मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार १६:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तत्काल त्रिविका परीक्षा नहुने, परीक्षाको जिम्मा डिन कार्यालयलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २९ बिहीबार १६:२५:००

त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड– १९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । 

यसअघि बन्दाबन्दी  खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो ।  ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ,’ उनले भने, ‘तर, अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।’

त्रिविले सामान्य अवस्था भए मात्र परीक्षा चलाउने भएको छ  ।  परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डिन कार्यालयलाई दिइएको जानकारी दिए ।

 ‘कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डिन कार्यालयलाई दिएका छौँ,’ उनले भने, ‘सामान्य अवस्था भए पनि डिन कार्यालयले नै परीक्षाको तयारी गर्नेछ ।’

भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि  विद्यार्थी काठमाडौं आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ । 

२८  परीक्षाफल प्रकाशित
पनिकाले बन्दाबन्दीयता २८ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । बन्दाबन्दी समयमा १६  र साउन ७ यता १२  वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।  

पनिकाले बन्दाबन्दीमा प्राध्यापकलाई कार्यालय बोलाई उत्तरपुस्तिका परीक्षण गरी वैशाख १८ गतेदेखि नतिजा प्रकाशन गर्न थालेको हो । उनका अनुसार अब बन्दाबन्दीअगाडि परीक्षा भएका आठ परीक्षाकाे परीक्षाफल मात्र प्रकाशन बाँकी  छ । रासस