पूर्व–पश्चिम राजमार्गसँग धनकुटालाई जोड्ने छोटो बाटोको रूपमा रहेको लेटाङ–बुधबारे सडकखण्डअन्तर्गतको सात सय मिटर सडक कालोपत्रे गरेको एक महिनामै उक्किएको छ ।
कालोपत्रेका लागि गत आर्थिक वर्षमा प्रदेश १ सरकारले मुख्यमन्त्री कृषि सडक आयोजनामार्फत ७० लाख रुपैयाँ खर्च गरेको थियो । उक्त बजेटको २० प्रतिशत स्थानीय तहले लगानी गर्नुपर्ने मापदण्ड छ ।
प्रदेश सरकारले दिएकोभन्दा कम मूल्यमा ठेक्का लागेको थियो । ५६ लाखमा सुनसरी इटहरीको श्रीकृष्ण निर्माण सेवाले टेन्डर पारेको थियो ।
लेटाङ नगरपालिका– २ बुधबारे उत्तर खण्डको सडक कालोपत्रे गरिए पनि अहिले विभिन्न ठाउँमा कालोपत्रे भत्किएको छ । ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण सडक भत्किएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन । जनताले तिरेको कर र राज्यको ढुकुटीमा खेलबाड गर्नेलाई कारबाही नगरेसम्म विकास निर्माणको कामले गति नलिने स्थानीय मदन खड्काले बताए ।
सडक अक्सपार्ड प्रविधिको मापदण्डअनुसार निर्माण गरिएको थियो । गत असारमा कालोपत्रे गरिएकाे सडक साउन नबत्दै भत्किएको स्थानीय ईश्वरी कोइरालाले बताए ।
उक्त सडक अनुगमन गर्न गएकी लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले कालोपत्रे गरिएको भागमा उक्किएकाले तत्काल सम्बन्धित पक्षलाई पुनर्निर्माण गर्न आग्रह गरेको बताएकी छिन् ।
सडक कालोपत्रेको जिम्मा लिएको ठेकेदार श्री कृष्ण निर्माण सेवा इटहरी १ सुनसरीले स्थानीयहरूले पिच गर्न लागेको बाटोमा ट्याक्टर कुदाएर प्राइमर नै सखाप बनाएपछि पुनः लगाएको प्राइमरले काम नगरेको बताएको छ । उक्त सडक तुरुन्तै मर्मत गर्नेसमेत निर्माण सेवा कम्पनीले जनाएको छ ।