-अहिलेको अवस्था : स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर रहेका एक हजार आठ सय आठ शय्या आइसियूमध्ये नौ सय ८४ कोभिडका लागि छुट्याइएको छ । देशभरि एक हजार ७० भेन्टिलेटर रहेकोमा चार सय ९० कोभिडका लागि छुट्याइएको छ । संक्रमित बढ्दै जाँदा आइसियू र भेन्टिलेटरको माग बढ्दै जाने विज्ञहरूको भनाइ छ ।
-संसदीय समितिको निर्देशन : ‘अहिले संक्रमण एकदमै बढिरहेको छ । र, यही रूपमा बढ्ने हो भने दशैँ–तिहारसम्म ९० हजारदेखि एक लाखसम्म संक्रमित पुग्ने हाम्रो अनुमान छ । यसरी हेर्दा १० प्रतिशत मात्रै पनि गम्भीर बिरामी भए भने १० हजार थान आइसियू र भेन्टिलेटर चाहिन्छ । हिसाब गरेरै त्यसको व्यवस्था गर्न निर्देशन दिएका हौँ ।’ कृष्णभक्त पोखरेल, सभापति, कानुन, न्याय तथा मानवअधिकार समिति
.............
कोभिड– १९ नियन्त्रण र उपचारमा सरकारले चालेका कदमप्रति असन्तुष्ट संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले तत्काल दश हजार थान आइसियू र भेन्टिलेटर व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । ती भेन्टिलेटर र आइसियू सातै प्रदेशमा कोरोना संक्रमित संख्याको आधारमा सन्तुलित एवं समानुपातिक ढंगले वितरण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार भच्र्युअल माध्यमबाट बसेको समिति बैठकले कोरोना महामारी तीव्र रूपमा बढिरहेको भन्दै भेन्टिलेटर र आइसियूको सङ्ख्या बढाउनुपर्ने बताएको हो । भेन्टिलेटर र आइसियूको सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति आवश्यकताका आधारमा नियुक्त गर्न पनि समितिको निर्देशन छ ।
कोभिड– १९ संक्रमण दु्रत रूपमा बढिरहेको र त्यसका लागि तयारी गर्नुपर्ने आवश्यकता देखेर आफूहरूले १० हजार थान भेन्टिलेटर र आइसियूको व्यवस्था गर्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए । ‘अहिले संक्रमण एकदमै बढिरहेको छ । र, यही रूपमा बढ्ने हो भने दशैँ–तिहारसम्म ९० हजारदेखि एक लाखसम्म संक्रमित पुग्ने हाम्रो अनुमान छ । यसरी हेर्दा १० प्रतिशत मात्रै पनि गम्भीर बिरामी भए भने १० हजार थान आइसियू र भेन्टिलेटर चाहिन्छ । हिसाब गरेरै त्यसको व्यवस्था गर्न निर्देशन दिएका हौँ,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर रहेका एक हजार आठ सय आठ शय्या आइसियूमध्ये नौ सय ८४ कोभिडका लागि छुट्याइएको छ । देशभरि एक हजार ७० भेन्टिलेटर रहेकोमा चार सय ९० कोभिडका लागि छुट्याइएको मन्त्रालयले जनाएको छ । संक्रमित बढ्दै जाँदा आइसियू र भेन्टिलेटरको माग बढ्दै जाने विज्ञहरूको भनाइ छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड– १९ को सघन उपचारका लागि आवश्यक भेन्टिलेटर, आइसियू, अक्सिजन, औषधिलगायत स्वास्थ्य उपकरण, सामग्री तथा जनशक्तिको आवश्यक प्रबन्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने निर्णय लिएको थियो । यस कार्यमा आवश्यकतानुसार प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्ने सरकारको निर्णय छ । कोभिड– १९ संक्रमणबाट नेपाली जनताको जीवन रक्षा गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरेको सरकारको दाबी छ । तर, तयारी धेरै कमजोर रहेको भन्दै आलोचना भएको छ ।
काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा ६ हजार आइसोलेसन बेड प्रबन्ध गर्ने र आवश्यकतानुसार थप गर्दै जाने बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय छ ।
संसदीय समितिले कोरोना ‘डेडिकेटेड’ अस्पतालको संख्या तत्काल वृद्धि गर्नुपर्ने आवश्यकता पनि देखाएको छ । त्यस्तै, अग्रपंक्तिमा खटिएका चिकित्सक, सुरक्षाकर्मीलाई मनोबल उच्च राख्ने गरी सुविधा उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ । ‘कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपंक्तिमा खटिनुभएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको सुरक्षाको सुनिश्चितता गरी उनीहरूको मनोबल बढाउन बिमा, प्रोत्साहन, उपचारलगायतको प्रभावकारी व्यवस्था मिलाउने,’ समितिले भनेको छ ।
कोभिड–१९ को उपचारका लागि निजी अस्पताल र मेडिकल कलेजलाई समेत प्रयोग गर्न राज्यका तर्फबाट आवश्यक साधन–स्रोत सहयोग गरी आमनागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गर्न पनि समितिको निर्देशन छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले कोभिड– १९ का बिरामीको उपचारका लागि आवश्यकताअनुसार सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान, निजी शिक्षण अस्पताल, निजी अस्पताल, सहकारी अस्पताल, गैरनाफामूलक सामुदायिक अस्पतालबाट समेत सेवा सञ्चालन गर्ने–गराउने निर्णय लिएको छ । यसका लागि यसका लागि आवश्यक पर्ने सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका स्वास्थ्य जनशक्ति परिचालन गर्ने तथा आवश्यकताअनुसार कुनै अस्पताललाई कोभिड–१९ को मात्र उपचार गर्ने गरी अस्पताल तोक्ने सरकारको निर्णय छ ।
सबै जिल्लामा पिसिआर विधिबाट परीक्षण गर्ने परिस्थिति निर्माण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । ‘कपिलवस्तुजस्तो सुगम जिल्लामा पनि अहिलेसम्म पिसिआर परीक्षण हुँदैन रहेछ । त्यहाँ परीक्षण गर्न नसकिने कुनै कारण छैन । त्यस्तै सबै ठाउँमा परीक्षणको व्यवस्था मिलाउनुप¥यो,’ समिति सभापति पोखरेलले भने ।
‘कन्ट्याक्ट ट्रेसिङ’को कार्यलाई व्यापक, प्रभावकारी र व्यवस्थित गरी जोखिम न्यूनीकरणतर्फ जानुपर्नेमा समितिको जोड छ । आधारभूत स्वास्थ्य सेवामा सरल र सहज पहुँच आमनागरिकको मौलिक हक भएको बताउँदै समितिले कोभिडबाहेकका बिरामीको उपचार गर्नेतर्फ पनि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
एकैदिन ११ जनाको मृत्यु, १३३ जना आइसियूमा, १५ जना भेन्टिलेटरमा
शुक्रबार देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार र बुधबार ६–६ तथा मंगलबार सात र सोमबार तीनजनाले ज्यान गुमाएका थिए । शुक्रबार मृत्यु भएका एक महिला र १० पुरुष मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका हुन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ३७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १३ हजार ६ सय ७९ नमुना परीक्षण भएकोमा आठ सय ३८ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये सबैभन्दा बढी काठमाडौकै छन् । काठमाडौंका एक सय ४२ जना, पर्साका ८०, जुम्लाका ५३, मोरङका ४५ र बाराका ४० जना छन् । काठमाडौंसँगै ललितपुरका २५ र भक्तपुरका १५ गरी उपत्यकामा एक सय ८२ जना संक्रमित थपिएका छन् । धनुषा, महोत्तरी, सर्लाही, रौतहट र मोरङमा पाँच सयभन्दा बढी संक्रमित उपचाररत छन् । शुक्रबार देशभर कोरोना संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ भने १८ हजार एक सय १४ जना निको भएका छन् ।