मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ ८ सोमबार १३:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा १५ भदौसम्म थपियो निषेधाज्ञा

Read Time : > 1 मिनेट
२०७७ भदौ ८ सोमबार १३:०३:००

मकवानपुरमा कोरोना संक्रमितको संख्या बढेसँगै दोस्रोपटक निषेधाज्ञाको म्याद थपिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले १५ भदौसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

२७ देखि ३२ साउनसम्म जारी गरिएको निषेधाज्ञा ३२ साउनदेखि ९ भदौसम्मका लागि पहिलोपटक म्याद थपिएको थियो । ९ भदौसम्म पनि जिल्लामा कोरोना संक्रमण नियन्त्रण नहुने भएपछि १५ भदौसम्म दोस्रोपटक म्याद थपेर निषेधाज्ञाको समय बढाइएको प्रशासकीय अधिकृत तथा प्रवक्ता देवचन्द्र गर्तौलाले बताए ।

बैठकले १५ भदौसम्म हेटौँडा उपमहानगर र पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मनहरी खण्डको पाँच–पाँच सय मिटर दायाँ–बायाँ निषेधाज्ञा जारी रहने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेअनुसार सुरक्षा समितिको बैठकले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको गर्तौलाले जानकारी दिए । 

अत्यावश्यक सेवाका पसल बिहान ६ देखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णयमा उल्लेख छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा हिँडडुलमा थप कडाइ गरिने भएको छ । संक्रमितको संख्या दिनानुदिन बढिरहेका कारण हिँडडुलसँगै सुरक्षा व्यवस्था थप कडाइ गरिने प्रवक्ता गर्तौलाले बताए । 

निषेधाज्ञापछि जिल्ला आवतजावतसमेत प्रायः शून्य छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ । निषेधाज्ञामा औषधि–उपचार र खाद्यवस्तु खरिदबाहेक घरबाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ । 

एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपन्छीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधन र जिल्ला प्रशासनबाट जारी भएका सवारी पास भएका सवारीसाधन मात्र चल्न पाउनेसमेत समितिले निर्णय गरेको छ ।

यसअघि नै निर्णय गरिएको मनहरी, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकामा पनि १५ भदौसम्म निषेधाज्ञा जारी रहने प्रशासनले जनाएको छ ।