१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २७ मंगलबार १४:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाभन्दा दलभित्रको सरकारविरोधी भाइरस खतरनाक : मुख्यमन्त्री गुरुङ

Read Time : > 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १४:०९:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले देशमा कोरोना भाइरस भन्दापनि राजनीतिक दलभित्र गुटबन्दीको भाइरसको संक्रमण खतरनाक रहेको टिप्पणी गरेका छन् । आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशकाे २१औं स्थापना दिवसको अवसरमा आयोजित कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोष घोषणा एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले मंगलबार यस्तो टिप्पणी गरेका हुन् । 

उनले प्रधानमन्त्रीको राजिनामा मागिनु नेपालको राष्ट्रिय स्थायित्व, राष्ट्रवादी भावना र समग्रमा स्वाभिमानी जनताकै भावना विरुद्धको कदम भनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न आफ्नै पार्टीका नेताहरु (प्रचण्ड—नेपाल समुह) लागेको तर्फ संकेत गर्दै उनले विवादलाई कोरोना भाइरससँग तुलना गरे । उनले कोरोना भाइरस गण्डकी प्रदेशमा नियन्त्रण उन्मुख रहेको तर, राष्ट्रिय राजनीतिमा देखिएको भाइरस्को संक्रमण झनै जटिल बन्दै गएको उल्लेख गरे । 

कम्युनिस्ट पार्टी जनजिविकाको सवाल, राष्ट्रियताको सवाल र परिवर्तन ल्याउने सवालमा सफल रहेको उनले बताए । तर, पाँच वर्षसम्म सरकार चलाउने, लोकतन्त्र र गणतन्त्रको जरासम्म मजबुत बनाउने कुरा अनि स्थिरता दिने जनतासँग गरेको प्रतिवद्धता संस्थागत गर्ने ऐतिहासिक अभिभारा पुरा गर्न बाँकी रहेको उनको धारणा छ । यसबाट मुल नेतृत्व भाग्न नपाउने उनले बताए ।

‘पाँच वर्षसम्म स्थिर सरकार दिने जनतासँग लिएको ऐतिहासिक अभिभारा पुरा गर्ने, लोकतन्त्र र गणतन्त्रको जरासम्म मजबुत बनाउने कुरालाई पुरा गर्नुपर्ने समयमा दलभित्रको भाइरस अन्त्य गर्ने खोपको विकास जरुरी छ । त्यो खतरनाक भाइरसको अन्त्य हुनुपर्छ’ उनले भने । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग आक्रोसित मुख्यमन्त्री
कोरोना परिक्षण र रोकथाममा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले आवश्यक सहयोग र समन्वय नगरेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आक्रोश पोखेका छन् । कोरोना संक्रमितका लागि भएका आइसोलेसन समेत छैन भनेको र सुरुमै भएको पिसिआर मेसिन चलाउन नमानेको भन्दै उनले आक्रोश पोखेका हुन् । 

कोरोना संक्रमण फैलनु पूर्व नै उक्त अस्पतालमा पिसिआर मेसिन भएपनि बिग्रेको भन्दै अस्पतालका पदाधिकारीले चलाउन नमानेको उनले बताए । ‘त्यहाँ (पोखरा क्षेत्रीय अस्पतालमा) पिसिआर मेसिन पहिले नै थियो । त्यो बिग्रेको छ भनियो । चलाउन मानिएन । पदाधिकारीले चल्दैन भने,' उनले भने, 'हामीले यहाँ स्वाब संकलन गरेर टेकु पठाउनुपर्ने अवस्था आयो । पछि प्राविधिक ल्याएर हेर्दा राम्रो काम गर्दोरहेछ ।'

उनले प्रश्न गरे,  'किन चल्दैन भनियो ? चलाउन किन खोजिएन ? पिसिआर परिक्षण गर्ने कुरा, कोरोना संक्रमण विरुद्ध लढ्ने कुरा संघीय सरकारको पनि प्राथमिकताको विषय थियो । किन सहयोग गरिएन ?’ 

उनले प्रदेश सरकारले आफैँ दुईवटा पिसिआर मेसिन खरिद गरेको र अब दैनिक १५ सयका दरले पिसिआर परीक्षण गर्ने क्षमता विस्तार भएको जानकारी दिए ।