सबै अस्पतालले २० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउनू : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई २० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउन सूचित गरेको छ ।
मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड बिरामीको लागि बेड छुट्याएर सम्बन्धित हब अस्पतालमार्फत सूचना दिन आग्रह गरे ।
‘सबै निजी, सामुदायिक, सरकारी, गैरसरकारी अस्पतालहरूले आफ्नो अस्पतालमा २० प्रतिशत बेड कोभिड बिरामीलाई छुट्याई सम्बन्धित हब अस्पतालमार्फत सूचना गर्नुहोला,’ उनले भने ।
केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि बेड अभाव हुने अवस्था देखिएको छ ।
यही वेला मन्त्रालयले सबै अस्पताललाई २० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउन अनुरोध गरेको हो ।
साथै मन्त्रालयले वीरगन्ज, ललितपुर र बैतडीमा खटिएका स्वास्थ्यकर्मीमाथि उच्छृंखल व्यक्तिहरूबाट भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै आपराधिक क्रियाकलाप गर्नेमाथि कडा कारबाही हुने जनाएको छ ।
स्वास्थ्यकर्मीले प्रवाह गरेको सेवामा कुनै गुनासो भए मन्त्रालयको हटलाइनमा फोन गर्न उनले अनुरोध गरे ।