१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ ४ बिहीबार १२:२४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कैलालीमा पनि निषेधाज्ञा

Read Time : > 1 मिनेट
२०७७ भदौ ४ बिहीबार १२:२४:००

कोरोना संक्रमण तीव्र बन्न थालेपछि कैलालीमा पनि निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीले आज (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । 

१४ भदौसम्म निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिएका छन् ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका निजी तथा सार्वजनिक यातायात, उद्योग, व्यापार, व्यवसायलगायत सबै क्षेत्र बन्द रहने प्रशासनले जनाएको छ । 

प्रशासनले कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा सञ्चालन नगर्न र भिडभाडमा जम्मा नहुन भनेको छ । 

आन्तरिक नित्य पूजाबाहेक सम्पूर्ण धार्मिक तथा सांस्कृतिक पूजा तथा गतिविधि सञ्चालन र जमघट नगर्न पनि प्रशासनले आदेश जारी गरेको छ ।

होटेल, रेस्टुरेन्ट, पुस्तकालय, संग्रहालय, ठेला, जिमखाना, सामूहिक रूपमा खेलिने खेलकुदमा पनि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए । 

स्थानीय प्रशासनले बैंकिङ सेवालगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र त्यो सम्भव नभएमा स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दूरी कायम गरेर न्यून संख्यामा कर्मचारी उपस्थित भएर अत्यावश्यक सेवा दिन भनेको छ । 

खाद्यान्न, तरकारी, माछामासु, फलफूललगायत अत्यावश्यक वस्तुको बिक्री–वितरण बिहान पाँचदेखि नौ बजेसम्म मात्र गर्न पाइनेछ । 

निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । कैलालीमा संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

देशभरमा सबैभन्दा बढी संक्रमित फेला परेको जिल्लामा पर्ने कैलालीमा हालसम्म एक हजार तीन सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना संक्रमित चारजनाको निधन भइसकेको छ । जिल्लाभर अहिले ७५ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

धनगढीमा व्यापारी, बैंकका कर्मचारीलगायतमा संक्रमण देखिएको छ । यात्रा नगरेका व्यक्तिमा समेत संक्रमण देखिन थालेको छ ।