मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ भदौ ८ सोमबार ०८:४९:००
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

४० वर्षपछि रूप फेर्दै त्रिभुवन विश्वविद्यालय परिसर

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ भदौ ८ सोमबार ०८:४९:००

विद्यार्थीले पानीबाट तर्किंदै खुट्टाभरि हिलो बोकेर कक्षाकोठामा छिर्नुपर्ने छैन । ढलान गरेको पक्की बाटोबाट हिँड्न पाइनेछ । वरिपरि झाडी र फोहोरका थुप्रो होइन, रंगिविरंगी फूलका बिरुवाले आकर्षण थप्नेछन् । भुइँमा हरियो दुबोको गलैँचा बिछ्याइएको हुनेछ । प्रोफेसर र विद्यार्थी बस्न पर्याप्त कुर्सी हुनेछन्, यो कुनै भव्य पार्कको कथा होइन, चार दशकपछि त्रिविका १६ केन्द्रीय विभागहरूको फेरिन लागेको रूप हो :

सबै ब्लकमा पुगिने चिल्ला सडक, दायाँबायाँ फूलका बिरुवा, मन बहलाउने बगैँचा अनि चिटिक्क परेका क्लासिक भवनहरू । आकर्षक वाटर फाउन्टेन, क्याफे, लाइब्रेरी र दुबोको गलैँचामाथि राखिएका कुर्सीहरू अनि व्यवस्थित पार्किङ पनि । यो कुनै काठमाडौं उपत्यकाभित्र निर्माण गर्न लागिएको भव्य पार्कको कथा होइन, त्रिभुवन विश्वविद्यालयभित्र मानविकी तथा समाजशास्त्र संकायअन्तर्गतका केन्द्रीय विभागहरूको चार दशकपछि फेरिन लागेको रूप हो ।

अब मानविकी संकायका विभिन्न विषयगत १६ केन्द्रीय विभागमा जाँदा कुनै पार्कतिर छिरेजस्तो अनुभूति हुनेछ । वर्षात्मा पानी भरिएर हिलाम्मे हुनेछैन । विद्यार्थीले पानीबाट तर्किंदै खुट्टाभरि हिलो बोकेर कक्षाकोठामा छिर्नुपर्ने छैन । ढलान गरेको पक्की बाटोबाट हिँड्न पाइनेछ । वरिपरि झाडी र फोहोरका थुप्रो होइन, रंगिबिरंगी फूल र बिरुवाहरूले आकर्षण थप्नेछन् । भुइँमा हरियो दुबोको गलैँचा बिछ्याइएको हुनेछ । प्रोफेसर र विद्यार्थी बस्न पर्याप्त कुर्सी र चौतारी हुनेछन् । चारैतिर तारबार गरेर गेट राख्ने हुनाले गाई, बाख्रा चरेको र कुकुर हिँडेको देख्नुपर्ने छैन । 

त्रिवि मानविकी संकायअन्तर्गतका केन्द्रीय विभागपरिसरमा निर्माणाधीन बगैंचा ।     तस्बिर : अमुल थापा / नयाँ पत्रिका


करिब ४० वर्षपछि मानविकी संकायका केन्द्रीय विभागहरूले रूप फेर्न लागेका हुन् । समाजशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख डा.टीकाराम गौतमको नेतृत्वमा सुधारको काम थालिएको हो । केही दिनअघि कार्यालयपरिसरमा भेटिएका डा. गौतमले लक्ष्य सुनाउँदै भने, ‘ठूलो सपना बोकेर उच्च शिक्षा पढ्न त्रिभुवन विश्वविद्यालय आउने विद्यार्थीमा उत्साह थपियोस्, आफूले अध्ययन गर्ने विश्वविद्यालयप्रति गर्व होस् ।’ 

अहिले त्रिभुवन विश्वविद्यालय भर्ना हुन आउने विद्यार्थीहरू केन्द्रीय विभागको हालत देखेपछि तर्सिन्छन् । मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत २२ वटा केन्द्रीय विभाग र पाँचवटा छुट्टै प्रोग्राम छन्, जसमध्ये १६ वटा विभाग त्रिभुवन विश्वविद्यालय कीर्तिपुरपरिसरभित्र एकैठाउँमा छन् । ती सबै विभागीय प्रमुखलाई विश्वासमा लिएर गौतमले सुधारको काम थालेका हुन् ।

सुरुमा समाजशास्त्र विभाग मात्र सुधार्न कस्सिएका उनलाई काम गर्दै जाँदा लाग्यो, ‘एउटा विभागको कक्षाकोठा र प्रांगण मात्र राम्रो बनाएर हुँदैन, सिंगो परिसर नै सुधार गर्नुपर्छ ।’ उनले सबै विभागीय प्रमुखलाई भेला पारेर आफ्नो सुधारको योजना सुनाए । सुरुमा आनाकानी गरे पनि सिंगो परिसर सुधार गर्ने पक्षमा सबै विभागीय प्रमुख, प्रोफेसर र विद्यार्थी एक ठाउँमा उभिए । 

गौतम भन्छन्, ‘हामीले मास्टर प्लान बनाएरै काम थालेका हौँ, यदि कोरोना महामारी नआइदिएको भए दसैँसम्म यहाँको रूप परिवर्तन भइसक्थ्यो ।’ अहिले सबै विभागहरू छरपस्ट अवस्थामा छन्, पहिलोपटक भर्ना भएको विद्यार्थीले आफ्नो विभाग खोज्दाखोज्दा हैरान हुन्छन् । अब सबै विभागलाई गोलबद्ध गरेर एउटै कम्पाउन्डभित्र राख्न लागिएको छ ।

प्रोफेसर र विद्यार्थी प्रवेश गर्न तीनवटा गेट हुनेछन् । मुख्य गेट व्यवस्थापन केन्द्रीय विभागको छेवैमा हुनेछ । अब विद्यार्थीले आफ्नो विभागमा पुग्न पूरै चक्कर लगाएर अर्थशास्त्र विभाग हुँदै छिर्न पर्दैन । व्यवस्थापन विभागको छेउबाट झाडी फाँडेर बाटो खोलिएको छ र बाटो पिच गर्ने तयारी हुँदै छ ।

अर्थशास्त्र विभागको छेउमा एउटा र अलिमाथि अर्को गेट हुनेछ । तीनवटै गेटमा विभागहरूको नक्सा राखिने छ, त्यही नक्सांकन हेरेरै विद्यार्थीले आफ्नो विभाग पत्ता लगाउनेछन् । कोरोनाको कहरबीच पनि अहिले झाडी पन्छाउने र घाँस काट्ने काम भइरहेको छ । नाली र विभिन्न विभागमा पुग्ने बाटो बनाउने काम हुँदै छ । घाँस उम्रिएको ठाउँमा दुबो लगाउने योजना छ । अहिले भइरहेका रूख बिरुवाको संरक्षण गर्दै नयाँ बोट पनि लगाउने गौतम सुनाउँछन् । अहिले त्रिविपरिसरमा फोहोरका थुप्राहरू देखिन छाडेका छन् । 

यस्तो हुनेछ विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयकै आकर्षण मानिने मुख्य भवनअगाडि अन्डाकार आकारमा वाटर फाउन्टेसनसहितको पार्क बनाइने भएको छ । फूल, दुबो र रूखहरू लगाएर हरियाली बनाइनेछ भने बस्नका लागि व्यवस्थित सिटहरू हुनेछन् । भवनमा रंग लगाएर आकर्षक बनाइनेछ । मुख्य भवन र व्यवस्थापन संकायको बीचबाट भित्र जान बाटो बनाइएको छ । बाहिरैबाट भित्रका रंगिन भवन र हरियाली देखिनेछ । भित्र पस्नेबित्तिकै बायाँ साइडमा व्यवस्थित पार्किङस्थल हुनेछ ।

भित्र प्रवेश गरिसकेपछि विभिन्न विभागतिर जाने चौबाटो भेटिनेछ । सो चोकमा पनि आकर्षक वाटर फाउन्टेन राखिनेछ । वरिपरि हारियाली हुनेछ । करिब ४५-५० वर्षअघि बनेका भवनहरू अहिले थोत्रा देखिन्छन् । कक्षकोठा र फर्निचर पनि विद्यार्थीले पढ्नलायक छैनन् । ‘पुराना भवनहरूको दुरुस्तै जीर्णोद्धार र रेनोभेट गरिनेछ, कक्षाकोठा पनि सुधार गर्नेछौँ,’ गौतम भन्छन्, ‘हामीले रेनोभेट गरेर रंगरोगन गरेपछि भवनहरू चित्ताकर्षक देखिनेछन् ।’

काम सम्पन्न भएपछि त्रिवि मानविकी संकायअन्तर्गतका केन्द्रीय विभागपरिसरको स्वरूप (स्केच)


भवनको छानो र पर्खालमा रातो रंग लगाइनेछ । झ्यालमा सेतो रंग लगाइनेछ । हरेक झ्यालमा पर्दा राखिनेछ । विद्यार्थी बाहिर बस्न चौरमा कुर्सीहरू हुनेछन् । अब विद्यार्थी मनमोहक बँगैचा हुँदै कक्षकोठामा छिर्नेछन् । हरेक रूखको वरिपरि चौतारी बनाइनेछ । रंगरोगन गरेका सुन्दर भवनले चमक थप्ने गौतमको विश्वास छ । अर्थशास्त्र विभागछेवैमा अर्को पार्किङस्थल हुनेछ । 

अहिले अंग्रेजी विभागभित्र छिर्न विद्यार्थीले पानीको आहाल फड्किनुपर्छ । यति गर्दा पनि जुत्तामा हिलो लागिहाल्छ । यो मास्टर प्लान सकिएपछि विद्यार्थीले फड्किएर कक्षामा छिर्नुपर्नेछैन । विभागमा छिर्नेबित्तिकै छुट्टै संसारमा छिरेको अनुभूति हुनेछ । विदेशी विश्वविद्यालय पढेर फर्किएका विद्यार्थीले पनि त्रिभुवन विश्वविद्यालयमा भर्ना हुँदा थकथकी मान्नुपर्दैन । अहिले विभागमा पुग्दा फोहोर र जमिरहेको पानीले सिकसिको लाग्छ । नाली बनेपछि वर्षायाममा पनि सुख्खा रहने गौतमको भनाइ छ ।

अब झाडी पनि देख्न पाइनेछैन । मुख्य प्रवेशद्वारको बायाँ साइडमा सबै विभागको संयुक्त लाइब्रेरी हुनेछ । खाजा–नास्ता खान व्यवस्थित क्याफे बनाउने उनी सुनाउँछन् । ‘विद्यार्थीलाई विश्वविद्यालयमा बसिरहूँ भन्ने बनाउनुछ, अहिले विद्यार्थीलाई कलेज जान नपरे हुन्थ्यो भन्ने लाग्छ होला,’ उनी सुनाउँछन्, ‘अब त्रिभुवन विश्वविद्यालयकै सबैभन्दा आकर्षक मानविकी संकायपरिसर हुनेछ ।’ अहिलेसम्म अर्थशास्त्र र जनसंख्या केन्द्रीय विभाग मात्र हेर्नलायक छन् । समाजशास्त्र विभागअगाडि गौतमले गार्डेन बनाइसकेका छन् । 

त्रिविको स्वरूप फेरिन लागेकोमा मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डा.डम्बर चेम्जोङ पनि उत्साहित देखिन्छन् । उनले पनि आफ्नोअगाडि आकर्षक गार्डेन बनाइसकेका छन्, सोही गार्डेनमा रहेका रूखहरूमा चरा बस्न घरहरू बनाइदिएका छन् । चराले दानापानी खाने ठाउँ पनि छ । गौतम र चेम्जोङ सुधारको काममा सहकार्य गरेर अगाडि बढेका छन् । दुवैले मिलेर आकर्षक लाइब्रेरी बनाएका छन् । विद्यार्थीका थेसिसहरू पनि व्यवस्थित रूपमा राखिएको छ ।

मानवशास्त्र र समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले मात्र उक्त लाइब्रेरी प्रयोग गर्न पाउँछन् । ‘मानविकी संकायअन्तर्गतका सबै विभागका विद्यार्थीले संयुक्त रूपमा प्रयोग गर्न मिल्ने गरी अर्को लाइब्रेरी बनाउँदै छौँ,’ गौतम उत्साहित हुँदै सुनाउँछन् । अहिले व्यवस्थित इ–लाइब्रेरी र कन्फरेन्स हल तयार भएको छ । ‘अब सयजनासम्मको कन्फरेन्स गर्न होटेल खोज्दै धाउन पर्दैन,’ उनी भन्छन् ।

कोभिड महामारी नआएको भए यति बेला प्रोजेक्ट अन्तिम चरणमा पुग्ने थियो । ‘कोरोना भाइरस मत्थर भएमा ६ महिनादेखि एक वर्षभित्र काम सकाउँछौँ,’ गौतम भन्छन्, ‘यो परियोजनामा भ्याट र ट्याक्सबाहेक ८८ लाख लगानी हुने अनुमान छ ।’ अहिले परिसर घेर्ने, गेट बनाउने, घाँस काट्ने, गार्डेन बनाउने, झाडी फाँड्ने, बाटो पिच गर्ने काम भइरहेको छ । सबै काम केन्द्रीय विभागले आफैँ खर्च जुटाएर गरिरहेका छन् । यो मास्टर प्लानअन्तर्गत गर्नुपर्ने २३ वटा कम्पोनेन्ट छन् । गौतमका अनुसार सुधारको काम गत मंसिरदेखि सुरु गरिएको हो । 

यसरी जन्मियो सोच

एक वर्षअघि डा. टीकाराम गौतमले समाजशास्त्र केन्द्रीय विभागको प्रमुखको जिम्मेवारी पाए । उनलाई सुरुदेखि नै केही गरेर देखाउने हुटहुटी थियो । समाजशास्त्र केन्द्रीय विभागलाई गुणस्तर सुनिश्चितता प्रत्यायान (क्युएए) मापदण्डमा लैजाने सोच बनाए ।

डा.टीकाराम गौतम, तत्कालीन प्रमुख, समाजशास्त्र केन्द्रीय विभाग


क्युएएमा गएपछि विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले सञ्चालन गरेको उच्च शिक्षा सुधार परियोजनाबाट विभिन्न सुविधा पनि पाइन्छ । त्यहाँ पुग्न बेसिक एजुकेसनदेखि पूर्वाधारसम्म सुधार गर्नुपर्छ । उनी समाजशास्त्रको गार्डेनदेखि कक्षाकोठा र पढाइसम्म सुधार गर्ने भनी कस्सिए । त्यसमाथि उनी विदेशी मुलुकमा जाँदा त्यहाँका विश्वविद्यालय अत्यन्तै सुन्दर भव्य देख्थे । उनलाई यस्तो लाग्थ्यो, हाम्रो विश्वविद्यालय पनि यस्तै सुन्दर र भव्य भइदिए कति राम्रो हुथ्यो होला । तर, त्यसका लागि आफैँले अघि नसरे सुधार नआउने पक्का छ । अरू आइदिएर हाम्रो विश्वविद्याय सुधार गरिदिँदैनन् ।

‘हामीले पढ्दा पनि यस्तै थियो, पढाउँदा पनि यस्तै र अहिले नेतृत्वमा आउँदा पनि यस्तै छ,’ गौतम सुनाउँछन्, ‘नेतृत्वमा आउनेले अग्रसरता लिँदा सुधार गर्न सकिन्छ भन्ने मलाई लाग्यो र आफैँले जिम्मेवारी पाएका बेलामा काम गरेर देखाउन जाँगर चलाएको हुँ ।’ उनले सुरुमा आफ्नै विभागबाट सुरु गरेको काम अहिले १६ वटै विभागले संयुक्त रूपमा गर्न थालेका छन् । भन्छन्, ‘सुरुमा केही अप्ठ्यारो भए पनि मेरो भिजनमा सबै विभागीय प्रमुख, प्रोफेसर र विद्यार्थी सहमत हुनुभयो ।’

क्युएएमा जाने प्रोभिजनमा आफ्नै आन्तरिक स्रोत परिचालन गर्ने हो । पछि जति पनि खर्च हुन्छ, बिल भरपाई गरेपछि उच्च शिक्षा सुधार परियाेजना, त्रिविले दुईतिहाइ बजेट सहयोग गर्छ । जुन विभाग क्युएएमा गइसकेका छैनन्, उसलाई सहयोग गर्दैन । कुराकानीको बिट मार्दै गौतम भन्छन्, ‘मानवशास्त्र विभाग क्युएएमा जाने प्रक्रियामा छ, त्यसैले मानवशास्त्र विभागसँग मिलेर काम गरिरहेका छौँ ।’