Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
जोनाथन मार्टिन / एस्टिड हर्नडन
२०७७ भदौ ३ बुधबार ०८:३०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कमला ह्यारिस : डेमोक्रेटको सुरक्षित चयन 

Read Time : > 3 मिनेट
जोनाथन मार्टिन / एस्टिड हर्नडन
२०७७ भदौ ३ बुधबार ०८:३०:००

जो बाइडेनले अश्वेत समुदायकी कमला ह्यारिसलाई भावी उपराष्ट्रपतिको उम्मेदवारमा मनोनयन गरेर अभूतपूर्व निर्णय लिएका छन् । एक हिसाबले बाइडेनले सुरक्षित निर्णय लिएका हुन् । किनकि, कमला अहिले अमेरिकी कंग्रेसमा सिनेटर छिन् र विगतमा धेरै उपराष्ट्रपति सिनेटरमध्येबाट नै चुनिएका देखिन्छन् । साथै, उनले आफ्नो जस्तै मध्य–वामपन्थी (सेन्टर–लेफ्ट) विचारधाराकी व्यक्तिलाई उम्मेदवार बनाएर आगामी दिनमा काम गर्ने सहजता खोजेको पनि अनुमान गर्न सकिन्छ । सिनेटमा चुनिएको चार वर्ष मात्र भए पनि अमेरिकी राजनीतिमा कमला ह्यारिसलाई विगत एक दशकदेखि उदाउँदो स्टारको रूपमा हेरिने गरेको छ । 

बाइडेनजस्तै कमला पनि संस्थापनमैत्री व्यक्ति हुन् । दुवै नेता वर्षौंदेखि आफ्नो पार्टीको मूलधारसँग नजिक छन् । वैचारिक रूपमा दुवै एक–अर्कासँग नजिक देखिन्छन् । यसले डेमोक्रेटिक पार्टीभित्रका प्रगतिशीलमा केही असहजता उत्पन्न त गराएको छ, तर दुवैले अमेरिकी सडकमा पछिल्लो समय उठेका प्रहरी ज्यादती विरुद्धको प्रतिरोधलाई समर्थन जनाएका छन् । ह्यारिसले विगतमा सानफ्रान्सिस्को जिल्लाको न्यायाधिवक्ता र क्यालिफोर्निया राज्यको महान्यायाधिवक्ता पद सम्हालिन् । त्यो विगतले पनि ह्यारिस र बाइडेनलाई घाटाभन्दा बढी फाइदा गर्नेछ । 

बाइडेनले ह्यारिसलाई चुनेर आफ्नो चुनावी अभियानमा उत्साह भर्ने प्रयास गरेका हुन् । सर्वेक्षणहरूमा बाइडेन उनका प्रतिद्वन्द्वी ट्रम्पभन्दा अगाडि नै देखिन्छन् । तर, अहिलेको अग्रता ट्रम्पजस्तो इतिहासकै ध्रुवीकृत राष्ट्रपतिको विकल्प भएका हिसाबले आएको हो । बाइडेनले कमलालाई आफ्नो सहयात्रीको रूपमा चयन गरेर तुलनात्मक कम उमेरकी सदस्यलाई आफ्नो प्रशासनमा राख्न खोजेको पनि देखिन्छ । हुन त प्रगतिशीलहरूले बाइडेनले सिनेटर एलिजावेथ वारेनलाई चयन गरून् भन्ने चाहेका थिए । तर, बाइडेनले डेमोक्रेटिकको आन्तरिक चुनावमा आफूलाई विजयी हुन सघाउने समुदायकी नेतालाई चुनेका छन् । यसबाट उनी हिलारी क्लिन्टनले चार वर्षअघि अश्वेत सहयात्री नचुनेर गरेको गल्ती गर्नबाट बचेका छन् । ह्यारिसले आफ्नो राजनीतिक करिअर सान–फ्रान्सिस्कोबाट सुरु गरेकी थिइन् ।

बाइडेनले ह्यारिसलाई चुनेर आफ्नो चुनावी अभियानमा उत्साह भर्ने प्रयास गरेका हुन् । सर्वेक्षणहरूमा बाइडेन उनका प्रतिद्वन्द्वी ट्रम्पभन्दा अगाडि नै देखिन्छन् ।

अमेरिकाको सबैभन्दा ठूलो त्यस राज्यबाट सिनेटर रहेकी उनले पछि राष्ट्रपतिका लागि छनोट हुने प्रयास गरिन् । डेमोक्रेटिक पार्टीका धेरै दाता, विधायक तथा अभियन्तासँग ह्यारिसको राम्रो सम्बन्ध छ । यस हिसाबमा बाइडेनले राजनीतिक रूपमा सुरक्षित छनोट गरेको भन्न सकिन्छ । जमैकन पिता र भारतीय आमाकी सन्तानलाई उपराष्ट्रपतिका रूपमा छानेर बाइडेनले ट्रम्पको नश्लीय राजनीतिलाई निसाना बनाएका छन् । बाइडेनको निर्णयले अमेरिकाको भावी राजनीतिलाई समेत प्रभावित बनाउनेछ । बाइडेनले चुनाव जितेमा आगामी दिनमा ह्यारिसका लागि राष्ट्रपति दौड थप सहज हुनेछ । अमेरिकाको इतिहासमा धेरै उपराष्ट्रपति कालान्तरमा राष्ट्रपति बनेका छन् । 

बाइडेनले राष्ट्रपति चुनाव जिते ह्यारिस ७० मुनिकी एक मात्र शीर्ष पदाधिकारी हुनेछिन् । ह्यारिसको चयनले डेमोक्रेटिक पार्टीभित्रका समग्र तप्कामा एक खालको चैनको भावना उत्पन्न गराएको छ । निर्वाचित अधिकारी, तल्लो तप्काका अभियन्ता, मध्यमार्गी र प्रगतिशील पक्षमा पनि यस्तो भाव देखिन्छ । ह्यारिसले धेरै डेमोक्रेट मतदातालाई मत हाल्न प्रेरित गर्ने तिनको बुझाइ हो । विशेषतः अश्वेत महिलामाझ ह्यारिसको चयनले सबैभन्दा बढी उत्साह सिर्जना गरेको छ । ‘अश्वेत महिलाहरू भावुक भएर फोन गरिरहेका छन् । ह्यारिसको चयनले आफूहरू नै मतपत्रमा भएजस्तो महसुस गरेको बताइरहेका छन्,’ दशकौँदेखि डेमोक्रेटिक अभियानमा संलग्न लिया डाटरीले आफ्नो अनुभव सुनाएकी छन् । तर, ह्यारिसलाई चुनेर बाइडेनले प्रगतिशीलहरूको अन्तिम आशालाई भने धक्का दिएका छन् ।

पछिल्लो समय न्युयोर्क सहर, सेन्ट लुइस र सिकागोमा प्रगतिशीलतर्फका प्रतिनिधिले जित हासिल गरिरहेको परिप्रेक्षमा बाइडेन प्रगतिशील उम्मेदवारलाई उपराष्ट्रपतिका उम्मेदवारमा चुन्न बाध्य हुने ठानिएको थियो । अहिले बाइडेन र ह्यारिसले आफ्नो करिअरमा वामपन्थीहरूको दबाब महसुस गरेका छन् । दुवैजनाले फौजदारी न्याय, स्वास्थ्य सेवा र अर्थतन्त्र सुधारमा पर्याप्त काम नगरेको आरोप लाग्ने गरेको छ । दुवैले आफूलाई मध्यमार्गमा रहेर एकताको पक्षधर देखाउने प्रयास गर्ने गरेका छन् । अहिले पुनः दुईजनाका सामु युवा तथा प्रगतिशीललाई पार्टीको पक्षमा मत हाल्न प्रोत्साहित गर्ने चुनौती छ । 

बाइडेनको चुनावी सहयात्री चयनका लागि लामो प्रक्रिया चल्यो । मार्चदेखि विभिन्न समूहले आफूअनुकूलका उम्मेदवार छनोट गर्न प्रभावित बनाउने प्रयास गरेका थिए । यसमा सबैभन्दा चर्को आवाज अश्वेत डेमोक्रेटहरूको सुनिएको थियो । तिनले अश्वेत महिला बाइडेनको चुनावी सहयात्री हुनुपर्ने दबाब दिइरहेका थिए । नश्लभेदको विरोधमा उठेको पछिल्लो आन्दोलनमा अश्वेत महिलाको सफलतालाई हेरेर पनि अश्वेत महिलाको चयन आवश्यक भएको बताइन थालेको थियो । नेसनल एसोसिएसन फर द एड्भान्समेन्ट अफ कलर्डका अध्यक्ष डेरिक जोनसनको विचारमा बाइडेनले ह्यारिसलाई चुनावी सहयात्री चुनेर राष्ट्रपति निर्वाचनमा अश्वेत मतदातालाई प्राथमिकता दिएको सन्देश दिएका छन् । साथै, पार्टीको आन्तरिक चुनावमा अश्वेत मतदाताले दिएको साथको गुण तिरेको पनि डेरिकको विश्वास छ । अश्वेतलाई मात्र होइन, समग्र डेमोक्रेट महिलामा ह्यारिसको चयनले सकारात्मक प्रभाव पारेको छ । 

ह्यारिस पहिलोपटक राष्ट्रपति उम्मेदवारी दिने अश्वेत महिला तथा न्युयोर्ककी कंग्रेस सदस्य सर्ली चिसोमको नाम र भनाइहरू दोहो¥याउने गर्छिन् । सन् २०१९ मा ह्यारिसले चिसोमप्रति सम्मान व्यक्त गर्दै चिसोमले राष्ट्रपति उम्मेदवारी दिएकै साता पारेर राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेकी थिइन् । चिसोम राष्ट्रपति उठेको झन्डै ५० वर्षपछि ह्यारिसले अश्वेत महिलालाई अमेरिकी राष्ट्रपति पदको थप एक कदम नजिक पु¥याएकी छन् । 

(जोनाथन मार्टिन र एस्टिड हर्नडन न्युयोर्क टाइम्ससम्बद्ध राष्ट्रिय संवाददाता हुन् ।) 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य