मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ७ आइतबार १५:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार दुःखद : कांग्रेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ७ आइतबार १५:४०:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै यस्ता घटना हुन नदिन तीनवटै तहका सरकार सजग हुनुपर्ने बताएका छन् । 

‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ । स्वास्थ्यकर्मीहरू र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरूलाई सजग गराउन चाहन्छु,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्न म समस्त दिदीबहिनी, दाजुभाइलाई आग्रह गर्दछु ।’ 

प्रतिकूल वातावरण र सामग्री अभावबीच स्वास्थ्यकर्मीहरूले ‘फ्रन्टलाइन’मा रहेर उच्चमनोबलले कार्य गरिरहेको भन्दै देउवाले अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण बनाइदिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 

आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरूसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निभाइरहेका सञ्चारकर्मी एवं हाम्रा गाउँ–सहरदेखि अस्पतालसम्मको सफाइमा खटिएका सफाइकर्मीहरूलाई हृदयदेखि सम्मान गर्दै प्रतिकूलतामा निर्वाह गरेको भूमिकाको उच्च सराहना गर्न पनि देउवाले आग्रह गरेका छन् ।

समयको सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपिल
देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोनाविरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्न सरकारसँग अपिल गरेका छन् । ‘पिसिआर परीक्षण् ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता विस्तार गरेर समुदायस्तरमा परीक्षण व्यापक रूपले पुऱ्याउन माग गर्दछु,’ देउवाले भनेका छन्, ‘कोभिड अस्पतालहरू निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु । खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु ।’

क्वारेन्टिनहरू व्यवस्थित नहुँदा कोरोनाको विस्तारमा योगदान पुगेको भन्दै मापदण्डयुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

विदेशमा रहेका नेपालीबारे 
लाखौँको संख्यामा विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइलाई कोरोना संक्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन पनि देउवाले अपिल गरेका छन् ।  नेपाली जनसम्पर्क समितिहरू तथा देशबाहिर रहेका सबै संघसंस्था र नेपाली दूतावासहरूलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीको हितमा ऐक्यबद्ध ढंगले कार्य गर्न आग्रह गर्दछु ।

पार्टीपंक्ति र स्थानीय सरकारलाई अपिल
कोरोनाको संक्रमणबाट जनताको जीवनरक्षामा समर्पित हुनु आज हामी सबै राजनीतिक दल एवं संघसंस्थाहरूको साझा कर्तव्य भन्दै देउवाले आपसी एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा उच्चतम् मानवीय भावनाका साथ थप क्रियाशील रहन कांग्रेससहितका दलका नेता–कार्यकर्ता  र संघसंस्थामा आबद्धहरूलाई आग्रह गरेका छन् ।