मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २६ सोमबार २१:५०:००
Read Time : > 1 मिनेट
समाचार

मुख्यमन्त्रीको अभिव्यक्तिले नेकपा मकवानपुरमा तरंग

Read Time : > 1 मिनेट
२०७७ श्रावण २६ सोमबार २१:५०:००

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार आयोजित एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले नेकपा मकवानपुरमा तरंग पैदा भएको छ । नेकपा मकवानपुरका नेतासमेत रहेका पौडेलले आइतबार जिल्ला समन्वय समितिको पाँचौँ जिल्ला सभामा आफूलाई मुख्यमन्त्रीबाट हटाउन हस्ताक्षर संकलन भइरहेको अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिले एकाएक तरंग पैदा भएको हो । 

मुख्यमन्त्रीको अभिव्यक्ति गलत भएको भन्दै सोमबार जिल्ला अध्यक्ष एवं प्रदेश सांसद मुनु सिग्देल, जिल्ला सचिव तथा सांसद प्रेमबहादुर पुलामी ‘छिन्तु’, सहइन्चार्ज तथा सांसद कुमारी मोक्तान, अर्का सांसद ओम घलानले संयुक्त विज्ञप्ति जारी गरेपछि जिल्लाको राजनीति थप तरंगित बनेको छ ।

नेकपा केन्द्रीय तहका नेतृत्वमा देखिएको गुट लडाइँको प्रभाव जिल्लास्तरमा प्रस्ट झल्किन थालेको नेताहरूले टिप्पणीसमेत गर्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेल, माधव नेपाल समूहका प्रतिनिधिसभा सांसद विरोध खतिवडा, जिल्ला अध्यक्ष सिग्देल र प्रचण्ड पक्षका छिन्तु र कुमारीबीच जिल्लामा पनि गुटगत चर्काचर्की प्रस्ट झल्किएको छ ।

मुख्यमन्त्रीले आफ्नै जिल्लाका नेताहरूलाई आरोप लगाएलगत्तै उनको अभिव्यक्ति झुटने र भ्रामक भएको भन्दै आलोचना गरेपछि कार्यकर्तामा समेत निराशा छाएको छ ।

मुख्यमन्त्रीको अभिव्यक्ति आधारहीन : सांसदहरू
नेकपा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चार सांसदले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीले आधारहीन अभिव्यक्ति दिएको जनाएका छन् ।
‘कुनै प्रसंगविना मुख्यमन्त्रीले दिनुभएको अभिव्यक्तिले नेतृत्व, नेता, कार्यकर्ता र आमजनमानसमा भ्रम सिर्जना हुन पुगेको छ । मुख्यमन्त्रीको अभिव्यक्तिप्रति हामी खेद व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ । सरकारले विनियोजन गरेको बजेट खर्च गर्न नसकेको, बजेट नै पास नहुने अवस्था आएकोलगायत आफ्ना कमजोरी ढाकछोप गर्न मुख्यमन्त्रीले झुटो प्रचार गरेको सांसदहरूले विज्ञप्तिमार्फत दाबी गरेका छन् । 

यस्तो छ, मुख्यमन्त्रीको अभिव्यक्ति
मविरुद्ध मकवानपुरकै सांसदहरू लागिपरेका छन् । मलाई पदबाट हटाउन अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको छ । हस्ताक्षर संकलन नै भइरहेको छ । मविरुद्ध मकवानपुरबाटै क्याम्पेनिङ सुरु गरिएको छ । मलाई पदको लोभ छैन । निकालिए भने पनि कुनै चिन्ता छैन । म आग्रह गर्न चाहन्छु, राम्रा कामका लागि प्रतिस्पर्धा गरौँ, हिलो छयाप्ने काम नगरौँ ।

उहाँहरूले गुट छुट्याउनुभयो, हामी एकबद्ध हुन चाहन्छौँ
मुख्यमन्त्रीको अभिव्यक्ति र त्यसपछि जारी विज्ञप्तिबारे प्रदेश सांसद तथा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी छिन्तुले आफूहरू एकबद्ध हुन चाहेको प्रतिक्रिया दिए ।

मुख्यमन्त्री आफैँले गुटगत राजनीति गरेको आरोप लगाउँदै उनले पटकपटक आफूहरू रिङबाहिर बस्न बाध्य भएको बताए । ‘मुख्यमन्त्री आफैँले गुटगत राजनीतिलाई प्रश्रय दिँदै पाँच घन्टासम्म बैठक बसेको थाहा छ,’ उनले भने, ‘हामीले भोगेको पीडा अब बिस्तारै बाहिरिनेछ ।’ मुख्यमन्त्रीले हचुवाको भरमा अभिव्यक्ति दिएर नेता, कार्यकर्ता र आममानिसमा भ्रम छर्ने कामबाहेक अरू केही नभएको उनको दाबी छ ।