मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का
२०७५ पौष ३ मंगलबार १५:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

 बेलिब्रिज जीर्ण हुँदा  ओहोरदोहोर गर्न समस्या

Read Time : < 1 मिनेट
मनीष खड्का
२०७५ पौष ३ मंगलबार १५:१५:००

राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमको मुसिकोट– ४ बैरागीठाँटीमा पर्ने बेलिब्रिज जीर्ण बनेको छ । एक वर्षदेखि मर्मतसम्भार नहुँदा ओहोरदोहोर गर्न समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । १३ वर्षअघि निर्माण भएको बैरागीठाँटी बेलिब्रिज गत वर्ष रेखदेख नहुँदा जीर्ण बनेको हो ।

गतवर्ष सडक डिभिजन कार्यालय चौरजहारीले मर्मतसम्भार गरेको जनाएको छ । जसमा २५ लाख खर्च भएको छ । तर, वर्ष दिन नपुग्दा बेलिब्रिज खलबलिएको छ । पुलमा राखिएका फलामका पाता टुक्रिएर झर्न थालेका छन् । ठाउँ–ठाउँमा प्वाल परेकाले हिँडडुल गर्न समस्या भएको स्थानीय बासिन्दाले बताए । केही पाता भाँचिएका छन् । जसले गर्दा दुर्घटना हुने खतरा बढेको छ । रुकुम भित्रिने सयौँ गाडी यही पुल भएर ओहोरदोहोर गर्छन् । 

तर, सडक डिभिजन कार्यालयले मर्मतका लागि बजेट नभएको जनाएको छ । डिभिजन कार्यालयका सब–इन्जिनियर टोपेन्द्र खड्काले बेलिब्रिज मर्मतका लागि बजेट नभएको बताए । पुल मर्मतका लागि पटकपटक आग्रह गरे पनि डिभिजन कार्यालयले वास्ता नगरेको मुसिकोट नगरपालिका मेयर देवीलाल गौतमले बताए । ‘नगरपालिका एक्लैले मर्मतसम्भार गर्न पर्याप्त बजेट छैन, डिभिजन कार्यालयले वास्ता गरेको छैन,’ मेयर गौतमले भने ।