मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ३० शुक्रबार १८:३९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गुल्मीका पहिरोपीडितलाई सहयोग

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३० शुक्रबार १८:३९:००

गत १८ असारमा गएको पहिरोबाट विस्थापित भएका मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका करिब तीन सय घरपरिवारलाई राहत वितरण गरिएको छ । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टको पहलमा सिभिल बैंकले उनीहरूलाई राहतस्वरूप चामल वितरण गरेको हो ।

मुसिकोट नगरपालिकामा एक सय ७० बोरा र इस्मा गाउँपालिकामा एक सय २७ बोरा चामल वितरण गरिएको नेकपाका नेता गणेश श्रीपालीले जानकारी दिए । गाउँमै पुगेर प्रदेश ५ का विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठ, सांसद दिनेश पन्थी, बैंकका प्रदेश ५ संयोजक किरण धमलालगायतको टोलीले राहत प्रदान गरेकाे हाे । पूर्वमन्त्री विष्टले आग्रहलाई स्वीकार गरेर पहिरोपीडित परिवारको दुःखमा साथ दिने सिभिल बैंकलाई आभार प्रकट गरे । ‘अस्थायी आवासमा रहेकाहरूको तत्कालको व्यवस्थापनलाई राहत दिएको हो,’ उनले भने, ‘भूगर्भविद्को प्रतिवेदनपछि स्थायी आवासको काम गर्नेछौँ ।’

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत पूर्वमन्त्री विष्टको पहलमा पहिरोबाट विस्थापित परिवारलाई सहयोग गर्न पाएकोमा धमलाले खुसी व्यक्त गरे । यस्तै लायन्स क्लब अफ बुटवल जितगढीले मुसिकोटका पहिरोपीडितका लागि एक सय बोरा चामल प्रदान गरेको छ । स्थानीय तहको एकद्वार नीतिअनुसार इस्मा गाउँपालिकामा ४० बोरा चामल, ४० कार्टुन चाउचाउ, ८० किलो दाल, सय किलो नुन र ४० लिटर तेल प्रदान गरेको क्लबका सचिव ज्ञानबहादुर महतराले जानकारी दिए । मुसिकोट नगरपालिका– २ मा गएको पहिरोबाट विस्थापित परिवारलाई ४० थान त्रिपाल वितरण गरिएको महतराले बताए । क्लबका डिस्ट्रिक एड्भाइजर युवराज न्यौपाने, संस्थापक अध्यक्ष बालसिंह काउछालगायतको टोलीले सहयोग हस्तान्तरण गरेकाे थियाे ।