मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
राज विक
२०७७ श्रावण २७ मंगलबार ०९:५१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अनुशासन र आत्मविश्वासले कोरोना जितिन्छ

संक्रमणकाल

Read Time : > 2 मिनेट
राज विक
२०७७ श्रावण २७ मंगलबार ०९:५१:००

म भारतको मुम्बईबाट ११ वैशाखमा कैलालीको गौरीफन्टा नाका आइपुगेको थिएँ । नाकामा हजारौँ मानिस अड्किएर बसेका थिए । अधिकांशले मास्क एवं पन्जा लगाएका थियौँ तर, नेपाल छिर्न नपाएर भीड बढ्दै जाँदा सामाजिक दूरी भने थिएन ।

हामीलाई १२ गते नेपाल छिराइयो र क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनमा बसेको चार दिनपछि हाम्रो स्वाब संकलन गरिएको थियो । त्यसवेलासम्म मलाई कुनै लक्षण देखिएको थिएन, स्वास्थ्य सामान्य नै थियो । क्वारेन्टाइनका अरू सबैको पनि अवस्था सामान्य नै थियो । 

क्वारेन्टाइनमा एकै ठाउँ यति धेरै मान्छे राखिएका थिए कि त्यो क्वारेन्टाइन होइन, संक्रमण विस्तार गर्ने स्थान प्रबन्धनजस्तो बनेको थियो । सबैको शौचालय, धारा, भान्सा एउटै थियो । २२ वैशाखमा हाम्रो रिपोर्ट आयो । क्वारेन्टाइनमा बसेका हामीलाई रिपोर्ट आएपछि थप जाँचका लागि भनेर धनगढीस्थित सेती अञ्चल अस्पतालमा लगिएको थियो । अस्पतालमा लगेपछि मात्र मलाई कोरोना संक्रमण देखिएको जानकारी गराइयो । आफूलाई कोरोना लागेको थाहा पाएपछि म एकछिन विचारशून्यजस्तै बनेँ । अब मरिन्छ कि जस्तो लागेको थियो । तर, डाक्टरले यसरी सम्झाए कि अब मलाई केही हुँदैन, निको हुन्छ भन्ने विश्वास जागेको थियो । उनले आफ्नो घरजस्तै सम्झेर निश्चिन्त भएर अस्पतालमा बस्न सम्झाएका थिए । म रुँदा डाक्टरले तिमीलाई केही हुन दिँदैनौँ भनेर ढाडस दिए । 

अस्पतालको आइसोलेसनमा हामी पाँचजना थियौँ । पाँचजनामध्ये चारजना विदेशबाट आएका मानिस थिए । घरका मानिस पनि अत्तालिएका थिए । उनीहरू रुँदै फोन गर्थे । यता आइसोलेसनमा बसेका हामी पनि डराएकै थियौँ । लक्षण केही नदेखिए पनि कतिखेर के हुने हो भन्ने चिन्ताले सताइरहन्थ्यो । अब मेरो अनुभवले के भन्दै छ भने कसैलाई कोरोना लागिहालेमा घरपरिवारले उसलाई अत्याउने गरी रोइकराई होइन, ठीक हुन्छ केही हुँदैन भनेर हौसला दिनुपर्छ, ताकि भाइरससँग लड्ने आत्मबल बढोस् । आइसोलेसनमा बसेका हामीलाई हेर्न वेला–वेला डाक्टरहरू आउँथे । हाम्रो स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्थे । बिहान–बेलुका खाना र दिउँसो खाजा दिन मानिसहरू आउँथे । सुरुमा डराएका हामीलाई बिस्तारै अब केही हुँदैन, कोरोना निको हुन्छ जस्तो लाग्न थालेको थियो ।

कोरोनासँगको लडाइँमा मलाई हौसला दिएर बलियो बनाउने डाक्टरहरूलाई धन्यवाद ! तपाईंहरूको बलियो साथ र सहयोगकै कारण मैले कोरोनासँगको यो लडाइँ जितेको हुँ ।

हामीलाई भेट्न आउने डाक्टरहरू कोरोना लागेर निको भएर फर्किएकाहरूको बारेमा सुनाउँथे । यता गाउँमा मेरो परिवारलाई भने मलाई कोरोना लागेकै कारण अप्ठ्यारो पर्न थालेछ । मलाई कोरोना लागेको थाहा पाएपछि गाउँलेले मेरो परिवारका मान्छेलाई छिःछिः र दुरदुर गर्न थालेछन् । जबकि म भारतबाट आएर घर गएको नै थिइनँ । 

आइसोलेसनमा बसेका हामी पाँचमध्ये म नै सबैभन्दा कान्छो (२१वर्ष) थिएँ । त्यहाँ रहेका अरू ठूला मान्छेले मेरो हौसला बढाउँथे । केही हुँदैन, कोरोना निको हुन्छ भनेर हौस्याउँथे । डाक्टर र अरू साथीहरूले कोरोना लाग्दैमा केही हुँदैन भन्दै सम्झाइरहँदा मेरो मनमा डर कम हुँदै गएको थियो । मेरो छातीको एक्सरे पनि गरियो । एक्सरेमा केही समस्या छैन भनेपछि मन ढुक्क बनेको थियो । 

आत्मविश्वास बलियो बनायो भने कोरोनासँग जितिने रहेछ जस्तो लाग्न थालेको थियो । कोरोना लाग्दैमा जीवन सकिने होइन रहेछ भन्ने बुझ्दै जान थालेको थिएँ । १६ दिनको अस्पताल बसाइपछि हाम्रो स्वाब संकलन भयो । कोरोना नेगेटिभ देखियो । 

डाक्टरको सुझाबअनुसार अस्पतालबाट फर्केपछि पनि म एक हप्ता घरमा आइसोलेसनमै बसेँ, कसैलाई भेटिनँ । परिवारका सदस्यसँग सामाजिक दूरी कायम गरेँ । अहिले पनि म मानिसहरूसँग दूरी कायम गरिरहेकै छु । गाउँघरमा कोरोना लागेर अस्पताल भर्ना भएका मान्छेका परिवारका सदस्यलाई भेटेर हौसला बढाउने प्रयास गर्छु । मन बलियो बनाउनुपर्छ, कोरोनासँगको लडाइँ जितिन्छ भनेर सम्झाउँछु । आफ्नो मन, मुटु बलियो बनाउनुहोस्, डाक्टरमाथि विश्वास गर्नुहोस्, कोरोना निको हुन्छ, तपाईं कमजोर हुनुभयो भने कोरोनाले तपाईंलाई जित्न सक्छ । त्यसैले आफूलाई कमजोर नबनाउनुहोस् । कोरोनासँगको लडाइँमा मलाई हौसला दिएर बलियो बनाउने डाक्टरहरूलाई धन्यवाद ! तपाईंहरूको बलियो साथ र सहयोगकै कारण मैले कोरोनासँगको यो लडाइँ जितेको हुँ । 

(राज विक कोरोना संक्रमण भएर निको भएका व्यक्ति हुन्)