१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
थिया रिओफ्रान्कोस
२०७७ श्रावण २७ मंगलबार ०९:२०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वामपन्थी आन्दोलनको अनुकूल समय 

Read Time : > 3 मिनेट
थिया रिओफ्रान्कोस
२०७७ श्रावण २७ मंगलबार ०९:२०:००

मैले जीवनकालभर अहिलेजस्तो परिवर्तनका लागि उपयुक्त परिस्थिति कहिल्यै महसुस गरिनँ । जता हेरे पनि क्रान्तिकारी सम्भावना देखिन्छ । जर्ज फ्लोयडको हत्यापछि अमेरिकामा महामारीमाझ मानिस लकडाउनको समेत परवाह नगरी अश्वेत अधिकारका पक्षमा सडकमा उत्रिए । अमेरिकी इतिहासको सबैभन्दा ठूलो विरोध प्रदर्शनले आर्थिक विकरालता एवं प्रहरी ज्यादतीका विषयलाई बहसको मूलधारमा ल्याइदिएको छ । युरोपमा अमेरिकी आन्दोलनको ऐक्यबद्धतामा मानिस सडकमा निस्किए । समृद्ध उदार लोकतान्त्रिक मुलुकमा देखिएको यो ऊर्जालाई असाधारण मान्नुपर्छ । यो ऊर्जा मुख्यतः आर्थिक संकट, दक्षिणपन्थी उभार, पर्यावरणीय अराजकता देखेका युवाले महसुस गरिरहेका छन् ।

संकट र असन्तुष्टि क्रान्तिकारी परिवर्तनका लागि अत्यावश्यक दुई तत्व हुन् । तर, यो आफैँमा पर्याप्त भने छैन । अमेरिका र अधिकांश युरोपमा अहिले वामपन्थी–समाजवादी, श्रम संगठन एवं अभियन्ताहरू सत्ताबाट बाहिर छन् (स्पेन र पोर्चुगल मात्र अपवाद हुन्) । यस्तोमा वामपन्थीसामु प्रश्न उठ्छ : शक्तिमा नहुँदा पनि कसरी प्रभाव पार्ने ? र, अहिलेको महामारीपछिको विश्वलाई आकार दिने कुरामा कसरी हस्तक्षेप गर्ने ? वामपन्थीहरूबीच चुनावमा भाग लिने/नलिने विषय सधैँ नै बहसको विषय हुने गर्छ । केही चुनावमा भाग लिनुलाई सम्झौतापरस्त बताउँछन् । तर, क्रान्तिकारी सुधारमा जनसमर्थन जुटाउनका लागि चुनावी कार्यक्रममा सहभागी हुँदा महत्वपूर्ण सहयोग पुग्छ । पेरिस र बार्सिलोना नगर यसका उदाहरण हुन् । सन् २०१० सम्म त्यहाँ मध्यपन्थी वा दक्षिणपन्थी सरकारले मात्र सरकार बनाएका थिए । तर, सन् २०१४ मा पेरिसमा वामपन्थी विचारधाराकी एन हिडाल्गो मेयर बनिन् र अर्को वर्ष बार्सिलोनामा एडा कोलोले निर्वाचन जितिन् । तिनले सहरमा सार्वजनिक आवास विस्तार गरे, भित्री सहरका सडकमा कार प्रतिबन्धित गरे । सहरमा हरियाली क्षेत्रको विस्तार भयो । अहिले विश्वभरका सहरी अभियन्ता पेरिस र बार्सिलोनालाई आदर्श मानेर पछ्याइरहेका छन् । 

निर्वाचनले नीतिगत परिवर्तन ल्याउने अवसर प्रदान गर्छ । अमेरिकामा एलेक्ज्यान्ड्रिया ओकासियो–कोर्टेज, रसिदा तलैब, इल्हान ओमरहरूले तल्लो सदनमा जित हासिल गरेपछि ग्रिन न्यु डिल, भाडा रद्द गर्ने तथा प्यालेस्टाइन अधिकारको माग सीमान्तकृत मुद्दाबाट मूलधारमा आएको छ । तर, सत्तामा बसेर नीति कार्यान्वयन गर्ने परिस्थितिमा हुँदा वामपन्थीले कसरी काम गर्न सक्छन् ? यसलाई केही उदाहरणमार्फत हेरौँ । अघिल्लो वर्ष फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले अवकाश पाउने उमेर ६२ बाट ६४ पुर्‍याउने योजना ल्याए । योजनाको विरोधमा सडकमा ठूलो प्रदर्शन भयो । ठूला प्रदर्शन तथा आमहडतालले अन्ततः सरकार हच्कियो र प्रस्तावित सुधार कार्यक्रम फिर्ता भयो । यसरी वामपन्थीले सत्तामा नहुँदा पनि सडकमार्फत राजनीतिलाई आकार दिन सक्छन् । प्रतिरोधले नीतिगत विषयमा हस्तक्षेप गरेको अर्को उदाहरण जलवायु परिवर्तनविरुद्ध विद्यार्थीको हडताल पनि हो । यी हडतालपछि विश्वभर वातावरणसम्बन्धी कार्यका लागि सरकारमाथि दबाब बढेको छ । अन्यत्र विद्रोह वा चुनावी प्रतिरोधबाट पनि राजनीतिक परिदृश्यले नयाँ आकार पाएको छ । 

समस्त विश्व खतरनाक महाव्याधिसँग जुधिरहेका कारण अर्थतन्त्र खुम्चिरहेको छ । धेरै मानिसले रोजगारी गुमाएका छन्, तर यही समय अर्बपतिहरूको सम्पत्ति भने दिन दुई गुणा रात चौगुणाले बढिरहेको छ । यो हदसम्मको असमानता र अन्यायविरुद्ध वामपन्थीले सशक्त आवाज उठाउनुपर्छ । 

चुनावी अभियानले वामपन्थी मागलाई कसरी मूलधारमा ल्याउँछ भन्ने एउटा उदाहरण बर्नी स्यान्डर्सको चुनावी अभियान हो । स्यान्डर्सले डेमोक्रेटिक पार्टीभित्र मनोनयनका लागि चलाएको अभियानले देशव्यापी स्वास्थ्य सेवा, न्यु ग्रिन डिल, राष्ट्रिय भाडा नियन्त्रण र आप्रवासी निकाय खारेज गर्नेजस्ता सीमान्तकृत मुद्दा मूलधारमा आएका छन् । ब्रिटेनमा लेबर पार्टीले निर्वाचन त हार्‍यो, तर पनि जेरेमी कोरबिनले चुनावी बहसलाई आकार दिन सफल भएका थिए । अघिल्लो ब्रिटिस चुनावमा विगतमा खासै महत्व नपाउने बजेट कटौती र सार्वजनिक लगानीजस्ता विषयमा धेरै बहस भयो । वामपन्थीहरू संस्थान तोड्नमा सबैभन्दा प्रभावकारी देखिन्छन् । तिनले मूलधारका पार्टीभित्र–बाहिर रहेर बहसका सीमा विस्तार गर्न, मानिसको मानसिकता बदल्न र त्यससँगै नीति परिवर्तन गराउन सक्छन् । सैद्धान्तिक विरोध अत्यावश्यक हुन्छ । तर, यो मात्रै पर्याप्त हुँदैन । मुद्दा लागू गराउने स्तरमा पुग्ने हो भने प्रदर्शन तथा प्रतिरोधी अभियानलाई समाजको तल्लो तहसम्म संगठित गर्ने प्रयासमा लाग्नुपर्छ । यसले मात्र मानिसहरू प्रतिरोधमा जोडिनेछन् । चुनावी राजनीतिमा पनि यो पाठ लागू हुन्छ । 

बेलायतको लेबर पार्टीले दुई वर्ष समुदायस्तरमा सम्बन्ध निर्माण गर्न र स्थानीय तहमा नेतृत्व विकासमा खर्चियो । हुन त अघिल्लो निर्वाचनमा लेबर पार्टी हार्‍यो, तर यो सञ्जाल आगामी निर्वाचनमा उपयोगी साबित हुनेछ । अहिले पनि स्थानीय तहका स्वास्थ्य तथा आप्रवासनसम्बन्धी विषयमा यी सञ्जालले हस्तक्षेपकारी भूमिका निभाइरहेका छन् । न्युयोर्क सहरमा रहेको डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाको इकाइ अर्को उदाहरण हो । यसले सुरुमा चुनावी राजनीतिमा हात हाल्दा असफलता मात्र हात पार्‍यो । तर, यस क्रममा यसले सयौँ अभियन्तालाई तालिम दियो । वर्षौंपछि अहिले यसले समर्थन गरेको उम्मेदवारले अमेरिकी कंग्रेस तथा राज्य तहमा जित हासिल गर्न थालेका छन् । न्युयोर्क मात्र होइन, पछिल्लो समय अमेरिकाका पेन्सिलभेनिया, टेक्सास, मिचिगन, टेनिसी तथा मिजोरीजस्ता राज्यका डेमोक्रेटिक प्राइमरीमा वामपन्थीले जित हासिल गरेका छन् ।

एक–अर्काबाट फरक भए पनि सडक अभियान तथा चुनावी अभियान दुवैले संगठन पूर्वाधारमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छन् । यी पूर्वाधारविना कुनै पनि मुद्दामा जित हासिल हुँदैन । मेरो दुई दशकको राजनीतिक सहभागितामा वामपन्थीले राजनीतिक बहसलाई आकार दिन सक्ने सम्भावना अहिलेजस्तो कहिल्यै महसुस गरिनँ । तर, बिगतको भन्दा राम्रो गर्नु मात्र पर्याप्त हुँदैन । हामी खतरनाक महाव्याधिसँग जुधिरहेका छौँ । यसको प्रभावले भावी विश्वलाई नै आकार दिनेछ । आन्द्र महासागरका दुवै किनारमा अर्थतन्त्र खुम्चिरहेको छ, बेरोजगार बढिरहेको छ । मानिसले दुःख पाइरहेका छन् । तर, अर्कोतर्फ अर्बपतिको सम्पत्ति भने दिन दुई गुणा रात चौगुणाले बढिरहेको छ । महाव्याधिमा अमेरिकाको गहिरो नश्लीय तथा वर्गीय समानता उजागर भयो । यही विभाजनले अमेरिकाको अवस्था एकदमै दयनीय बनेको छ । भावी दिनमा राजनीतिकलगायत जलवायु संकट पनि गहिरिनेछ । जलवायुमा हुने परिवर्तनले पृथ्वीको समग्र जीवनलाई असर गर्नेछ, जुन ठूलो चुनौती साबित हुनेछ । तर, अहिलेको समय समतामूलक तथा न्यायपूर्ण विश्व निर्माण गर्ने ऐतिहासिक अवसर पनि हो । हामीले यो अवसरलाई खेर जान दिनु हुँदैन । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

थिया रिओफ्रान्कोस प्रोभिडेन्स कलेजकी राजनीतिशास्त्रकी सह–प्राध्यापक हुन् ।