१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ १ सोमबार ०४:०८:००
Read Time : > 8 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

महाधिवेशनमा देउवाले जिते आमचुनाव कांग्रेसले हार्छ भन्ने छ

Read Time : > 8 मिनेट
२०७७ भदौ १ सोमबार ०४:०८:००

मुलुक अहिले भयानक महाव्याधिको चपेटामा छ । सरकार महाव्याधिसँगको लडाइँका सबै मोर्चामा असफल मात्र देखिएको छैन, औषधि एवं उपकरण खरिदमा व्यापक अनियमितताका प्रस· बाहिरिरहेका छन् । विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धारमा समेत कमिसनको खेल छताछुल्ल छ । तर, प्रमुख प्रतिपक्षी दल सरकारको लाचार छायाजस्तो प्रतिरोधहीन देखिँदा सरकारको सूक्ष्म निगरानी र खबरदारी हुन सकेको छैन । यसबीच, कांग्रेस महाधिवेशनको तयारीमा छ । महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले भर्खरै विभागहरूमा नियुक्ति गरेका छन् । जसकारण, नेपाली कांग्रेस आन्तरिक रूपले केही गर्माएको देखिन्छ । यिनै विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नयाँ पत्रिकाका रमेश सापकोटाले संवाद गरेका छन् 


देश कोभिड–१९ को महामारीका वेला क्वारेन्टाइन, आइसोलेनको व्यवस्थापन र स्वास्थ्य सामग्री खरिदको विषयमा जनताले प्रश्न गरिरहेका छन् । सडकमा स्वतन्त्र युवाले प्रदर्शन गरेका छन् । तर, सरकारको खबरदारी गर्ने जिम्मेवारी पाएको प्रमुख प्रतिपक्षी कांग्रेस भने आन्तरिक भागबन्डामा अल्झिएको छ । तपाईंहरू सत्ताको प्रतिपक्ष हो कि आफ्नै पार्टीभित्रको प्रतिपक्ष हो ? पहिचान किन यसरी अन्योलमा परेको हो ? 

महामारीका वेला सरकारले चरम लापरवाही गरेकै छ । औषधि खरिदमा भ्रष्टाचार भएका छन् । चाइनिजले मान्यता नदिएको सामग्री नेपालमा प्रयोग भए । नक्कली सामग्री ल्याएर भ्रष्टाचार गरिएको छ । कोरोनाको नाममा चरम भ्रष्टाचार जगजाहेर छ । हामीले प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गरायौँ ।

भ्रष्टाचार रोक्न र जनताको जीवन रक्षा गर्न माग ग¥यौँ । आइसोलेसन, आइसियू र भेन्टिलेटरको व्यवस्था पर्याप्त गर्न माग ग¥यौँ । तर पनि सरकारको कमजोरीको विरोधमा प्रतिपक्षी जति सशक्त हुनुपर्ने हो, त्यति हुन सकेको छैन । ‘मुख छँदाछँदै नाकले पानी खान हुँदैन’ भन्ने उखान छ । प्रतिपक्षी दलको नेता, सभापति, संसदीय दलको नेताको कुरा बढी सुनिने हुन्छ । तर, हाम्रो सभापति आफैँँ अस्पष्ट भइदिनाले हामीलाई अप्ठ्यारो परेको छ । 

प्रतिपक्षी दलका नेता आफैँ अस्पष्ट हुनुपर्ने कारण के छ ? सरकारसँग केही लेनदेनको सम्बन्ध हो वा अहिले जे भइरहेको छ, सन्तोषजनक छ भन्ने उहाँको मूल्यांकन हो ? 

प्रतिपक्षको आवाज प्रतिपक्षी नेताबाट मुखरित हुनुपर्ने हो, तर त्यसमा कमी भएकै छ । कताकता केही न केही सरकारबाट अपेक्षा राखेपछि आवाज कमजोर हुन्छ हुन्छ । सबैभन्दा ठूलो नैतिक बल हुनुपर्छ । तर, त्यसका लागि स्वार्थरहित प्रतिबद्धता चाहिन्छ । तर, नैतिक बल भएन भने प्रतिपक्षी लाचार र कमजोर हुन्छ । सरकारसँग अनावश्यक ‘लबिङ’ गर्ने विषय विपक्षीलाई सुहाउँदैन । सरकारले गरेको बदमासीलाई कुनै कसर बाँकी नराखी जनतासमक्ष ल्याउनुपर्छ । 

कुनै दलको ब्यानरविना पनि चेतनशील युवाहरू सरकारको गैरजिम्मेवारीपनविरुद्ध सडकमा उत्रिए, अनशनमा बसे । तपाईंहरूले ऐक्यबद्धता देखाउन होडबाजी गर्नुभयो । तर, गाउँ–गाउँ र टोलटोलसम्म संगठनको जालो भएका तपाईंहरूले आफ्नै संगठनको बलमा दबाबमूलक आन्दोलन सिर्जना गर्न किन सक्नुभएन ? 

हो, यस्तो दबाबमूलक कार्यक्रम हामीले गर्नुपर्ने हो । महामारीका वेला जनता सरकारको नीतिबाट थप आहत छन् । भ्रष्टाचार चुलिएको देखेर आक्रोशित छन् । त्यो आवाजको नेतृत्व हामीले गर्नुपर्ने हो । सडकमा हाम्रो पनि प्रदर्शन हुनैपर्ने हो । राजनीतिक नाफा–घाटाका लागि भन्दा पनि हामीले जनताबाट पाएको जिम्मेवारी नै त्यही हो । तर, यसमा कमी भएको छ । तर, सरकारलाई खबरदारी गर्न अनशन बसेका युवालाई सहानुभूति दिन जानु हरेक चेतनशील नागरिकको कर्तव्य हो ।

फेरि भ्रष्टाचारविरुद्ध जसले सशक्त रूपमा आवाज उठाउँछ, यस्तो अभियानमा म आफ्नो शक्ति थप्न तयार छु । मुलुकको समस्याको जड नै भ्रष्टाचार हो । यहाँ पैसाको राजनीति भइरहेको छ । पैसा थुपार्ने, पैसाको बलमा सत्ता कब्जा गर्ने, पार्टी कब्जा गर्ने, चुनाव कब्जा गर्ने र आफू सधैँ भाले भइरहने तर जनता रोइरहने भन्ने प्रवृत्ति छ, म त्यसका विरुद्ध डटिरहन्छु । 

तपाईंहरू लोकतन्त्रलाई मूल मन्त्र मानेर पार्टीमा पनि यसलाई अभ्यास गरेर जानुपर्छ भन्ने राजनीतिक मान्यता भएको कांग्रेस पार्टीमा हुनुहुन्छ । तर, सबैभन्दा बढी अलोकतान्त्रिक अभ्यास कांग्रेसमा भयो भन्ने आवाज पनि सुनिन्छ । कांग्रेस नै लोकतान्त्रिक हो कि अलोकतान्त्रिक दल भनेर प्रश्न गर्नु गलत होला र ? 

राजनीतिक पार्टीहरू लोकतन्त्रसँग सम्बन्ध राख्छन् । बहुदलीय लोकतन्त्र र बहुलवादका लागि हामीले लडेको हो । हामीले संगठित भएर लडेको जनताको शक्तिले देशको शासन प्रशासन सञ्चालन, नियन्त्रण र त्यसलाई अनुशासनमा राखोस् भनेर हो । यस्ता दलहरू संस्थागत स्वरूपमा चलून् भन्ने हाम्रो मुख्य ध्येय हो । मेरो आफ्नो जीवन पनि लोकतन्त्रप्रति नै समर्पित हुँदै आएको छ । लोकतन्त्र बचाउनका लागि राजनीतिक पार्टीहरू लोकतान्त्रिक हुनुपर्छ । यसमा पनि कांग्रेसलाई त झन् बढी बाध्यता छ । किनकि, कांग्रेसले सुरुवातदेखि अहिलेसम्म यसको जीवन र घोषित उद्देश्य लोकतन्त्रमा समर्पित गरेको छ । यसकारण लोकतन्त्रका लागि सबल खम्बा बन्नुपर्ने दायित्वमा हामी छौँ । तर, पार्टी विधि, विधान र पद्धतिमा चलोस्, संस्थागत निर्णय होस् भन्ने आवाजले पार्टीभित्र द्वन्द्व छ ।

किनकि, आफ्नो सजिलो र सुविधा कता हुन्छ भनेर अहिलेका सभापति लाग्नुभएको छ । आफूअनुकूल र सुविधाको बाटो खोजेकाले हामीले पद्धतिको बाटो हिँड्नुपर्छ भनेर निरन्तर माग गरिरहेका हौँ । अघिल्लो विधानमा पार्टी संरचना महाधिवेशन भएको दुई महिनामा पूरा गर्नुपर्छ भन्ने थियो । संशोधित विधानले ६ महिनामा गरिसक्नुपर्ने भनेको छ । ६ महिना मात्रै होइन, चार वर्षे कार्यकाल सकिएर थप एक वर्षको पनि ६ महिना नाघेको छ । पार्टी नै अब अर्को महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेपछि अहिले आएर विभाग बनाएर पद बाँडेर मान्छे हात लिने काम अत्यन्त अप्रजातान्त्रिक छ । यसरी विधान मिच्ने काम सभापतिले गरेपछि हामी पूर्ण असहमत भएका हौँ । सभापतिको यस्तो कदम आपत्तिजनक छ । 

तपाईंहरूले आपत्तिजनक भनिरहे पनि तपाईंहरूको आवाजमा त्यो शक्ति किन छैन, जसले यस्ता नियुक्ति रोक्न सकोस् । बरु उहाँले त तपाईंहरूको समूहको तर्फबाट पनि नाम माग्नुभएको छ, नाम दिने विषयमा तपाईंहरूको तयारी के छ ? 

यो उहाँको जिद्दीपन हो । यस्तो जिद्दीपनले उहाँको अलोकतान्त्रिक चरित्रलाई प्रकट गर्छ । उहाँ दिनप्रतिदिन अलोकतान्त्रिक चरित्र प्रदर्शन गरिरहनुभएको छ । यस्तो शैली हामीलाई मान्य छैन । ३० वटाजति विभागमा उहाँहरूले विभागीय संयोजक, उपप्रमुख, सचिव र सदस्यहरू चयन गरिसक्नुभयो । तर, हाम्रा साथीहरू कसैले पनि विभागमा भाग लिएका छैनन् । संयोजक बन्न कोही साथी जाँदैनन् । विभागमा भएको मनोनयनलाई स्वीकार पनि गर्दैनन् । हामी मान्यता पनि दिँदैनौँ ।

देशभरका हामीनिकटका जिल्ला सभापतिहरूले पनि विभागलाई मान्यता दिँदैनन् । उनीहरूले राखिदिएका केही नाम पनि हाम्रा साथीहरूले भटाभट फिर्ता गर्दै हुनुहुन्छ । सभापतिजीको यो कदम सर्वत्र रूपमा आलोच्य र अस्वीकार्य भएकाले धेरैलाई मन परेको छैन । सभापति एकपछि अर्को विधानविपरीतका काम गर्दै आफैँ स्थापित हुने कोसिस गर्दै हुनुहुन्छ । फेरिएको देशभरको जनमत पनि उहाँले बुझ्नुभएको छ । साथीहरूले पार्टीमा परिवर्तन खोजेका छन् भन्ने उहाँलाई थाहा छ । त्यसैले पार्टीभित्रको परिवर्तनको आकांक्षालाई सभापतिले सहज रूपमा लिनुपर्ने हो । तर, जसरी हुन्छ आफू स्थापित हुने उद्देश्यले अनेक किसिमबाट आफैँ स्थापित हुन खोज्नु अत्यन्तै आपत्तिजनक छ । लोकतान्त्रिक प्रणालीको सुरक्षाका लागि समेत यस्तो शैली खतरनाक हो । 

महाधिवेशनको संघारमा कांग्रेसमा विवाद छ । तर, यो पहिलोपटक होइन । अघि–पछि कार्यकर्ताको वास्ता नगर्ने तर महाधिवेशनको वेला तानातान गर्ने र क्रियाशील सदस्य थप्ने विषयमा सधैँ झमेला हुन्छ । पहिले भएका क्रियाशील सदस्यमा एक सय प्रतिशत थप गर्ने सहमति त तपाईंहरूले पनि गर्नुभयो नि, होइन र ? 

जिल्ला–जिल्लाबाट ५० प्रतिशत मात्रै सदस्य बढ्दा गाह्रो हुन्छ भन्ने भएपछि हामीले सदस्य संख्या एक सय प्रतिशत नै थपेर जान सकिन्छ भन्ने छलफल गरेका हौँ । कतिपय ठाउँमा सदस्यता पुगेको भन्ने पनि आएका छन् । कतिपय ठाउँमा पु¥याउन गाह्रो भएको जिल्लाको माग छ । तर, आवश्यकताअनुसार ५० प्रतिशतसम्म गर्ने कुरा आएको हो । यसका लागि वडाले हामीलाई पुगेन, यी आवश्यक मान्छे हुन् भनेर जिल्लासम्म सिफारिस ल्याए भने सदस्यता दिने हो । यसअघि थप्ने भनिएको ५० प्रतिशतमा प्रक्रिया पुगेर सिफारिस आउँछन् भने अरू ५० प्रतिशत थप गर्ने भन्ने हो । तर, वडा, पालिका र क्षेत्रले आवश्यकता महसुस गर्नुपर्छ । 

महाधिवेशनका लागि अब ६ महिना पनि बाँकी छैन । एकातिर कोरोना संक्रमणको जोखिम बढ्दो छ, अर्कोतिर तपाईंहरू विभाग, समायोजन, सदस्यताजस्ता विवादमा हुनुहुन्छ । यस्ता विषयले महाधिवेशन समयमा हुन्छ भन्नेमा संशय थपेको छैन ?

कोरोना महामारीले गर्दा तत्काललाई अप्ठ्यारो छ । तर, संक्रमणको क्रम घटेर गएपछि संगठनले बाँकी काम अघि बढाउनुपर्छ । क्रियाशील सदस्यताको टुंगो लागेपछि एक महिनाभित्र चुनावको काम गर्न सकिन्छ । चार–पाँच दिनको अन्तर राखेर सबै तहको अधिवेशन गर्न सकिन्छ । सबै जुटेर बाँकी महिनाको सदुपयोग गर्ने हो भने महाधिवेशन घोषित मितिमै गर्न सकिन्छ । कात्तिकसम्म सदस्यताको टुंगो लगायौँ भने मंसिर–पुससम्म तल्लो तहको अधिवेशन सकिन्छ । अहिले महाधिवेशन सार्नुपर्ने वेला आइसकेको छैन । 

नेतृत्वकै सवालमा तपाईंहरूको समूहमा पनि दाबेदार धेरै हुनुहुन्छ । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ? 

सबै साथीहरूको भावनालाई कदर गर्दै म नेतृत्वमा छु । हाम्रो टिमका साथीहरूको एउटै कुरा सामूहिक नेतृत्वमा जानुपर्छ भन्ने छ । सामूहिक नेतृत्वको परिपाटी बसाल्नुपर्छ भन्नेमा हाम्रो पक्ष छ । हामी सहमतिबाटै नेतृत्व गर्न एकजना निस्कन्छौँ । के गर्दा सबैलाई सजिलो हुन्छ, यो प्रयासमा हामी छौँ । हाम्रा साथीहरू अलग–अलग हिँड्दैनौँ भन्नेमा छौँ । 

सामूहिक रूपमा जे सजिलो हुन्छ, त्यसैमा हिँड्छौँ भनेर कबुल गरेका छौँ । अन्ततः एउटै उम्मेदवार बनाउँछौँ, हुन्छौँ, हामी कोही बाधक बन्दैनौँ भनेर सबै साथीहरूले भनिरहनुभएको छ । यसलाई मूर्त रूप दिने र छिनालेर कुरा गर्ने वेला अझै आएको छैन । क्रियाशील सदस्यताको विषय सकिएर चुनाव सुरु हुने वेलामा टुंग्याउनुपर्छ भन्ने अहिलेसम्मको समझदारी हो । हो, साथीहरूको आकांक्षा प्रकट भइरहेको छ । राजनीतिमा मान्छेले आफ्नो ‘प्रोजेक्सन’ पनि खोजेको हुन्छ । मेरो पनि उपस्थिति छ है भनेर नेताहरूले यस्तो गर्छन् । हैसियत देखाउन खोज्नु र इच्छा व्यक्त गर्नु स्वाभाविक विषय हो । तर, यथार्थ के हो र अहिलेको आवश्यकता के हो भन्ने कुरा समय आएपछि टुंगो लाग्छ ।

तपाईंले आफ्नो दाबी त छाड्नुभएको छैन, तर अब भने कोइराला परिवारबाटै नेतृत्वमा अघि नबढ्ने हो भने देउवालाई फेरि पनि हराउन सकिँदैन भन्ने मत पनि छन् नि होइन ? 

कोइराला फेमिलीको मात्रै कुरा होइन । हामी सबै ‘कोइराला’ हौँ । म पनि कोइराला फेमिली हुँ, प्रकाशमान पनि कोइराला फेमिली हुन् । हामी सबैले बिपी, गिरिजा, सुशील सबैको परम्परालाई धान्दै आएका नेता हौँ । राजनीतिक विरासत भाइ–छोराले मात्रै धान्नुपर्छ भन्ने छैन । बिपी कोइरालाको नेतृत्वमा निर्माण भएको पार्टीको मूल धारलाई समातेर अंगीकार गरेर आउने निष्ठावान् जो छन्, ती सबै ‘कोइराला फेमिली’का सदस्य हुन् । 

म आफैँ बन्नुपर्छ भनेर कहिल्यै भनेको छैन । मेरो आवश्यकता छ भने जिम्मेवारीबाट भाग्ने पनि हुँदैन । भाग्छु भनेर भनेको पनि छैन । तर, हामीसँग सल्लाह भएर के उचित र उपयुक्त हुन्छ, त्यसैमा जान्छौँ । खुलेर हामी यो विषयमा प्रवेश गरिसकेका छैनौँ । तर, टिमको रूपमा मैले अहिलेसम्म सबै साथीहरूलाई सँगै राखिराखेको छु । हामी सामूहिक रूपमै एक ठाउँमा छौँ ।

सभापतिका कदमविरुद्ध सामूहिक रूपमा उत्रिएका छौँ । फेरि पनि एकै ठाउँमा छौँ भनेर जतिखेर पनि प्रदर्शन गर्न तयार छौँ । किनकि, हामी सामूहिक नेतृत्वबाट अघि बढ्छौँ भनेर कबुल गरेका छौँ । सामूहिकतालाई मैले पनि मान्नुपर्छ । अरूले पनि मान्नुपर्छ । कतै उछिट्टिएर गएर व्यक्तिगत रूपमा कोही पनि उठ्नुहुँदैन । उछिट्टिएर जाने नेताको अब भविष्य छैन । 

तपाईं लकडाउनअघि देशका विभिन्न जिल्ला डुल्नुभएको थियो । पार्टीको अवस्था र पार्टीप्रति कार्यकर्ताको धारणा कस्तो पाउनुभयो ?

सुदूरपश्चिमका पार्टी नेताहरू, जो शेरबहादुरजीलाई नै सहयोग गर्दै आउनुभएको थियो, उहाँहरू पनि यसपालि शेरबहादुर दाइ उम्मेदवार नबन्दा सबैभन्दा सजिलो हुन्छ भन्नेमा हुनुहुन्छ । यस्तै भावना देशका अन्य भागमा पनि छ । खासमा आमकार्यकर्ताले एउटा धारणा बनाइसकेका छन् । यस्तोमा कुनै नेता यताउति पर्दैमा फरक पर्दैन । यसबाट हामीलाई भन्दा देउवाजीलाई फरक पर्छ । यसपटक कार्यकर्ताले एउटा मुड बनाइसकेका छन् । पार्टीमा नेतृत्व अब परिवर्तन हुनुपर्छ भन्ने उनीहरूको सोच छ ।

देउवाजीबाट अब पार्टी चल्न सक्दैन र उहाँको नेतृत्वमा पार्टीले आमचुनाव जित्न सक्दैन भन्ने सबैलाई परेको छ । शेरबहादुरजीको समूहका मान्छे पनि साम, दाम, दण्ड, भेदसहितका सबै शक्ति प्रयोग गरेर चुनाव जिताउन त सकिएला, तर उहाँलाई जिताएपछि पार्टीले चुनाव हार्छ भन्नेमा छन् । देउवा जितेपछि पार्टी चुनाव हार्छ भन्ने उहाँकै नेताहरूको भनाइ छ । मलाई भोट दिए पनि हुन्छ, नदिए पनि हुन्छ, तर सभापतिमा देउवालाई भोट देऊ भनेर उहाँको समूहका नेताहरूमा जुन समर्पण पहिले जसरी थियो, अहिले त्यो छैन । 

पार्टी खुला भएपछि पनि तपाईंहरू ३० वर्षदेखि पार्टी र शक्तिको केन्द्रमा हुनुहुन्छ । तर, अब त तपाईंहरूले युवाहरूलाई नेतृत्वमा ल्याउन पहल गर्नुपर्ने हो भन्ने सामाजिक भावना देखिन्छ । तर, तपाईंहरूको पुस्ता आफैँ कसरी पदमा पुग्ने र त्यहाँ कसरी टिकिरहने भन्ने विवादमा छ । देशले परिवर्तन खोज्दा तपाईंहरू पनि परिवर्तित हुन किन नसकेको ? 

नयाँ र पुरानो, युवा र पाकाको विवादमा म पर्न चाहन्नँ । यो आफैँमा अराजनीतिक बहस हो । किनकि, नेतृत्व कसैको बक्सिसमा आउने होइन । भित्रको शक्तिले धर्ती फाटेजस्तै गरी नेतृत्व उदाउने हो । म आफैँ पनि धुलोबाट उठेको नेतृत्वको प्रतीक्षा गर्दैछु । यस्तो व्यक्ति राष्ट्रले विश्वास गर्ने होस् । जनताले पत्याउने होस् । यसका लागि विकल्पसहित आउनुपर्छ । कमजोर विकल्पमा नेतृत्व मागेर मात्र हुँदैन । देशका कम्युनिस्ट सत्ता छ, जसले जनतालाई रनभुल्ल बनाइरहेको छ ।

यो सत्ताको विकल्प दिन सक्ने गरी पार्टीमा नेतृत्व स्थापित हुनुपर्छ । कम्युनिस्टको प्रतिवाद गर्न सक्ने नेतृत्व आउनुपर्छ । जनता र कांग्रेस कार्यकर्ताले भरोसायुक्त नेतृत्व खोजेका छन् । नेतृत्व भनेको कसले कति स्मरण राखेर आफ्ना मार्गदर्शन प्रस्तुत गर्न सक्छ, यसलाई हेर्ने हो । आफ्ना एजेन्डा सम्प्रेषण गर्न सक्ने, जनतालाई योगदान र मुलुकलाई सुशासन समृद्धि दिने दृष्टिकोण र कार्यक्रमसहित कोही आउँछ भने कसैले रोकेर पनि रोक्न सक्दैन । ‘मिसन’ प्रस्ट भएको र ‘मिसन’का लागि भिजन प्रस्ट भएको नेतृत्व हामीले खोजेका हौँ । तर, के राजनीतिमा बूढो तरुनो, युवा र कति वर्षको भनेर नाप्ने हो ? म यो पक्षमा छैन । 

तर, तपाईंहरूले नयाँ पुस्तालाई मात्र होइन, तपाईंहरू हाराहारीका नेताहरू नेतृत्व गर्न जुर्मुराएका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. रामशरण महतको दाबीलाई सम्बोधन गर्ने विषयमा तपाईंको मत के छ ?

दाबी सबैले गर्न सक्नुहुन्छ । आखिरमा निर्णय त जनता र कार्यकर्ताले गर्छन् । कांग्रेसका आमकार्यकर्ता यसपटक आक्रोशित छन् । किनकि, अहिले उनीहरूलाई ठक्कर लागेको छ । हरेक जिल्ला, क्षेत्र र गाउँ–गाउँमा पार्टी कमजोर बनेको छ । पार्टीले पराजयको पीडा र पश्चाताप भोग्नुपरेको छ । त्यस्तै, पार्टीभित्रै पनि थिचोमिचो भोग्नुपरेको छ । त्यसैले यसपटक अहिले देशभरका कार्यकर्ताले विकल्प खोजेका छन् । विकल्प कसले दिने भन्ने त हामीले ठहर गर्ने होइन, कार्यकर्ताले नै निश्चय गर्ने हो ।