखिएका संक्रमित विद्यालयको आइसोलेसनमा
बैठकले यसअघि सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरू पनि पूर्ण रूपमा बन्द गर्ने र अत्यावश्यक खाद्यान्न, तरकारीलगायतका पसल दिनको एकपटक बिहान ७–९ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । आगामी दिनमा कोरोना लक्षण देखिएका संक्रमितलाई मात्र धौलागिरि अञ्चल अस्पताल र धौलागिरि बहुमुखी क्याम्पसको आइसोलेसनमा राख्ने र लक्षण नदेखिएका संक्रमितलाई धौलागिरि बहिरा मावि रामरेखामा रहेको आइसोलेसनमा राख्ने निर्णय गरेको छ । हाल लक्षण नभएका संक्रमितकाे पनि अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । 

बडिगाडमा लकडाउन खुल्यो 
वडाध्यक्षमा नै कोरोना संक्रमण देखिएसँगै लकडाउन घोषणा गरिएको बडिगाडमा आइतबार राति १२ बजदेखि खुलेको छ । वडाध्यक्षको सम्पर्कमा रहेका एकजनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको र अन्यमा एक सय २७ जनाको रिपाेर्ट नेगेटिभ आएपछि लकडाउन हटाइएको हो । 

जिल्लामा सोमबार थप दुईजना युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । बाग्लुङ नगरपालिका– ३ हाडेपाखाकी २३ वर्षीया कोरोना संक्रमित महिलाको सम्पर्कमा रहेका व्यक्तिको सम्पर्कमा रहेका बाग्लुङ नगरपालिका– २ का दुईजनामा संक्रमण देखिएको हो ।