मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण २६ सोमबार १९:०४:००
Read Time : < 1 मिनेट
प्रदेश

हेटौँडामा मंगलबारदेखि निषेधाज्ञा

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार १९:०४:००

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ पाँच–पाँच सय मिटर क्षेत्रमा २७ साउन (मंगलबार)देखि निषेधाज्ञा जारी गरिएको छ ।

हेटौँडा उपमहानगर र आसपास क्षेत्रमा कोरोना संक्रमित बढेपछि जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले २६ साउन राति १२ बजेदेखि ३२ साउन राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ ।

आदेशविपरीत कुनै पनि कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । उनका अनुसार निषेधाज्ञाको समयावधिमा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर, शववाहन, फोहोर व्यवस्थापन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षा निकायका सवारीसाधन सञ्चालनमा रोक नलगाउने निर्णय गरिएको छ ।

अतिआवश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसल, स्वास्थ्य संस्था २४सै घन्टा र यीबाहेक उद्योग, व्यवसाय बिहान ५ देखि ९ बजेसम्म खुला गर्न पाइने प्रजिअ नेपालले जानकारी दिए । धार्मिक, सांस्कृतिक, सामाजिक कार्य र जमघट हुने किसिमका कुनै पनि कार्यक्रम गर्न रोक लगाउने समितिले निर्णय गरेको छ । मकवानपुरमा हालसम्म ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २९ जना निको भइसकेका छन् ।