सिद्धार्थनगरमा रहेको एसबिआई बैंकका १३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भैरहवामा रहेका ४५ वटा बैंकहरूले सबै काम बन्द गरेका छन् । सिद्धार्थनगर नगरपालिकाले ५ भदौसम्म लकडाउन गरेपछि बैंकहरू पनि बन्द भएका छन् ।
आन्तरिक रूपमा सबै बैंकहरू खुला भए पनि सेवा सबै बन्द रहेको एसबिआई बैंकका शाखा प्रबन्धक राकेश महर्जनले बताए । सरकारको काममा समस्या नपरोस् भनेर भन्सार क्लियरिङको काम मात्र गरेको एक बैंकले जनाएको छ ।
शुक्रबार एसबिआई बैंकका १ जना कर्मचारीमा संक्रमण देखिएपछि बैंकका २३ जना कर्मचारीको स्वाब संकलन गरिएको थियो । उनीहरूमध्ये शनिबार १२ जना कर्मचारीहरूमा कोरोना देखिएको थियो ।
संक्रमित कर्मचारीलाई व्यवस्थित गर्न समस्या
एसबिआई बैंकका १३ जना कर्मचारीलाई कहाँ राख्ने भन्ने विषय अहिले समस्या बनेको छ । आ–आफ्नै घर र भाडामा रहेका कर्मचारीहरूलाई छुट्टै ठाउँमा आइसोलेसनमा बस्न दबाब आएको बैंकका शाखा प्रबन्धक राकेश महर्जनले बताए ।
हामीले होटेलहरूमा भनेका थियाैं, अहिले आएर होटेलहरूले पनि दिन मानेका छैनन्, कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । पहिले होटेलहरूले आइसोलेसनका लागि कोठा दिने बताए पनि अहिले आएर उनीहरू नमानेको उनको भनाइ छ ।