मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २८ बुधबार २०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अख्तियारद्वारा कल्याणपुरका मेयरविरुद्ध विशेष अदालतमा मुद्दा दायर, मेयर मण्डल भूमिगत

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार २०:४१:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नगर क्षेत्रमा भएका विकास निर्माणको भुक्तानी दिन उनका छोरा सन्तकुमार मण्डललाई लगाएर पाँच लाख रुपैयाँ घुस लिएको अख्तियारले फेलापारेपछि मेयर र उनका छोरा सन्तकुमार मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

पक्राउ परेका छोरामाथि छानबिन गर्दा मेयर मण्डलको पनि संलग्नता रहेको फेलापारेको अख्तियारले जनाएको छ । सोही कारण उनलाई पक्रन वारेन्ट जारी गरेको थियो । तर, मेयर मण्डल भने भूमिगत भएका छन् । अख्तियारद्वारा जारी विज्ञप्तिअनुसार उनीविरुद्ध विशेष अदालतमा पाँच लाख बिगो कायम गरी मुद्दा दर्ता भएको छ । साथै अख्तियारले बिगो जरिवानासहित भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिनादेखि डेढ वर्षसम्मको कैद मागदाबी गरेको छ । मेयर मण्डलका छोरा सन्तकुमारलाई पनि सोहीबराबरको कैदको माग दाबी गरिएको अख्तियारले जनाएको छ । ३१ असारमा लहान नगरपालिका– २२ स्थित एक पेट्रोल पम्पबाट सन्तकुमारले घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

अख्तियार टोलीले दुई वर्षअघि पनि कल्याणपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वासुदेव यादव र लेखापाल जयराम चौधरीविरुद्ध मुद्दा दर्ता गरेको छ । लेखापाल चौधरीलाई २० हजार रुपैयाँ लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो । उक्त रकममा लेनदेनमा प्रमुख प्रशासकीय अधिकृत वासुदेवको संलग्नता रहेको भन्दै अख्तियारले विशेषमा मुद्दा दर्ता गरेको छ । अहिले अधिकृत यादव र लेखापाल चौधरी निलम्बनमा छन्  ।