१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ भदौ ३ बुधबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई प्रहरीको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ भदौ ३ बुधबार १७:२०:००

जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजना प्रहरी हवल्दार र एकजना प्रहरी जवानको पोखरामा बुधबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलचालक पाल्पा रिप्दीकोट गाउँपालिका– ८ घर भई दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नम्बर २ दरबन्दी भई हाल वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत २० वर्षीय प्रहरी जवान चन्द्रबहादुर बगाले र मोटरसाइकल पछाडि बसेका बर्दिया मैनापुर– २ घर भई हाल बर्दिया बढैयाताल–६ बस्ने दंगा नियन्त्रण प्रहरी गण गुल्म नम्बर १ तनहुँ दरबन्दी भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार डम्बरबहादुर थारू रहेका छन् ।

मोटरसाइकल गस्तीमा रहेका उनीहरू पोखरा महानगरपालिका– २ बाग्लुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गर्दा पोखरा– ५ मालेपाटनस्थित विश्वास पेट्रोल पम्पअगाडि दुर्घटनामा परेका हुन् । उनीहरू सवार ग.१ब ३६९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग.२च २६२६ नम्बरको बाेलेरो जिपले पछाडिबाट ठक्कर दिँएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार उनीहरू वडा प्रहरी कार्यालय बैदामवाट मंगलबार राति १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि मोटरसाइकल गस्तीमा खटिएका र दुर्घटना राति करिब १ः०५ मा भएको रेग्मीले जानकारी दिए ।

उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा जवान बगालेको बुधबार बिहान १:५० बजे र हवल्दार थारूको बुधबार दिउँसो १२:३० बजे मृत्यु भएको थियो ।

ठक्कर दिने जिपचालक धादिङ धुनीबेसी गाउँपालिका– ५ घर भई हाल पोखरा– २३ बस्ने विशाल केसीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।