मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २ मंगलबार १७:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक निर्माणमा लापरबाही : जेठमा गरिएकाे कालोपत्रे असारमै भत्कियो 

Read Time : > 1 मिनेट
२०७७ भदौ २ मंगलबार १७:४०:००

तराई–मधेस सडक विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत कैलारी गाउँपालिकास्थित हुलाकी राजमार्गदेखि भारतीय सीमा जोड्ने सडक निर्माण भएको एक महिनामै भत्किएको छ । जेठमा कालोपत्रे गरिएको कैलारी गाउँपालिका– ३ स्थित सुर्मी नालादेखि भारतीय सीमानजिक खोनपुरघाट जोड्ने खण्ड असारदेखि नै भत्कन थालेको हो ।

सडकको बीचमै ठुल्ठूला चिरा पर्नुका साथै छेउबाट भासिन र भत्कन थालेको छ । सडक निर्माणका क्रममा लापरबाही गरिएकाले कालोपत्रे नटिकेको स्थानीयको  आरोप छ । स्थानीय नट्टुराम चौधरीले सडक निर्माणमा लापरबाही भएको बताए । सडकमा माटो भरेपछि राम्रोसँग रोलिङ  नगरी कालोपत्रे गरेका कारण यो अवस्था आएको उनको भनाइ छ । ‘गुणस्तरीय काम नभएरै भत्कन थालेको हो,’ चौधरीले भने, ‘कालोपत्रेअघि माटो भरान गरियो तर राम्रोसँग रोलिङ गरिएन । त्यसैले सडक भासिनुका साथै चिरा परेको हो ।’ 

स्थानीयका अनुसार जेठमा कालोपत्रे गरिएको थियो । जेठमा भएको कालोपत्रे असारमै भत्किन थालेको कैलारी–३ का वडाध्यक्ष कैलाश चौधरीले बताए । निर्माण भइरहेकै वेला ठेकेदारलाई सचेत गराए पनि सुनुवाइ नभएको उनको भनाइ छ । माटो पटान गरेको ठाउँमा राम्ररी रोलिङ गर्न तथा होचो ठाउँमा ड्याम बनाउन सुझाब दिए पनि ठेकेदारले नसुनेको उनले बताए । ‘निर्माणका वेला गुणस्तरीय काम भएन भनेर हामीले भन्यौँ । तर सुनुवाइ भएन,’ वडाध्यक्ष चौधरीले भने, ‘कमसल काम गरिएकाले एक महिनामै सडक ठाउँठाउँमा भत्किएको छ ।’ सडकको बीचभागमै चिरा परेको उनले बताए । तराई–मधेस सडक विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत निर्माणाधीन १४ किलोमिटर यो सडकको आधाभन्दा बढी भाग कालोपत्रे भइसकेको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरअन्तर्गत १८ करोड रुपैयाँ लागतमा नागार्जुन कन्स्ट्रक्सन प्रालिले सडक निर्माण गरिरहेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा ठेक्का भए पनि समयमै काम सम्पन्न नभएपछि दुई पटक म्याद थप गरिएको थियो । सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अर्जुनकुमार बमले सडक निर्माणको अवधि बाँकी रहेकाले भत्केका ठाउँमा निर्माण कम्पनीले पुनर्निर्माण गर्ने उनले बताए । बाढीले केही ठाउँमा सडक भत्किएको जानकारी आएको उनले बताए । ‘अहिले काम भइरहेको छ । भत्केको भए पनि ठेकेदारले बनाएर हस्तान्तरण गर्छ,’ बमले भने ।