१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ भदौ ८ सोमबार १३:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरुवा भएर आएका प्रहरीमा कोरोना देखिएपछि ओखलढुंगामा कडाइ

Read Time : > 1 मिनेट
२०७७ भदौ ८ सोमबार १३:२९:००

ओखलढुंगामा सरुवा भएर आएका प्रहरीमा कोरोना संक्रमण देखिन थालेपछि कडाइ गरिएको छ । बाहिरी जिल्लाबाट रमाना लिएर आएका प्रहरी र उनीहरूका परिवारमा केही दिनयता लगातार कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला कमान्ड पोस्टले कडाइ गरेको हो । 

सरुवा भएर आएकाहरलाई क्वारेन्टिनमा राख्ने, परिवारसहित आएका भए सपरिवारको पिसिआर परीक्षणपछि कोरोना नभएको पुष्टि भए मात्रै हाजिर हुन दिनेलगायतका नियम बनाएर लागू गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । सरुवा भएर तत्काल नआउन उनले कर्मचारीलाई आग्रह गरेका छन् ।

‘तत्कालको अवस्थामा सरुवा भएर रमाना बुझे पनि साबिकको कार्यालयमै रहेर काम गर्नुहोला,’ उनले भने, ‘अहिले जिल्लामा बाहिरबाट आएका कर्मचारी र उनीहरूका परिवारमा मात्रै कोरोना देखिएकाले समुदायस्तरमा संक्रमण फैलन नदिन नयाँ मान्छेलाई सीधै क्वारेन्टिनमा राख्ने व्यवस्था गरेका छौँ ।’ बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिए पनि समुदायस्तरमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको जिल्ला कमान्ड पोस्ट ओखलढुंगाले जनाएको छ ।  

थप दुई प्रहरीमा कोरोना
सोमबार दुईजना प्रहरीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिए । पछिल्लोपटक जिल्लाका ६० जनाको स्वाब परीक्षण गरिएकोमा दुईजना प्रहरीमा कोरोना पुष्टि भएको हो । 

पछिल्लोपटक जिल्लाबाट सुरक्षाकर्मी, कर्मचारी, विभिन्न देशबाट आएर होल्डिङ सेन्टरमा रहेकाहरूको स्वाब परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएका प्रहरी खोटाङ र उदयपुरबाट आएका थिए । उनीहरू मानेभञ्ज्याङ प्रहरी चौकीमा सरुवा भएर आएका थिए । क्वारेन्टिनमा रहेका उनीहरूमा कोरोना देखिएपछि कोभिड अस्पताल रुम्जाटार लैजाने तयारी गरिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । 

यसअघि जिल्ला सदरमुकाममा सरुवा भएर आएका एकजना प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यस्तै रौतहटबाट खिजीफलाटे इलाका प्रहरी कार्यालयमा सरुवा भएर आएका एक प्रहरीकी १५ वर्षीया छोरीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरूलाई रुम्जाटारको आइसोलेसनमा राखिएको छ । पछिल्लो समय कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवाका कारण जिल्लामा कोरोनाको जोखिम बढेको छ ।