मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २८ बुधबार १६:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छिमेकीको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखियो : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २८ बुधबार १६:५०:००

गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन् । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले छिमेकीहरको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताएका हुन् । 

सीमामा रहेका पिलरहरू उखेलेर फालिदिने, नेपलभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरूको रहेको उनले बताए । यो प्रवृत्ति नहट्दासम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले बताए । उनले भने, ‘हाम्रा छिमेकीहरूको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारणहरू छन् । पिलरहरू उखेलेर फाल्दिने अथवा नेपालभित्र ल्याएर गाड्ने यस्ता अतिक्रमणकारी नीति पनि सीमा समस्याको पछाडि एउटा कारण देखिन्छ ।’

सीमा विवाद समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने गृहमन्त्री थापाले बताए ।  यस्तै नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिनेसमेत उनले बताए । सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षासम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले बताए । उनले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताए । 

सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाइ छ । उनले नदीले धार परिवर्तन गर्दा सीमासमेत परिवर्तन हुने गरेको बताए ।  सोही आधारमा स्ट्रिप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको पनि उनले बताए ।  सीमा समस्या समाधानका लागि कूटनीतिक पहल आवश्यक रहेको बताए ।