मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ श्रावण २८ बुधबार १५:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना त्रासले बाह्रबिसे बजार सिल

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ श्रावण २८ बुधबार १५:०४:००

कोरोना महामारीको त्रासले तातोपानी नाका जोड्ने अरनिको राजमार्गको बाह्रबिसे बजारलाई प्रहरीले सिल गरेको छ । 

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका बुबा खड्गबहादुरको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएकोले बाह्रबिसे बजारलाई सिल गरिएको हो । 

कोरोना त्रासले बाह्रबिसे बजार मंगलबारदेखि नै सुनसान छ । मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा भर्ना गरिएका बस्नेतका बुबाको २२ साउनमा मृत्यु भएको थियो ।

मृत्युको पाँच दिनपछि २७ साउनमा स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बाह्रबिसे नगरपालिका– ४ का ८४ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको घोषणा गरेको थियो । 

उपचारमा संलग्न डाक्टर टिमले दुवै किड्नी ड्यामेज भएकोले मृत्यु भएको बताएकोले बुबाको शवलाई बाह्रबिसेको सुनकोसी ल्याइएको पूर्वमन्त्री बस्नेतले बताएका छन् । स्वास्थ्य मन्त्रालयको मंगलबारको प्रेस वक्तव्यपछि त्रसित भएर बाह्रबिसे नगरपालिकाले सूचना जारी गरेर वडा नं. ४ र बाह्रबिसे बजारलाई सिल गरेको छ । 

भयावह अवस्था आउन नदिन जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंसहितको स्वास्थ्यकर्मी टोली पूर्वमन्त्रीको घर पुगेर छलफल गरिरहेको छ । दाहसंस्कारका वेला सुनकोसी चिहानमा कम्तीमा दुई हजार मानिस जम्मा भएर अन्तिम श्रद्धाञ्जली दिएकोले कति जनाको स्वाब संकलन गरेर टेस्ट गर्ने भन्नेमा स्वास्थ्यकर्मी नै अलमलमा परेका छन् । 

त्यसैगरी जुगलको वडा नं. ५ बराम्ची, सुनकोसीको वडा नं. ५ जामुनेस्वाँरा र इन्द्रावती गाउँपालिकाको नवलपुर क्षेत्रमा एक–एकजना कोरोना संक्रमित फेला परेकोले पाँच दिनयता सिल गरिएको छ ।