मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण ३० शुक्रबार २१:४४:००
Read Time : > 3 मिनेट
विश्व डिजिटल संस्करण

कोभिड– १९ नियन्त्रणमा आइसकेको भ्रममा पर्दा... 

Read Time : > 3 मिनेट
२०७७ श्रावण ३० शुक्रबार २१:४४:००

मध्य जुलाईसम्म भियतनाममा कोरोना भाइरस (कोभिड– १९) संक्रमित धेरै देखिएका थिएनन् । अझ ३० जुलाईसम्म कोरोनाबाट एकजना व्यक्तिको पनि मृत्यु नभएको बुलेटिन आउँदा संसारभर नै भियतनाम सुरक्षित र भाइरस नियन्त्रण लिने उत्कृष्ट राष्ट्रका रूपमा हेरिएको थियो । कोरोना संक्रमित नभेटिँदा यहाँका जनता पनि निर्धक्क थिए । 

सहरदेखि गाउँसम्म कोभिड पूर्णतः निर्मूल भएको आभास सबैमा थियो । फुटबल समर्थक रंगशालामा जान थालिसकेका थिए । स्कुलदेखि कलेजसम्म खुला भए । कफीका पारखी आफ्नो मन पर्ने क्याफे सपमा पुग्न थाले । मध्यजुनसम्म विदेशी तथा स्वदेशी पयर्टकले विभिन्न क्षेत्रमा घुम्ने टिकट बुक गरिसकेका थिए । तर, जुलाई महिनाको अन्त्यसँगै भियतनामीले कल्पना नै नगरेको रिपोर्ट सामना गरे । १५ दिनअघिसम्म आनन्दले सास फेरेका डा नाङका जनताले जुलाईको अन्तिम साता कोभिडको महामारी फैलिएको समाचार सुने । जुलाई ३२ मा यहाँ कोभिडका कारण दुईजनाको ज्यान गयो । 

‘हामी सबै सामान्य जीवनमा फर्किसकेका थियौँ,’ २७ वर्षीया माई सुआन आफ्नो अनुभव सुनाउँछिन् । उनी मध्यभियतनामको डा नाङ सहरमा बस्छिन् । व्यावसायिक रूपमा सुआन पयर्टकीय क्षेत्रमा काम गर्छिन् । डा नाङ सहरका जनताजस्तै अन्य क्षेत्रका मानिसले विभिन्न क्षेत्रमा सहजै आवतजावत गर्ने गरेको उनले बताइन् । 

तर, दुई सातायता यो क्षेत्र कोभिडको इपिसेन्टर बन्ने क्रममा छ । वैज्ञानिकहरूले डा नाङका बासिन्दालाई सुरक्षित रहन सल्लाह दिएका छन् । लगातार ९९ दिनसम्म संक्रमित नभेटिएको डा नाङमा अगस्टको एक साता मृत्युकै मात्र समाचार आइरह्यो । यो एक साता विश्वका सञ्चारमाध्यमले भियतनामले कोभिडमाथि प्राप्त सफलता र असफलताका चर्चा गरे । 

                                                                                                        ००००
कम्युनिस्ट सरकार भएको भियतनामले सुरुवात दिनमा कोभिडमाथि नियन्त्रण लिन सबै संयन्त्र प्रयोग गरेको थियो । सुरुमा सबै अन्तर्राष्ट्रिय सिमाना बन्द गऱ्याे । विदेशमा रहेमा आफ्ना नागरिकहरूलाई तत्काल घर फर्कन आह्वान भयो । मार्च महिनामा लगभग सबै विदेशमा रहेका भियतनाम स्वदेश फर्किसकेका थिए । साथै सरकारले एक सहर, जिल्ला तथा प्रान्तका जनतालाई आवतजावत नगर्न आग्रह गरेको थियो । सरकारले नै भ्याएसम्म कोभिडको परीक्षण लिएको थियो । कोभिडबाट संक्रमित भएकालाई सरकारी चिकित्सककै रेखदेखमा क्वारेन्टाइनमा राखिएको थियो । साथै राष्ट्रव्यापी रूपमै कन्ट्याक्ट ट्रेसिङ तथा परीक्षण भएको थियो । यस्तो किसिमको सावधानी तथा सुरक्षा अपनाउँदा पनि जुलाईको अन्तिम साता संक्रमित संख्या कसरी बढ्यो भन्ने सर्वत्र चासो छ ।

मेलवर्नको एक अनुसन्धान केन्द्रमा महामारी विज्ञानसम्बन्धी काम गरिरहेका प्रोफेसर माइकल टुलेले भियतनाममा कसरी महामारी अचानक फैलियो भन्ने बुझ्न गाह्रो भइरहेको बताएका छन् । उनी भन्छन्, ‘मलाई केही गल्ती भएको जस्तो लाग्दैन, तर यो एउटा रहस्य नै भन्नुपर्छ ।’ कोभिड नियन्त्रणमा आइसकेको भ्रममा पर्दा सबै खुला पार्नु नै गल्ती भएको उनको ठहर छ । भन्छन्, ‘अनुसन्धानको क्रममा स्पेन, अस्ट्रेलिया र हङकङमा यस्तै देखिएको थियो ।’ माइकलका अनुसार भियतनामले पछिल्लो समय यस्तै गल्ती गऱ्याे । 

                                                                                                        ००००
डा नाङ एउटा ऐतिहासिक पर्यटकीय क्षेत्र हो । कोभिडको समयमै यहाँ ८० हजार पयर्टक आएका थिए । यहाँ घुम्न आउनेहरू प्रफुल्ल देखिन्थे । उनीहरूले कोरोनालाई सामान्य रूपमै लिएका थिए । यद्यपि कोभिडको नयाँ संक्रमित भेटिरहेको समाचार आउँदा पनि घुम्ने क्रम रोकिएन । उनीहरूले पनि संक्रमण फैलाउने काममा सहयोग गरेको डा. माइकलको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । 

प्रो. माइकलले सावधानीको क्रममा सासानो गल्ती गरेका कारण नै पछिल्लो समय भियतनाममा संक्रमित संख्या ह्वात्तै बढेको बताए । भन्छन्, ‘जब एउटा कुनै पनि चिज बिग्रन्छ, सुरुमा यसलाई सामान्य लिने गरिन्छ, बिस्तारै यो बढ्दै जान्छ अनि भयावह हुन्छ, भियतनाममा पनि यस्तै भएको छ, ढिलो गतिमा रहेको कोरोना संक्रमण पछि तीव्र गतिमा अगाडि बढ्यो ।’ 

अहिले वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले आफ्नो राष्ट्र भियतनाममा के–कति कारणले संक्रमित संख्या बढेको भनी अनुसन्धान गरिरहेका छन् । अक्सफोर्ड क्लिनियकल रिसर्च युनिटका निर्देशक तथा प्राध्यापक भान ड्रोर्नले यसलाई ‘रहस्यमयी’ बताउँछन् । प्राध्यापक भानको एक टोलीले सरकारसँग मिलेर यस सम्बन्धमा काम गरिरहेको छ । प्राध्यापक भानका अनुसार कोरोना फैलिनुको पछाडि चीनसँगको जेनेटिक मान्छन् । 

तर, भानले कस्तो किसिमको जेनेटिक भन्ने उल्लेख गरेनन् । स्थानीय मिडियाहरूले चीन–भियतनामको सिमाना खुला भएका कारणले नै संक्रमण फैलिएको दाबी गरेका छन् । ‘सिमाना खुला रहेकाले दुई राष्ट्रका जनता आउने र जाने क्रम बढ्यो, यो नै कोभिड–१९ फैलिने मुख्य कारण बन्यो,’ स्थानीय मिडियाको भनाइ छ । अनुसन्धानकर्ताहरूले नियन्त्रित अवस्थामै भाइरस गुप्त र सूक्ष्म रहेको जनाएका छन् । जुन वेलामा एउटा पनि केस देखिएको थिएन, त्यसबखत भाइरस समुदायमा बिस्तारै फैलिएको अनुसन्धानकर्ता मान्छन् । उनीहरू भन्छन्, ‘यसबाहेक हामीबाटै केही गल्ती भएको हुनुपर्छ, जस्तो क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको परीक्षण राम्रोसँग नगरेको वा उनीहरूलाई हल्का हरूमा लिएर छाडेकोजस्तो केस पनि देखिन्छ ।’ नाङ सहरमा यस्तै किसिमको गल्ती र सुरक्षा अपनाउँदा नै संक्रमित बढेको सिड्नी विश्वविद्यालयअन्तर्गत संक्रमित रोगका सिनियर लेक्चरर डा. जस्टिन मान्छन् । 

‘हामीले नाङबाट केही उदाहरण र प्रमाण फेला पारेका छौँ, जब त्यहाँ पहिलो केस देखिएको थियो, त्यसदेखि सामान्य रूपमा लियो,’ डा. जस्टिन भन्छन्, ‘फेरि भियतनामीले पश्चिमेलीहरूको नक्कल गरेका कारण पनि संक्रमित संख्या एक्कासि बढेको हो ।’ भन्छन्, ‘कतिपय केसमा उनीहरूले युरोपकै जस्तो नक्कल गरेको पाइयो, समुदायका व्यक्तिहरूले नै हल्का लिए,’ उनले भने । जुलाईमै मात्र भियतनाममा चार सय संख्या पुगेको थियो । अहिले  यहाँ संक्रमित संख्या नाै सय ११ पुगेको छ । 

सबैभन्दा अचम्मको पक्ष के भने अगस्ट महिना सुरु भएको दुई साता भित्र १९ व्यक्तिको निधन भएको छ । जब कि फेब्रुअरीमा पहिलो संक्रमित केसयता जुलाई ३० सम्म कोभिड–१९ का कारण एकजनाले पनि ज्यान गुमाएका थिएनन् । अहिल लगातार मानिसको ज्यान गएपछि संसारभरिका अनुसन्धानकर्ताले नै अचम्म मानेका छन् । अहिले भियतनाममा फैलिरहेको कोभिड– १९ नै संसारका ध्यानाकर्षण भइरहेको हो । ‘लगातार मृत्युको रिपोर्ट आइरहेको छ, अहिले डाटा वा सूचनामा पारदर्शिता अपनाइएको छ,’ डा. होङ लीले भने । 

– एजेन्सीको सहयोगमा